Comments Add Comment

मध्यपुरथिमिमा एन्टिजेन परीक्षण : १० हजारको लक्ष्य, ६७२ को मात्रै परीक्षण

७ असार, भक्तपुर । कोभिड–१९ संक्रमणको जोखिम पहिचान गर्न भन्दै मध्यपुरथिमि नगरपालिकाले एकैदिन १० हजार नागरिकको एन्टिजेन परीक्षण गर्ने निर्णय गर्‍यो ।

प्रत्येक वडाबाट कम्तीमा ११ सय जनाको परीक्षण गर्ने गरी नेपाल–कोरिया मैत्री अस्पतालको व्यवस्थापनमा परीक्षण केन्द्रहरु निर्धारण गरिएको थियो । असार ५ गते नौवटै वडाको स्वास्थ्य संस्थामा परीक्षणका लागि आउन आग्रह गरिएको थियो ।

‘चिनियाँ मोडेल’ को परीक्षण भनिएको यो अभियानमा लक्ष्यको ६.७२ प्रतिशत मात्र परीक्षण भएको छ ।

नगरपालिकाका स्वास्थ्य संयोजक भागीरथ अधिकारीका अनुसार सबै वडामा गरी ६७२ जनाले एन्टिजेन परीक्षण गराएका छन् । उनीहरुमध्ये २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । दुई जनाले स्वास्थ्य चौकीमा आएर परीक्षणका लागि नाम टिपाए पनि अन्तिममा परीक्षण नै नगरी फर्किएको उनले बताए ।

किन परीक्षण गराउन आएनन् ?

स्वास्थ्य संयोजक अधिकारीका अनुसार नगर क्षेत्रका नागरिक संक्रमणबाट कति सुरक्षित छन् ? जोखिमको अवस्था कस्तो छ ? भावी रणनीति कस्तो बनाउनुपर्छ ? भनेर थाहा पाउन एकैदिन ठूलो संख्यामा एन्टिजेन परीक्षण गर्ने योजना बनाइएको थियो ।

नगरपालिकाले कोरोना परीक्षणका लागि नगरवासीलाई एकहप्ता अघिदेखि नै जानकारी गराएको थियो । ‘कोरोनाको दोस्रो लहरमा सबैभन्दा प्रभावित भएको स्थानीय तह मध्यपुरथिमि नै हो । त्यसैले संक्रमणको जोखिम पहिचानका लागि एन्टिजेन परीक्षणको योजना ल्याएका थियौं,’ स्वास्थ्य संयोजक अधिकारी भन्छन्, ‘तर परीक्षणका लागि नागरिकमा उत्साह देखिएन ।’

एन्टिजेन परीक्षणप्रति नागरिकको विश्वास कम भएको हुनसक्ने उनले बताए । उनका अनुसार जोखिममा रहेका नागरिक, संक्रमितको क्लोज कन्ट्याकमा भएका तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरु परीक्षण गराउन आउने विश्वास गरिएको थियो ।

तर लक्षण देखिएका व्यक्तिबाहेक अन्य कमै मात्र एन्टिजेन परीक्षण गराउन आएका छन् । नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मी भन्छिन्, ‘परीक्षणका लागि सबै वडामा सक्दो प्रचार गरेकै थियौं । तर पनि सोचेजति जनता आएनन् ।’

समुदायमा जोखिम घट्दै गएकाले परीक्षण गराउने नागरिकको संख्या कम भएको हुनसक्ने उनको बुझाइ छ ।

जनस्वास्थ्य विद्हरुले भने नहिच्किचाइकन एन्टिजेन परीक्षण गराउन नागरिकहरुलाई आग्रह गरेका छन् । संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले जोखिमपूर्ण अवस्थामा पीसीआर परीक्षण कुरेर बस्नु उपयुक्त नहुने भन्दै एन्टिजेन परीक्षण गर्न सुझाव दिन्छन् । एन्टिजेन परीक्षणले संक्रमितको पहिचान गरी समुदायबाट अलग गरेर उनीहरुलाई आइसोलेसनमा राखेर उपचार अगाडि बढाउन सकिने उनको भनाइ छ । परीक्षणको प्रभावकारिताबारे जनतालाई विश्वास दिलाउन नसकेका कारण सर्वसाधरण नागरिक सहभागी नभएको हुनसक्ने उनी बताउँछन् ।

जोखिमको स्तर कस्तो छ ?

नगरपालिकाको तथ्यांकअनुसार एन्टिजेन परीक्षणमा संक्रमण दर ३.५७ प्रतिशत प्रतिशत मात्र देखिएको छ । समग्र नतिजाले पनि समुदायस्तरमा संक्रमणको जोखिम कम हुँदै गएको देखाएको स्वास्थ्य संयोजक अधिकारी बताउँछन् ।

परीक्षणमा सहभागी वडा नम्बर २, ६ र ८ का सबैको रिपोर्ट नेगेटिभ आएको छ । अन्य वडाभन्दा वडा नम्बर १ मा संक्रमणको जोखिम बढी देखिएको छ । स्वास्थ्य संयोजक अधिकारीका अनुसार वडा नम्बर १ मा १४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ११ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । प्रतिशतको हिसाबमा संक्रमण दर ७.५९ प्रतिशत हो ।

डब्ल्यूएचओले संक्रमण दर ५ प्रतिशतभन्दा माथि रहनुलाई संक्रमणको जोखिम भनेको छ । यो हिसाबले भने वडा नम्बर १ संक्रमणको जोखिममै रहेको देखाएको अधिकारीले बताए ।

संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था

नगरपालिकाभित्र संक्रमण पुष्टि भएका नागरिकको नेपाल–कोरिया मैत्री अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘हामीले वडागत रूपमा नौथरि रङ्गको कार्ड वितरण गरेका छौं । उक्त कार्ड बाहकलाई अस्पतालमा अन्य सेवामा पनि १० प्रतिशत छुट हुने व्यवस्था गरेका छौं । संक्रमितको पनि त्यहीं निःशुल्क उपचारको व्यवस्था हुन्छ,’ श्रेष्ठले भने ।

नगरपालिकाका अनुसार हालसम्म ६ हजारभन्दा बढी नगरबासी संक्रमित भइसकेका छन् । भक्तपुर जिल्लाभरमा भने संक्रमितको संख्या २१ हजार ७६७ पुगेको छ, जसमध्ये १९ हजार २३५ जना निको भइसकेका छन् भने ३५४ जनाको मृत्यु भएको छ । भक्तपुरमा हाल सक्रिय संक्रमितको संख्या २ हजार १७८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सहदेब चौधरी

ट्रेन्डिङ

Advertisment