Comments Add Comment

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : कहिले होला परीक्षण उडान ?

२६ जेठ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । यद्यपि कोरोना भाइरसको महामारीका कारण परीक्षण उडान पर धकेलिएको नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल आयोजनाका अधिकारीहरुले जनाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत विमानस्थल आयोजना (आइसीबी टु) प्रमुख प्रविण न्यौपानेका अनुसार विमानस्थलमा उपकरण जडानको काम सकिएको छ । महामारीका कारण क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) भने गर्न सकिएको छैन । यो उडान नभएसम्म विमानस्थलमा जडित उपकरणले काम गरे–नगरेको थाहा हुँदैन ।

सेप्टेम्बर–अक्टोबरसम्म परीक्षण उडान गर्ने प्रयास भइरहेको न्यौपानेले जानकारी दिए । ‘हाम्रो जोड दशैं अगाडि परीक्षण उडान गर्ने हुने छ,’ उनले अनलाइनखबरसँग भने, ‘यो काम विमानस्थल निर्माणको अन्तिम चरणको हो ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । आइसीबी टु तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो ।

कोरोना महामारीको पहिलो लहरमा रोकिएका कामदार कोरोना केही समय कम भएसँगै नेपाल आएका थिए । उनीहरुले धमाधम काम गरेर उपकरण जडानको काम सके पनि दोस्रो लहरको संक्रमण र यात्रा प्रतिबन्धका कारण परीक्षणको काम रोकिएको उनले जानकारी दिए । ‘क्यालिब्रेशन फ्लाइट एउटै ठेक्का भित्रको प्याकेज थियो,’ न्यौपानेले भने, ‘तर, महामारीका कारण रोकियो ।’

परीक्षण उडानपछि के हुन्छ ?

आयोजना प्रमुख न्यौपानेका अनुसार परीक्षण उडानबाट सञ्चार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरुले काम गरे–नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन् । परीक्षण उडान गर्न विशेष जहाज मगाउनु पर्ने हुन्छ । अहिले भारत, पाकिस्तान, थाइल्याण्डलगायत मुलुकमध्ये जुन देशबाट सहज हुन्छ, त्यहाँबाट जहाज ल्याएर उडान गर्ने तयारी प्राधिकरणको छ । कम्युनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि जहाज उडान/अवतरणको बाटो खुल्नेछ ।

त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ । यो कार्यका लागि परीक्षण उडानपछि पनि अर्को दुई/तीन महिना लाग्ने न्यौपानेले जानकारी दिए । रुट प्रकाशित भइसकेपछि भने व्यवसायिक उडानको बाटो खुल्नेछ । परीक्षण उडान सफल भएपछि मात्र ‘आयोजनाको काम सम्पन्न भयो’ भन्न सकिने उनले बताए ।

भौतिक संरचना निर्माणको प्रगति के छ ?

विमानस्थलको भौतिक संरचना निर्माणको काम भने अब फिनिसिङको चरणमा रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । उनका अनुसार सेन्ट्रल एसी, फल्स सिलिङ तथा फर्निसिङका कामहरु जारी छन् । संरचना निर्माणको काम करीब अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

फिनिसिङका केही काम भने चीनबाट थप प्राविधिक आएरै पूरा गर्नुपर्ने अवस्थामा रहेको उनले जानकारी दिए । ‘आइसीबी टू तर्फको काम सकियो भने अब आइसीबी वानका कारण उडानमा समस्या हुँदैन,’ उनले भने ।

आइसीत्री टु उपकरणतर्फको काम हो । आइसीबी वान भने भौतिक संरचनातर्फको काम हो । यसमा धावनमार्ग, ट्याक्सी–वेदेखि टर्मिनल भवन र यस भित्रका विविध संरचना पर्छन् । धावनमार्गमा जडान गर्ने बत्तिको काम समेत यसमा पर्छ ।

दोस्रो टर्मिनल भवन र अन्य पूर्वाधार बनाउन साढे ३ अर्ब बजेट

सरकारले चालु आर्थिक वर्ष भित्रै यो आयोजना सन्चालनमा ल्याउने लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको महामारीसँगै आयोजना समेत पछाडि धकेलिएको छ । सरकारले आगामी आवमा दोस्रो टर्मिनल भवनको निर्माणदेखि अन्य भौतिक संरचना निर्माणका लागि भन्दै थप ३ अर्ब ५३ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।

भैरहवा विमानस्थलको निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको थियो । विमानस्थलको प्रारम्भिक लक्ष्य अनुसार डिसेम्बर २०१७ मै सन्चालनमा आइसक्नु पर्ने थियो । तर, यो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको छ ।

विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडीबी)ले सहुलियतपूर्ण ऋण सहयोग गरिरहेको छ ।

कस्तो बन्यो विमानस्थल ?

भैरहवामा ३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग निर्माण भएको छ । सोहीकारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान–अवतरण हुने सबै क्षमताका विमानको उडान–अवतरण यहाँबाट पनि सम्भव हुनेछ ।

यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहनेछ । काठमाडौंमा प्राविधिक कारणले उडान अवतरण प्रभावित भयो भने जहाज अब भारत डाइभर्ट गर्नुपर्ने बाध्यता समेत हट्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

ट्रेन्डिङ

Advertisment