Comments Add Comment

कस्तो छ रोनाल्डोको खानपान शैली ?

कीर्तिमानी फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चिनीको सेवन गर्दैनन्, मदिरापान गर्दैनन् । खासमा उनका पितामा मदिराको लत थियो । अत्यधिक मदिराकै कारण उनको पिताको निधन भयो । त्यसैले उनले मदिरालाई घृणा गरेका छन् ।

उनका पिता जोजे डिनिस अभेइरो नगरपालिकामा माली थिए । आमा भने खाना बनाउने काम गर्थिन् । उनकी आमा क्यान्सरकी रोगी हुन्, जो उपचारपछि सामान्य जीवनयापन गरिरहेकी छन् । खासमा क्रिस्टियानो रोनाल्डो गरीब परिवारमा जन्मिएका हुन् । पोर्चुगलको पहाडी बस्तीमा उनको बाल्यकाल बित्यो । गरीब परिवारमा जन्मिएका रोनाल्डोले सानै उमेरमा पढाइ छाडे । एक दाजु र दुई दिदीका कान्छा भाइ रोनाल्डो सानो छँदा एकै कोठामा कोचिएर सुत्थे ।

बुबाले नै कान्छो छोराको नाम जुराएका थिए, रोनाल्डो । हलिउड नायक तथा अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनको नामबाट प्रभावित भएर उनले छोराको नाम राखिदिएका थिए ।  १४ वर्षको उमेरमा उनले आमाको कुरा मानेर सम्पूर्ण ध्यान फुटबलमा केन्द्रित गरे । बुबा चाहन्थे, छोराले पढाइ सकेर रोनाल्ड रेगनजस्तै चर्चित बनोस् । तर, उनको विद्यालय यात्रा सुखद् रहेन । १४ वर्षको उमेरमा उनले आफ्ना शिक्षकमाथि कुर्सी प्रहार गरेका थिए र त्यही कारण विद्यालयबाट निष्कासित पनि भए । व्यावसायिक खेलाडीको रुपमा स्थापित भइसकेपछि उनले उक्त घटनाबारे बोल्दै भनेका थिए, ‘उहाँले मलाई अनादर गर्नुभयो ।’

हुन त उनी आठ वर्षको उमेरदेखि नै स्थानीय एमेच्योर क्लब एन्डोरिनाबाट फुटबल खेल्न थालेका थिए । ११ वर्षको उमेरमा उनी पोर्चुगलको चर्चित क्लब स्पोर्टिङ लिस्बनको फुटबल एकेडेमीमा प्रवेश गरिसकेका थिए । रोनाल्डो १६ वर्षको हुँदा उनको डि्रबलिङ (विपक्षीलाई छक्याएर बल अगाडि बढाउने) क्षमताबाट प्रभावित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टोलीबाट मुख्य टोलीमा बढुवा गरेका थिए । स्पोर्टिङ र म्यानचेस्टर युनाइटेटबीच सन् २००३ अगस्टमा लिस्बनमा भएको खेलमा युनाइटेड ३-१ ले पराजित हुँदा युनाइटेडका खेलाडीहरु र प्रशिक्षक सर एलेक्स फर्गुसन रोनाल्डोको खेल कौशलबाट प्रभावित भए । यही खेलले रोनाल्डोलाई युनाइटेडमा स्थानान्तरण गराउन मुख्य भूमिका खेल्यो । यसरी बढ्दै गएको उनको सफलताको ग्राफले महान फुटबलरको रुपमा स्थापित गरिदियो ।

यद्यपि यो सफलताको पछाडि उनको संघर्ष, निरन्तर मेहनत, दृढता र आत्मविश्वास पनि जोडिएको छ । आफ्नो खेल जीवनलाई सधैं लयमा राख्नका लागि उनले अनुशासित दिनचर्या पालना गर्ने गरेका छन् । उठ्ने, सुत्ने, खाने, बस्ने, व्यायाम गर्ने कुरालाई उनले व्यवस्थित गरेका छन् ।

हालैमात्र उनले आफ्नो खानपानबारे भनेका थिए, ‘म उच्च प्रोटिनयुक्त खानेकुरा रुचाउँछु । कार्बोहाइड्रेडयुक्त अन्न, फलफूल र सागसब्जीसहितको खाना धेरै मन पर्छ । चिनीयुक्त खानेकुरा खाँदिन । राम्रो वर्कआउटको लागि सही डाइटको संयोजन जरुरी हुन्छ ।’

रोनाल्डोको डाइट

रोनाल्डोको लागि डाइट एकदमै महत्वपूर्ण हुन्छ । किनभने आफूलाई गतिशील, चुस्त र जवान बनाइराख्न उनले खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । नियमित गर्नुपर्ने खेल अभ्यास, वर्कआउट । खेल मैदानमा जस्तै कडा किसिमको व्यायाम गर्नुपर्छ ।

रोनाल्डो चिनी पटक्कै खाँदैनन् । चिनीबाट बनेका खानेकुरा पनि उनलाई रुचिकर लाग्दैन । आफ्नो खुराकमा प्रोटिनयुक्त डाइट लिन रुचाउँछन् । प्रोटिन डाइटका साथसाथै कार्बोहाइड्रेटयुक्त अन्न खान्छन् ।

रियल म्याडि्रडमा खेल्न थालेदेखि नै उनले एक निजी डाइटिसियन राखेका छन् । उनी थोरैथोरै तर धेरै पटक खानेकुरा खान्छन् । दिनभरमा उनले करीब ६ पटक खानेकुरा खान्छन् । उनको खुराकमा माछा अटूट रहन्छ । उनी विभिन्न प्रकारका माछाको परिकार रुचाउँछन् । यतिसम्म कि उनको मनपर्ने परिकार पोर्चुगली काँडायुक्त माछाबाट बन्छ। त्यसमा प्याज, काटेको आलु, केही अण्डा र ओलिभ आयल हुन्छ ।

उनी जुस पिउँछन् । उनको डाइटमा कार्बोहाइड्रेट मिश्रित पेय हुन्छ, जुन उनी आफ्नो ट्रेनिङको बेला खान रुचाउँछन् । यसमा इलेक्ट्रोलाइटका साथै भिटामिन बी १२ को मिश्रण हुन्छ । रोनाल्डोको नास्तामा कम फ्याटयुक्त दही हुन्छ । साथै उनी पर्याप्त ताजा फलफूल सेवन गर्छन् ।

रोनाल्डोलाई कुखुराको मासु पनि औधी मन पर्छ । उनले यसलाई ‘म्याजिक फुड’ भन्ने गरेका छन् । उनी ओलिभ अर्थात् जैतुन पनि सेवन गर्न रुचाउँछन्, जसबाट राम्रो फ्याट मिल्छ । लन्च जस्तै डिनरलाई पनि उनले दुई भागमा विभाजन गरेका छन् । साँझ उनी नास्ता लिन्छन्, जसमा ताजा फल र एभोकाडोको टोस्ट हुन्छ । रातिको खानामा ताजा माछाको परिकार हुन्छ ।

युरोपियन हुनुको नाताले रोनाल्डोको मुख्य परिकार मांसबाट बनेको हुन्छ । साथसाथै उनी फलफूल पनि पर्याप्त सेवन गर्छन् । उनी नियमित तालिम र व्यस्त रहनुपर्ने भएकाले पनि खानामा यस किसिमको सन्तुलन मिलाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment