Comments Add Comment

माधव पक्षका सांसदलाई प्रमुख सचेतकको चिठी : नीति तथा कार्यक्रमको पक्षमा बोल्नू

२९ जेठ, विराटनगर । प्रदेश १ को नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्ना सांसदलाई नीति तथा कार्यक्रमको पक्षमा बोल्न चिठी पठाएको छ । माधवकुमार नेपाल पक्षका सांसदलाई बैठकमा सहभागी भएर नीति कार्यक्रमको पक्षमा बोल्न एमाले प्रदेश १ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले चिठी पठाएका हुन् ।

२४ जेठबाट सुरु प्रदेशसभा बैठकमा नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदले बोलेका थिएनन् । २७ गते प्रमुख सचेतकले चिठी पठाएपछि शनिबार मात्रै माधव पक्षका सांसदले बोलेका थिए । शनिबार नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा माधवकुमार नेपाल पक्षका सांसद उपेन्द्रप्रसाद घिमिरेले चिठी आएको भन्दै असन्तुष्टि जनाए ।

‘यो छलफलमा भाग नलिउँ भनेको थिएँ । तर माननीय बुद्धिकुमार राजभण्डारीको चिठीले यहाँ उभिन बाध्य भएँ,’ घिमिरेले भने, ‘सरकारलाई विश्वास छैन, मलाई मात्रै चिठी लेखेको हो या अन्य माननीय ज्यूहरुलाई पनि चिठी लेखेको छ ?’

नीति तथा कार्यक्रमका बारेमा बोल्न मन नभए पनि चिठी आएपछि बोल्न बाध्य भएको उनले बताए । ‘सरकार किन यति साह्रो डराएको ? हामी त सत्ता पक्षको सांसद हो,’ उनले भने, ‘माननीय मुख्यमन्त्री शेरधन राईज्यूको हवाला दिएर चिठी लेखिएको छ, बोल्नकै लागि चिठी लेखिनु यो गरिमामय सदनमा उपयुक्त छैन, यो आत्मालोचना गर्नुपर्ने विषय हो ।’

प्रदेश सरकारले तेस्रो पटक नीति तथा कार्यक्रम ल्याएको हो । यस अघिको नीति तथा कार्यक्रममा बोल्नका लागि पत्र आएको थिएन । ‘दलको निर्णयका बेला पार्टीले ह्वीप लगाउने हो, निर्देशन गर्ने हो, बोल्ने विषयमा होइन,’ बैठकपछि घिमिरेले भने, ‘म्यासेन्जरमा चिठी आयो, समर्थनमा बोल्नका लागि पत्र पठाउनु उपयुक्त होइन ।’

नीति तथा कार्यक्रमले जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नसकेको उनले बताए । ‘हामीले जहिल्यै पनि मध्यम वर्गका लागि हित हुने, दलाल पूँजीपति वर्गलाई हित हुने बजेट बनाएका छौं,’ उनले भने, ‘गरिब, सुकुम्बासी, मजदुर र भूमिहीन किसानहरुमा न बजेट पुग्छ न त नीति कार्यक्रमले छुन्छ ।’

उनले नीतिलाई आलोचनात्मक समर्थन गर्ने बताउँदै नीति तथा कार्यक्रम गलत भएको  टिप्पणी गरे ।

प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले पनि प्रमुख सचेतकबाट नीति तथा कार्यक्रमको पक्षमा बोल्नका लागि चिठी आएको बताए ।

शनिबार बोलेका माधव नेपाल पक्षका सांसदहरुले नीति तथा कार्यक्रमले जनताको समस्यालाई सम्बोधन गर्न नसकेको बताएका थिए । माधव पक्षका सांसद अधिकारीले नीति तथा कार्यक्रम र बजेटले निम्न वर्गलाई छुन नसकेको बताए । माधव पक्षकै सांसद राजेन्द्र राईले नीति तथा कार्यक्रममा परिणाम नआउने खालका आश्वासन बाँडिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment