+
+
Shares

सुकुमबासी थिए, बाढीले पनि उठिबास लगायो !

बाटो खन्दा पुरेको खोल्सामा आएको बाढीले ८ घर विस्थापित

विकास रोकामगर विकास रोकामगर
२०७८ जेठ ३१ गते ७:२८

३१ जेठ, पोखरा । बस्ती नजिकै ससाना खोल्साखोल्सी थिए । ती खोल्साखोल्सीमा अघिल्ला वर्षातमा ससानो भेल बग्थ्यो । तर, खोल्सा तलतिरको ८ घरलाई उतिसारो असर पुर्‍याएको थिएन । जतिसुकै ठूलो पानी पर्दा पनि उनीहरुलाई भय थिएन ।

बागलुङको ग्रामीण भेग बडिगाड गाउँपालिका ७ को उक्त बस्तीमा ८ घर छन् । जसमध्ये मनबहादुर दमाई, खिमबहादुर दमाई, नरबहादुर दमाई र नवीन दमाई ४ घर सुकुमबासीका हुन् । उनीहरुलाई स्थानीय चन्द्र गुरुङलगायतले आश्रय दिएर राखेका थिए । गाउँ वरपर ज्यालामजदुरी गरेर उनीहरुको दैनिकी गुजारा भइरहेको थियो ।

यही आर्थिक वर्षमा बस्तीमाथि बाटो आइपुग्यो । बगिरहेको खोल्सा पुरियो । त्यहाँ बाटो खन्दा उभि्रएको काँचो माटो थुपि्रयो । वैशाख २६ गते राति परेको ठूलो झरीले खोल्सामा पानी भरियो । खोल्सामा भरिएको त्यही पानीले अहिले बस्तीका ८ घरलाई विस्थापित गरेको छ ।

बडीगार्ड ७ का वडाध्यक्ष कृष्ण गुरुङका गुरुङका अनुसार अहिले ती घरमा बस्नै नसक्ने गरी क्षति पुगेको छ । र, सबैभन्दा बढी मर्कामा ४ दलित सुकुमबासी परिवार परेका छन् । ‘खोल्सामा जम्मा भएको पानीले बाढीको रुप लियो । सबै घरमा यो बर्खामासभरि बस्नै नसक्ने गरी क्षति पुर्‍यायो,’ वडाध्यक्ष गुरुङ भन्छन् ।

सानो खोल्साको पानीले नै बाढीको रुप लिएपछि अहिले बस्तीबाट ती पीडित परिवारलाई अन्तै सारिएको वडाध्यक्ष गुरुङ सुनाउँछन् । वडाको माथिल्लो भेग र फोन सम्पर्क पनि हुन नसक्ने ठाउँमा भएकाले झनै समस्या परिरहेको उनको भनाइ छ । गाउँमा नेटवर्क नटिपेकै कारण पीडितसँग भने सम्पर्क हुन सकेन ।

‘त्यहाँ फोन टिप्दैन । अहिले पनि निरन्तर पानी परिरहेको छ । घर हुनेहरु आफन्तकोमा बास बसेका छन् । तर, ४ परिवार भने गाउँकै अरुकै गोठतिर बस्नु परिरहेको छ,’ वडाध्यक्ष गुरुङले भने, ‘बाढीमात्रै नभएर पहिरो नै आउने सम्भावना त्यहाँ भएकाले तत्काल पुनस्र्थापना गर्न सकिएको छैन ।’

बस्ती नै विस्थापित गर्ने गरी आएको बाढीको कारण भने नवनिर्मित बाटो नै हो । बस्तीमाथि बाटो नलैजान र भएका खोल्सा नपुर्न उपभोक्ता समितिलाई आग्रह गर्दा पनि अटेर गर्दा पनि नमानेका कारण यो स्थिति आएको गुरुङको आरोप छ । ‘गाउँलेलाई पनि बाटो नै चाहिने, विकास निर्माणको काम रोक्न पनि सकिएन, अहिले यो स्थिति आयो,’ उनले भने ।

विस्थापित परिवारका लागि वडाले अहिलेसम्म ठोस निर्णय लिन सकेको छैन । वडाध्यक्ष गुरुङ आइतबारमात्रै सरोकारवाला निकायसँग छलफल भएको जानकारी दिए । ‘पानी परेको पर्‍यै छ । हिजो (आइतबार)मात्रै गाउँपालिकामा छलफल गरेर केही राहतको व्यवस्था गर्ने सल्लाह भएको छ । जिल्ला रेडक्रसबाट पनि राहत आउँदैछ,’ उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बागलुङलाई गत वर्ष नै विपद् जोखिम क्षेत्र घोषणा गरेको थियो । गत वर्ष बागलुङ जिल्लाभरकामात्रै ३९ जनाले ज्यान गुमाएका थिए भने १७ जना अझै बेपत्ता छन् । बाढी, पहिरोमा परी बागलुङका १ हजार ४१४ जना विस्थापित हुनु परेको थियो ।

केन्द्र सरकारले अनुदान वितरणमा ढिलाइ गर्दा पीडित परिवारको अझै पुनस्र्थापना हुन सकेको छैन । प्राधिकरणले यस वर्षको मनसुनमा हुने विपद्का कारण बागलुङका १ हजार ५६२ जना प्रभावित हुने आँकलन गरेको छ ।

यो पनि पढ्नुहोस्

बाढी-पहिरोबाट १८ लाख बासिन्दा उच्च जोखिममा, पूर्वतयारी फितलो

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?