
जेठ २६, काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षक अशोक खड्काको पहलमा काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–६ का सुकुम्वासी परिवारलाई राहत प्रदान गरिएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण समस्यामा परेका ११ सुकुम्वासी परिवारलाई चामल प्रदान गरिएको हो । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० केजी बराबरको १–१ बोरा चामल वितरण गरिएको खड्काले बताए । उपलब्ध गराइएको चामल तेक्वान्दोका पूर्वप्रशिक्षक राजकुमार ढुंगानाले सहयोग गरेका हुन् ।
खड्काले सुकुम्वासी टोलमै पुगेर सम्बन्धित परिवारलाई राहत वितरण गरे । २०७२ सालको महाभूकम्पमा पनि खड्काकै अग्रसरतामा सोही टोलका पीडित सुकुम्वासीलाई टहरा निर्माण गरिदिनुका साथै पाल र राहत वितरण गरिएको थियो ।
निषेधाज्ञाको अवधिमा ३७ परिवारलाई राहत वितरण गरिएको तथा दुईजना मिर्गौला रोगीलाई आर्थिक सहयोग पनि प्रदान गरेको खड्काले बताए ।
प्रतिक्रिया 4