Comments Add Comment

एनभीएले गठन गर्‍यो सात सदस्यीय भलिबल खेलाडी छनोट समिति

१३ असार, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले सचिव मानवीर छन्त्यालको संयोजनमा सात सदस्यीय खेलाडी छनोट समिति गठन गरेको छ ।

फिलिपिन्समा आगामी भदौमा आयोजना हुने एसियन महिला च्याम्पियनसिपका लागि एनभीएले छन्त्यालको संयोजकत्वमा छनोट समिति गठन गरेको एनभीएका कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।

एनभीएको शुक्रबार बसेको बैठकले छनोट समिति बनाएको हो । ‘एनभीएको सचिव मानवीर छन्त्यालको संयोजनमा सात सदस्यीय छनोट समिति गठन गरिएको छ । जसमा प्रशिक्षकतर्फबाट तीन र एनभीएका तीन सदस्यलाई राखिएको छ,’ गुरुङले भने ।

सात सदस्यीय छनोट समितिमा छन्त्यालसँगै राष्ट्रिय खेलकुद परिषद राखेपका चिफ कोच प्रज्वलबहादुर सिंह मुख्य प्रशिक्षक जगदीश भट्ट सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै एनभीएका सदस्यहरु ज्योति केसी जुनु पुन र रीता कोइराला पनि छनोट समितिमा छन् ।

यसअघि पाँच सदस्यीय छनोट समिति रहने गरे पनि यसपटक ७ सदस्यीय बनाइएको छ । किन धेरै जना राखिएको भन्ने प्रश्नमा गुरुङले दुवै पक्षको सन्तुलन मिलाउन बराबरी सदस्य राखेको बताए ।

एसियन च्याम्पियनसिपका लागि एनभीएले असार १ देखि प्रशिक्षण गरिरहेको छ । अब छनोट समितिले दुई चरणमा गरेर अन्तिम टोली छान्नेछन् । एनभीएले ३० खेलाडीलाई सुरुमा प्रशिक्षणमा बोलाए पनि पुलिसले आफ्ना तीन खेलाडी नपठाएपछि अहिले २७ खेलाडी बन्द प्रशिक्षणमा छन् ।

‘पहिलो चरणमा १८ खेलाडी छनोट गरिनेछ । त्यसपछि अन्तिम चरणमा १४ खेलाडी छनोट गर्दै अन्तिम टोली घोषणा गरिनेछ,’ कार्यवाहक अध्यक्ष गुरुङले भने । पहिलो चरणको छनोट आगामी शुक्रबार गरिने उनले बताए ।

खेलाडीहरुलाई अहिले मुख्य प्रशिक्षक जगदीश श्रेष्ठसहितको टिमले प्रशिक्षण दिइरहेको छ । भरत यादव सहायक प्रशिक्षकका रुपमा छन् । दुवै जना राखेपअन्तर्गत प्रशिक्षकका रुपमा कार्यरत छन् । यस्तै भलिबल संघले राष्ट्रिय टिमका पूर्वकप्तान अन्जु श्रेष्ठ र घरेलु भलिबलका च्याम्पियन प्रशिक्षक कुमार राईलाई यसपटक ट्रेनरको रुपमा अनुबन्ध गरेको छ ।

गुरुङले अन्जु श्रेष्ठ र कुमार राई प्रशिक्षक नभएर सहयोगी ट्रेनरको रुपमा नियुक्त गरिएको पनि प्रष्ट पारे ।

लकडाउनका कारण लामो समय खेलाडी त्यत्तिकै बस्नुपरेकाले अहिले खेलाडीको फिटनेसलाई प्राथमिकता दिइएको पनि गुरुङले बताए ।

एनभीएका कार्यवाहक अध्यक्ष गुरुङले च्याम्पियनसिपका लागि करिब १ करोड ३५ लाख खर्च हुने बताए । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले १ करोड सहयोग गर्ने उनले जानकारी दिए । बाँकी भने संघले नै व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

नेपालले पहिलो पटक एसियन च्याम्पियन्सिप खेल्न लागेको हो । एसियाका १२ टिमले प्रतिस्पर्धा गर्ने च्याम्पियनसिप भदौ १३ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment