Comments Add Comment
एक निर्भीक प्रशासकको अनुभव :

‘चालीस वर्ष सेवा गरें, सचिवलाई कसले चलाउँछ भन्ने थाहा पाइनँ’

‘यो पाँच वर्ष म्युजिकल चेयर खेले जस्तै गरी सरुवा भइरहृयो !’

अवकाश पाएको भोलिपल्ट सचिव गोपीनाथ मैनालीले आफ्नो कार्यकालबारे गरेको प्रतीकात्मक टिप्पणी हो यो । निजामती सेवामा पूरापूर ४० वर्ष विताएका मैनालीले यही मंगलबार उपराष्ट्रपति कार्यालयको सचिव पदबाट अनिवार्य अवकाश प्राप्त गरे ।

तर, जागिरे जीवनका अन्तिम पाँच वर्ष अनेक आश्चर्य लाग्दा घटनाको भुक्तभोगी बन्न पुगे उनी । पाँच वर्षमा मैनालीको नौवटा कार्यालयमा सरुवा भयो । कार्यकक्षमा काम गरिरहेका बेला सरुवाको चिठी टेबलमा आइपुग्दा उनी स्वयं आश्चर्यमा पर्थे ।

‘चार दशक प्रशासन सेवामा विताएँ तर सचिवहरूलाई कसले चलाउँछ पत्तो पाइनँ !’ चार दशकको प्रशासनिक अनुभवलाई उनले एक वाक्यमा सुनाए ।

अधिकांश समय सामान्य प्रशासन र वित्त व्यवस्थापनको काम सम्हालेका उनले स्थानीय निकायदेखि मन्त्रालयसम्मको प्रशासनिक नेतृत्व सम्हाले । कहिले नगरपालिकाको कार्यकारी अधिकृत त कहिले स्थानीय विकास अधिकृत भएर काम गर्दाको रोचक अनुभव उनीसँग छ ।

मैनालीको खरो अभिव्यक्ति आफू सरुवा भएको रिसले होइन राष्ट्रको भविष्य सम्झेर व्यक्त भएको हो । एउटा सचिवलाई दुई आर्थिक वर्ष पूरा नभई सरुवा गरिंदा उसले कुनै पनि नीतिगत काम सम्पन्न गर्न नसक्ने उनको निचोड छ । तर, उनको भागमा सरुवाको चिठी मात्रै परिरहृयो ।

२ भदौ २०७३ मा सचिवमा बढुवा भएका मैनालीलाई शुरूमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा पठाइयो । त्यसको दुई महीनामा निर्वाचन आयोग, त्यसपछि प्रधानमन्त्री कार्यालयको जगेडा सचिव हुँदै उनलाई सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सरुवा गरियो । यसपछि ‘कृषि, भूमिसुधार तथा सहकारी’ हुँदै पुनर्गठन भएको ‘भूमिसुधार तथा गरीबी मन्त्रालय’ पठाइयो ।

यसपछि दुई वर्ष सचिवको अनुभव भइसकेको उनलाई महालेखा नियन्त्रक बनाइँदा झन् आश्चर्य लाग्यो । किनभने त्यो नवनियुक्त सचिव वा कायममुकायम सचिवलाई नियुक्त गरिने पद थियो ।

अन्तिममा शिक्षा मन्त्रालय हुँदै उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिंदा उनको नाम नौ वटा कार्यालयमा सचिवको रूपमा दर्ज भइसकेको थियो ।

मैनाली जहाँ जान्थे केही न केही नयाँ गर्न खोज्थे । ऐन कानूनलाई मुख्य आधार बनाएर मात्रै काम गर्थे । त्यही कारण सरुवा हुनुपरेको हो भने त्यसमा पनि खुशी लागेको मैनाली बताउँछन् ।

तीनपटक राजीनामा

जागिरे जीवनमा गोपीनाथ मैनालीले तीनपटक राजीनामा दिए । तर उनको कर्ममा राष्ट्रसेवा नै रहेछ । घुमिफिरी निजामती सेवामै रहिरहे उनी । हुलाक सेवाको खरिदारबाट २०३९ मा जागिर शुरू गरेका मैनाली सचिवसम्म भए । यो यात्राका क्रममा उनले पाएको हण्डर र गोताको कुनै लेखाजोखा छैन ।

२०४५ सालमा पहिलो सार्क सम्मेलन हुँदा उनले नासु पदबाट राजीनामा दिएका थिए । तत्कालीन मन्त्रीले स्वागतद्वारमा फूल राख्ने निहुँ लिएर उनीमाथि जाइलागेकाले राजीनामा दिएका थिए । त्यहीबेला इन्स्पेक्टर र प्रशासन सेवाको शाखा अधिकृतमा नाम निस्केकाले मैनाली फेरि सरकारी सेवामै जोडिए ।

आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘वरिपरिका मान्छेबाट नेताहरू घेरिएका हुन्छन् । त्यसैले सही कुरा पत्तो पाउन उहाँहरूलाई गाह्रो पर्छ ।’

‘अधिकृत भएपछि सरकारी जागिर सहज होला भन्ने सोचेको थिएँ’ मैनाली सुनाउँछन्, ‘नीति निर्माणको तहमा पुगेपछि झन् धेरै दबाब हुनेरहेछ । झन् ठूलो स्वार्थी समूहको निशानामा परिनेरहेछ ।’

राष्ट्रिय योजना आयोगमा सहसचिव हुँदा पनि उनले राजीनामा बुझाए । सचिवले तपाईंको मानमर्दन हुन दिन्नँ भनेर राजीनामा च्यातिदिएपछि उनी फेरि कर्म क्षेत्रमै खटिए । सचिव भएर सरुवा भइरहँदा उनको आत्मसम्मानमा नराम्रो चोट पर्‍यो । यसैले सचिव भएको दुई वर्षमै तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा बुझाए । त्यसबेला पनि उनलाई थमथमाइयो ।

‘मलाई आफ्नो निष्ठाबाट एक कदम पनि पछि हट्नु थिएन, यसैले राजीनामा दिएँ’ उनी सुनाउँछन्, ‘विभिन्न परिस्थितिले गर्दा म प्रशासन सेवामै रहनुपर्‍यो ।’

यद्यपि सबै मन्त्री र राजनीतिकर्मी खराब नियतको नहुने उनको अनुभव छ । मैनालीका अनुसार धैर्यसाथ आफ्नो कुरा मन्त्रीहरूलाई बुझाउन सक्यो भने उनीहरूले बुझ्छन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘वरिपरिका मान्छेबाट नेताहरू घेरिएका हुन्छन् । त्यसैले सही कुरा पत्तो पाउन उहाँहरूलाई गाह्रो पर्छ ।’

मैनालीले मन्त्रीकै सहयोगमा नेपालमा पहिलो पटक एसएलसी बोर्डको टप-टेन सूची हटाउने काम गरे । त्यतिबेला उनी उपसचिव मात्रै थिए । बोर्ड फस्र्टहरूको सूची प्रकाशन नगर्ने निर्णयले निजी विद्यालय निकै रुष्ट भए ।

राष्ट्रिय योजना आयोगमा उपसचिव हुँदा अनावश्यक योजनाहरूलाई बजेटमा राख्न आएका दबाबलाई उनले पन्छाइरहे । निर्वाचन आयोगको खर्चमा मितव्ययिता कायम राख्ने प्रयास गर्दा आयोगका पदाधिकारीसँग निरन्तर खस्रो-मसिनो चलिरहृयो । तर उनी आफू सामान्य कर्मचारी त हुँ भन्ने भावना राखेर डगमगाएनन् ।

‘राष्ट्रिय हितको काम गर्दा कोही रुष्ट होउन् वा खुशी त्यसले मलाई प्रभाव पार्दैन’, मैनालीले भने ।

‘अवकाशपछि पनि कर्तव्य भुल्दिनँ’

अवकाश भयो भनेर हात बाँधेर नबस्ने प्रतिज्ञा गरेका छन् मैनालीले । मंगलबार अवकाश लिएका उनी त्यही दिनदेखि पत्रपत्रिकामा लेख लेख्न थालिसके । बाल्यकालदेखि साहित्य लेख्दै आएकाले अब सृजनशील कर्म गर्न स्वतन्त्र भएको उनको भनाइ छ ।

अवकाश लिए पनि नेपाल सरकारले ६० प्रतिशत तलब दिइरहेको कुरा नभुल्ने बाचा गर्दै उनले भने, ‘जनताको करको पैसाले मैले पेन्सन पाइरहेको छु । यो पैसाको मूल्य विपरीत काम गर्दिनँ ।’

कुरा पेन्सनको भए पनि उनको निशाना अवकाशपछि लाभको पद धारण गर्ने कर्मचारीहरूप्रति लक्षित थियो । अवकाश पाउनेबित्तिकै राजदूत वा संवैधानिक निकाय ताक्ने सचिवहरूले आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको उनी बताउँछन् ।

‘अवकाश लिएको केही वर्षसम्म हामीले अन्य ठाउँमा जागिर गर्न हुँदैन’ मैनाली भन्छन्, ‘विशिष्ट श्रेणीका कर्मचारीसँग राज्यका अनेक महत्त्वपूर्ण सूचना हुन्छन् । अवकाशपछि अर्को जागिर गर्दा त्यसको दुरुपयोग हुने सम्भावना रहन्छ ।’

यसो त ‘जागिर भनेको अर्काको काम गर्ने वृत्ति मात्र हो’ भन्ने लोकोक्तिको विपक्षमा छन् मैनाली । उनका अनुसार कर्मचारीको मूल परिचय भनेकै उसले गर्ने काम हो । त्यही कामका आधारमा कर्मचारीको ‘सम्पूर्ण मूल्यांकन’ हुनुपर्ने पक्षमा छन् उनी ।

‘कामको जस-अपजस र सफलतामा वाह्वाही राजनीतिक नेतृत्वको हुन्छ’ उनी भन्छन्, ‘तर कर्मचारीको हकमा उसको काम नै सर्वस्व हो । जसले कार्य क्षेत्रमा राम्रो गर्‍यो उसकै वृत्ति-विकास हुनुपर्छ ।’

यद्यपि नेपाली प्रशासन सेवाको हकमा ‘राम्रो कामभन्दा हाम्रो काम गरिदिने’ कर्मचारी मात्र टिक्न सक्ने अवस्था छ । त्यस्तै गलत परिपाटीको शिकार भएका छन् उनी ।

त्यसप्रकारका प्रहारलाई पनि जीवनको परीक्षाका रूपमा स्वीकार गर्दै आफ्नो कर्तव्यमा दत्तचित्त रहेको बताउँछन् उनी ।

२०२० सालमा काभ्रेपलाञ्चोकमा जन्मिएका मैनालीले जीवनको सम्पूर्ण ऊर्जावान् समय निजामती सेवामा विताए । यसक्रममा जागिर खाँदै अर्थशास्त्र, वित्त प्रशासनको उच्च शिक्षा हासिल गरे । आधा दर्जन साहित्यिक पुस्तक यही सिलसिलामा प्रकाशन गरे ।

‘मनमा लागेको कुरा निर्भीकताका साथ भनिहाल्ने, प्रष्ट बोल्ने र नयाँ कुरा सिक्न नहिच्किचाउने स्वभाव’ लाई किशोरावस्थादेखि ग्रहण गरेको उनी बताउँछन् । साथै दृढ संकल्पका अगाडि जस्तोसुकै शक्ति पनि परास्त हुने कुरा उनले जीवनकालमै बुझेका छन् । पञ्चायतको जगजगीदेखि गणतान्त्रिक सरकारको कर्मचारी हुँदा निष्ठाका साथ काम गरेर उनले त्यसको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
निर्भिकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी मुलतः साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

ट्रेन्डिङ

Advertisment