Comments Add Comment

अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने, जुलाई २० मा उडान

विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अन्तरिक्षयात्रामा जाने भएका छन् ।

आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको रकेट यान न्यू शेर्फडको पहिलो मानवयुक्त उडानमा बेजोस अन्तरिक्षमा जाने भएका हुन् ।

बेजोसको अन्तरिक्ष उडान आगामी जुलाई २० तारेखका लागि तय भएको छ । जुलाई ५ मा अमेजनको सीईओ पदबाट राजीनामा दिने घोषणा गरिसकेका बेजोसले अमेजन प्रमुखको जिम्मेवारीबाट मुक्त भएसँगै अन्तरिक्षको यात्रामा जाने सोँच बनाएका हुन् ।
ब्लु ओरिजन कम्पनीका अनुसार उक्त उडानमा बेजोससँगै उनका कान्छा भाइ मार्क बेजोस पनि सँगै हुनेछन् ।

सोमबार बिहान इन्स्टाग्राममा पोस्ट गर्दै ५७ वर्षीय बेजोसले भनेका छन् : म पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्थेँ । जुलाई २० मा म मेरो भाइसँगै उक्त यात्रामा निस्कनेछु । सबैभन्दा ठूलो एडभेन्चर, मेरो सबैभन्दा असल साथीसँग ।
यदि बेजोसको योजना सफल भएमा उनी आफ्नै कम्पनीले तयार पारेको रकेटमार्फत् अन्तरिक्षमा पुग्ने पहिलो अर्वपति हुनेछन् । उनको कम्पनीले रकेटयान निर्माणका लागि करोडौँ डलर खर्च गरिसकेको छ ।

स्मरण रहोस् अन्तरिक्ष कम्पनी भर्जिन ग्यालाक्टिकका मालिक बेलायती अर्बपति रिचार्ड ब्रान्सनले समेत निकट भविष्यमा अन्तरिक्ष उडानको योजना बनाएका छन् । उनको कम्पनी ब्लु ओरिजिनसँग प्रत्यक्ष प्रतिस्पर्धामा रहेको छ ।

भर्जिन ग्यालाक्टिकको पहिलो रकेटयुक्त जहाजको उडानबाट आफु अन्तरिक्षयात्रामा जाने ब्रान्सनले घोषणा गरिसकेका छन् ।

उनको अन्तरिक्ष उडान यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा हुनसक्ने अनुमान गरिएको छ ।

उता अन्तरिक्ष उडानका लागि व्यवसायिक रकेटहरु निर्माण गरी प्रक्षेपणसमेत गरिसकेको स्पेस एक्स कम्पनीका मालिक अर्बपति एलन मस्कले चाहिँ अहिलेसम्म अन्तरिक्ष यात्रा गर्ने सोँच सार्वजनिक गरेका छैनन् ।

जेफ बेजोसको अन्तरिक्ष यात्रामा ५९ फुटको रकेटसँगै ६ सिट भएको क्याप्सुल प्रयोग हुनेछ । ११ मिनेटको उडानमा रकेट पृथ्वीभन्दा ६० माइल माथि पुग्नेछ।

पछिल्लो ६ वर्षसम्म न्यु शेर्फड नामक रकेट तथा क्याप्सुलको गहन तथा गोप्य परीक्षण पश्चात् गत मे महिनामा ब्लु ओरिजिन कम्पनीले उक्त यानबाट पहिलोपटक अन्तरिक्षयात्रीलाई पठाउने घोषणा गरेको थियो ।

उक्त ६ सिटे क्याप्सुलमा यात्राका लागि कतिवटा टिकट बिक्री गर्ने भन्ने विषयमा कम्पनीले कुनै जानकारी गराएको छैन । तर एउटा सिट चाहिँ हाल अगाडि बढाइएको लिलामीको बिजेतालाई प्रदान गरिनेछ । हालसम्मको लिलाम बढाबढमा उक्त एक सिटको शुल्क २८ लाख डलर पुगिसकेको छ ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment