Comments Add Comment

कोरोना खोप : भारतमा वैज्ञानिकको सहमतिविनै दोस्रो डोज लगाउने समयसीमा बढाइएको दाबी

४ असार, काठमाडौं । भारत सरकारले एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप लगाउने समयसीमा वैज्ञानिकको समूहसँग सम्झौता नै नगरी दोब्बर पारिएको पाइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेअनुसार भारतको परामर्शदाता अंगका तीन सदस्यले यस्तो जानकारी दिएका हुन् ।

भारतको स्वास्थ्य मन्त्रालयले गत मे १३ मा उक्त खोपको दुई डोज लिने अन्तर विद्यमान रहेको ६–८ साताबाट बढाएर १२–१६ साता बनाउने निर्णय गरेको थियो । जतिबेला भारतमा कोरोना संक्रमण अत्यधिक फैलिएको थियो भने कोरोनाविरुद्धको खोपको माग पनि उच्च थियो ।

मन्त्रालयले खोप नेशनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनाइजेसन (एनटीएजीआई)को सिफारिसमा खोप लगाउने अन्तर बढाइएको बताएको छ । जुन सिफारिस बेलायतमा खोप लगाएका मानिसमा गरिएको अध्ययनको आधारमा गरिएको थियो । यद्यपि एनटीएजीआईका तीनजना वैज्ञानिकहरु यस किसिमको सिफारिसका लागि पनि पर्याप्त तथ्यांक नरहेको बताउँछन् ।

भारतका वरिष्ठ संक्रामक रोग विशेषज्ञ साहिद जमिल सरकारले दोस्रो डोज खोप लगाउने समयसीमा दोब्बर पार्नुको स्पष्ट कारण के हो भन्ने खुलाउनुपर्ने बताउँछन्

सरकारी संस्था नेशनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीका पूर्वी निर्देशक एमडी गुप्ताका अनुसार एनटीएजीलाई उक्त सिफारिसको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ८–१२ साताको अन्तर राख्न दिएको सुझावले पनि सहयोग गरेको थियो ।

यद्यपि यो ग्रुपसँग १२ सातापछिको सिफारिस दिनका लागि भने कुनै तथ्यां नभएको उनको भनाइ छ । ‘८ देखि १२ सातासम्मको अन्तर हामी सबैले स्वीकार गरेको कुरा हो, १२ देखि १६ साताको कुराचाहिँ सरकारले ल्याएको हो’, उनले भने, ‘यो प्रयोग सही हुन पनि सक्छ र नहुन पनि सक्छ । हामीसँग यस विषयमा कुनै पनि सूचना छैन ।’

गुप्ताको कुरामा उनका सहकर्मी म्याथ्यु बर्घेस पनि सहमत छन् । बर्घेसका अनुसार ग्रुपले केवल ८ देखि १२ सातासम्मको अन्तरको लागि सिफारिस गरेको थियो ।

भारतको स्वास्थ्य मन्त्रालय भने एनटीएजीआईका प्रमुखलाई उद्धृत गर्दै दुई डोज लगाउने अन्तर बढाउने निर्णय वैज्ञानिक प्रमाणमा आधारित रहेको दाबी गर्छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्रालयले भनेको छ, ‘एनटीएजीआईका सदस्यहरु बीच कुनै पनि विमति छैन ।’

मे १५ मा स्वास्थ्य अधिकारीहरुले खोप दोस्रो डोज लगाउनको समयसीमा मुलुकमा देखिएको कोरोना खोपको अभावले नभई ‘वैज्ञानिक निर्णय’को आधारमा बढाइएको दाबी गरेका थिए । कोभिड वर्किङ ग्रुपका सात सदस्यमध्येका एक जेपी मुलियिलका अनुसार एनटीएजीआईमा यस विषयमा बहस भएको थियो तर यसले अन्तर १२ देखि १६ सातासम्मका लागि बढाउने विषयमा भने कुनै सिफारिस गरेको थिएन । ‘कुनै विशेष समयसीमा तोकिएको थिएन’, उनले भने ।

कोभिड वर्किङ ग्रुपका प्रमुख एनके अरोराले यस विषयमा कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरे । यद्यपि उनले यो निर्णय एनटीएजीआईले नै गरेको बताए । सरकारको कोरोना खोपको विषयमा निर्णय लिने अधिकार पाएको नेगभ्याकका प्रतिनिधिले भने एनटीएजीआईको हरेक निर्णयको सम्मान गर्ने र त्यसलाई कार्यान्वयन गर्ने बताएका छन् ।

दक्षिण कोरियाले खोप लगाइसकेका मानिसहरुमा गरेको अध्ययनमा एस्ट्राजेनेका र फाइजरको एक डोज खोप मात्र लगाएका ६० वर्षमाथिका मानिसहरुमा खोप ८६.६ प्रतिशत प्रभावकारी पाइएको थियो ।

यो पनि पढ्नुहोस कोरोना खोप लगाउन काठमाडौंदेखि अमेरिका !

भारतमा अहिलेसम्म दिइएको कोरोना खोपमध्ये करिब ९० प्रतिशत खोप एस्ट्राजेनेकाले विकास गरेको खोप दिइएको छ । भारतमा अहिले यो विवाद केही वैज्ञानिकले सरकारले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणको लागि आवश्यक कदम चाल्न नसकेको आरोप लगाइरहेको समयमा आएको हो । जसको कारण भारतमा गत अप्रिल र मे महिनामा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको थियो ।

भारत सरकार भने भेरियन्ट नियन्त्रणको लागि पर्याप्त कदम चालिएको दाबी गर्छ । सरकारी प्रयोगशालाले भेरियन्टहरुको अध्ययन गरेर उक्त तथ्यांक स्थानीय निकायमा दिई उनीहरुलाई आवश्यक कदम उठाउने अवसर दिएको सरकारको तर्क छ ।

भारतका वरिष्ठ संक्रामक रोग विशेषज्ञ साहिद जमिल सरकारले दोस्रो डोज खोप लगाउने समयसीमा दोब्बर पार्नुको स्पष्ट कारण के हो भन्ने खुलाउनुपर्ने बताउँछन् । ‘कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढिरहेको समयमा हामीले ठूलो संख्यामा मानिसहरुलाई खोप लगाउनुपर्ने छ र उनीहरु सुरक्षित रहेको निश्चित गर्नुपर्छ’, उनले भने ।

अल जाजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment