Comments Add Comment

युरोकपमा आज इङ्ल्याण्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्दै

८ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज समूह डी अन्तर्गतका दुई खेल हुँदैछन् । जसमा इङ्ल्याण्डले चेक रिपब्लिक तथा क्रोएसियाले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

दुवै खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । इङ्ल्याण्डले चेक रिपब्लिकसँग घरेलु मैदान वेम्बली रंगशालामा खेल्नेछ भने स्कटल्याण्डले ग्लास्कोस्थित हाम्पडेन पामा क्रोएसियासँग खेल्नेछ ।

इङ्ल्याण्ड र चेक रिपब्लिकले यसअघिका दुई खेलमा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । इङ्ल्याण्डले क्रोएसियालाई १–० ले पराजित गरेको थियो भने स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

चेक रिपब्लिकले पहिलो खेलमा स्कटल्याण्डलाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा क्रोएसियासँग बराबरी खेलेको थियो ।

यस खेलमा बराबरी नतिजा पनि दुवै टिमलाई नकआउट चरणमा पुग्न पर्याप्त हुनेछ । तर दुवै टोली जितसहित समूह चरण सम्पन्न गर्न चाहन्छन् । इङ्ल्याण्डले जित हात पारे समूह डी को विजेता बन्नेछ ।

यी दुई टोली युरोकपमा पहिलो पटक खेल्न लागेका हुन् । छनोटमा दुवैले मिश्रित नतिजा हात पारेका थिए । चेकले घरेलु मैदानमा २–१ को जित हात पार्दा इङल्याण्ड घरेलु मैदानमा ५–० ले विजयी भएको थियो ।

इङ्ल्याण्डका मासोन माउन्ट र बेन चिलवाल चेकविरुद्ध खेलमा उपलब्ध हुने छैनन् । दुवै खेलाडी सेल्फ आइसोलेट भएका छन् । स्कटल्याण्डका बिल्ली गिलमोरसंग कुराकानी गरिएको देखिएपछि दुवै खेलाडी आइसोलेसनमा बसेका हुन् । गिमरलाई कोरोना संङ्क्रमण भएको थियो ।

माउन्ट र चिलवाल दुवैले जुन २८ सम्म आइसोलेसनमा बस्नुपर्नेछ र इङ्ल्याण्डको अन्तिम १६ को खेल गुमाउनेछन् ।

उता स्कटल्याण्ड र क्रोएसियालाई पनि दोस्रो स्थानमा पुग्ने अवसर छ । तर त्यसका लागि इङ्ल्याण्ड र चेकबीचको खेलमा स्पष्ट नतिजा आउनुपर्नेछ ।

स्कटल्याण्डले क्रोएसियालाई हराउन सके ४ अंक हुनेछ । यस्तोमा इङ्ल्याण्ड क्रोएसियासँग पराजित भएमा र गोल अन्तरमा अघि रहे स्कटल्याण्ड समूह उपविजेता बन्न सक्छ । उता क्रोएसियाको लागि भने स्कटल्याण्डलाई हराउनुपर्नेछ भने चेक इङ्ल्याण्डसँग पराजित हुनुपर्नेछ ।  स्कटल्याण्ड र क्रोएसियामध्ये जित्ने टिमले तेस्रो हुनेमध्ये उत्कृष्ट टिमको रुपमा पनि नकआउट चरणको यात्रा तय गर्न सक्नेछ  । बराबरीले भने दुवै टोली समूह चरणबाटै बाहिरिनेछन् ।

स्कटल्याण्डका बिल्ली गिलमोर क्रोएसियाविरुद्ध खेलमा उपलब्ध हुने छैनन् । यी दुई टोली पहिलो पटक युरोकपमा भिड्न लागेका हुन् । यस्तै क्रोएसियासँग खेलेका ५ खेलमा स्कटल्याण्ड अपराजित छ । जसमा स्कटल्याण्डले २ खेल जित्दा ३ खेल बराबरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment