Comments Add Comment

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री र कांग्रेसको चर्चा

२८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि प्रदेशसभामा छलफल सुरु भएको छ । छलफलमा भाग लिएका सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिए भने विपक्षी सांसदले आलोचना गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा मुलुकको राजनीतिक घटनाक्रमबारे पनि धेरै छलफल भयो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य महेशदत्त जोशीले कठिन परस्थितिमा पनि विश्वासको मत प्राप्त गरेर सरकार जोगाउन सफल भएको भन्दै मुख्यमन्त्रीलाई बधाइ दिए ।

उनले ५ वर्षसम्म सरकारको नेतृत्व गर्न भट्टलाई सुझाव दिए । ‘सुरुमा तपाई मुख्यमन्त्री हुनेबेला ३९ मत पाउनुभएको थियो । अहिले ३० मत पाएपनि विपक्षमा मतदान गर्नेको संख्या घटाउन पनि सफल हुनुभएको छ,’ जोशीले भने, ‘यो तपाईंमा भएको कार्यकुशलताकै परिणाम हो । अहिले तपाईंलाई अपमानित शब्द प्रयोग गर्नेहरु पनि पछि हटेका छन् ।’

‘कांंग्रेस सरकारको नेतृत्व गर्न तयार छ’

विश्वासको मत पाएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसलाई समेत सरकारमा ल्याउने विषयमा छलफल गर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर नेकपा एमाले ओली समूहका प्रदेशसभा सदस्य लीलाधर भट्टले केही दिनअघि प्रदेशसभामै कांग्रेस पनि सरकारमा जान लागेको सुनेको भन्दै ‘अग्रिम बधाइ’ दिएका थिए ।

शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले सत्तामा जान रहर नभएपनि आवश्यकता परेमा सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको बताएका छन् ।

‘धेरै साथीहरुले कांग्रेस सरकारमा जाँदैछ भनेको कुरा सुनेँ,’ बोहराले भने, ‘म स्पष्ट पार्न चाहान्छु अहिले नै हामीलाई सत्तामा जान रहर छैन । प्रजातन्त्र, राष्ट्रियता र स्वाभिन बचाउनका निम्ति कांग्रेस सरकार चलाउन तयार छ ।’

नेकपा एमालेलाई लक्षित गर्दै उनले सकभर पार्टीभित्र झगडा गरेर आफूहरु नै कमजोर नबन्न सुझाव दिए ।

नीति कार्यक्रम महत्वाकांक्षी

प्रदेशसभा सदस्यहरुले सरकारले ल्याएको अगामी वर्षको नीति तथा कार्यक्रम महत्वाकांक्षी भएकाले कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । खासगरी नेकपा एमाले ओली पक्षीय प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममाथि कटाक्ष गरेका छन् । प्रदेशसभा सदस्य लीलाधर भट्टले सरकारले नीति तथा कार्यक्रममा राखेका महत्वकांक्षी कार्यक्रमले बजेटमा निरन्तरता पाउनेमा आशावादी रहेको बताए ।

‘निजामती कर्मचारीको उपचारका लागि निजामती अस्पताल सञ्चालन, सेती प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने, पहाडी जिल्लामा १ निर्वाचन क्षेत्रमा २५ शय्याको अस्पताल बनाउने धेरै राम्रो कार्यक्रम सरकारले ल्याएको छ,’ भट्टले भने, ‘यति राम्रा कार्यक्रमले पक्कै पनि बजेटमा स्थान पाउनेछन् । शब्दावली कपी पेष्ट गरे जस्तो हुनेछैन ।’

ओली पक्षकै अर्का प्रदेशसभा सदस्य रतन थापाले सरकार सञ्चालन भएको पहिलो वर्षमै ३२ बुँदे सुझाव दिएपनि अहिलेसम्म कतै समावेश हुन नसकेको गुनासो गरे । उनले सरकारले लोक सेवा आयोग र योजना आयोगलाई तलब भत्ता खुवाउने अखडा मात्र बनाएको आरोप लगाउँदै कानूनले निर्देशित गरेका काम कारवाही थाल्नुपर्ने सुझाव दिए ।

माओवादी केन्द्रकी प्रदेशसभा सदस्य कुन्ती जोशीले डडेल्धुरा लगायतका पहाडी जिल्लाको स्वास्थ्य सेवाको विकास तथा विस्तारमा नीति तथा कार्यक्रम केन्द्रित गर्नुपर्ने सुझाव दिइन् ।

उनले बेरोजगारी समस्या समाधान गर्ने तथा कृषि उत्पादन बढाउनतर्फ सरकारले जोड दिनुपर्ने बताइन् ।

एमालेको माधव समूहका प्रदेशसभा सदस्य बलबहादुर सोडारीले सरकारले राम्रो नीति तथा कार्यक्रम ल्याएको बताए । उनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

शुक्रबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल शनिबार पनि जारी रहनेछ । शनिबार दिउँसो ३ बजे बस्ने बैठकमा पनि छलफललाई निरन्तरता दिइने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment