Comments Add Comment

बाँचुन्जेल एक कल फोन नगर्ने, मरेपछि श्रद्धाञ्जलि लेख्न कति हतार ?

केही दिनअघि मात्रै मेरो एकजना आफन्त बित्नुभयो । उहाँलाई कुनै दीर्घरोग थिएन, न त परिवारका कुनै सदस्यलाई त्यस्तो दीर्घरोगको संक्रमण नै थियो । घरबाट अस्पताल जाँदा उज्यालो मुहार थियो, परिवारका अन्य सदस्यले कोरोना घरमै बसेर परास्त गरे तर बुवालाई सास फेर्न कठिन भयो । दुई–तीन दिनसम्म घरेलु औषधि गर्दा पनि सुधार नभएपछि अस्पताल जानैपर्ने भयो ।

बुवाले समाचार हेरेर भन्नुहुन्थ्यो-‘घरमा औषधि गरे बाँचिन्छ अस्पताल गए त जिउँदो फर्केर आउन मुश्किल छ ।’ उहाँको घरमै निको हुन्छु, सकभर अस्पताल जाँदिन, जान नपरोस् भन्ने नै मनसाय थियो । तर अस्पताल नगई भएन । काठमाडौंको एउटा सरकारी अस्पतालमा भनसुन गरेर, बिन्ती गरेर बल्लतल्ल एउटा बेड मिलेको थियो, बुवालाई सम्झाएर, चाँडो निको बनाएर ल्याउने अभिलाषाका साथ एम्बुलेन्सको साइरन बजाउँदै घरबाट निकालियो ।

घरबाट बुवाको साथमा ठूली छोरी र उनको मामाको छोरा मात्रै गए । आमा आँशु टिलपिल पार्दै हुनुहुन्थ्यो, भाइबहिनी अँध्यारा भएका थिए तर पनि बुवाले मन अमिलो पारेर सम्झाउन खोज्नुभयो, ‘पीर मान्नु पर्दैन केही दिनपछि त म फर्किहाल्छु नि, अरू केही भएको छैन सास फेर्न अलि गाह्रो भएको हो, डाक्टरले अक्सिजन लगाइदिन्छन्, सन्चो हुन्छु’, यति भन्दै बुवा घरबाट विदाबारी हुनुभएको थियो ।

हाम्रो समाज फेरि नकारात्मक कुरामा बढी चनाखो हुन्छ, बुवा हिंडेपछि छिमेकीहरूले सकारात्मक भन्दा पनि नकारात्मक कुराहरू बढी उठाउन थाले । कहाँ कति जना मरे, कहाँको को कति दिन अस्पताल बस्यो बाँचेन, केही भएको थिएन, जाँदा सद्धे अस्पताल गएको मान्छे एक्कासी मरेको खबर आयो । खै के हो के हो ? अस्पतालमा गएर सन्चो होला भनेको त अस्पतालमा गएको मान्छे जिउँदो आउँदैन … । ती धेरै उमेरका मान्छेले पनि कोरोना जितेका छन्, डाक्टर भगवानको अर्को रूप हुन् बचाइहाल्छन् नि … । यस्तै यस्तै ।

बुवासँग ठूली छोरी कुरुवा बसेकी थिइन् । चार–पाँच दिनसम्म बुवालाई भेन्टिलेटरमा राखेर उपचार गरियो । कहिले मामाको छोरा त कहिले ठूली छोरी दुई जना आलोपालो मिलाएर बसेका थिए, अरूलाई अस्पतालमा आउन दिएको थिएन । बुवालाई सुधार भइरहेको छ भन्ने जानकारी बेलाबेलामा घरमा आमा, भाइ, बहिनीलाई र अन्य आफन्तलाई गराइरहन्थे ।

छैटौं दिनमा बुवालाई झनै गाह्रो भयो । हिजोसम्म सुधार भइरहेको बताउने डाक्टरले नमीठो समाचार सुनाए । ठूली छोरी अस्पतालको बाहिरपट्टि बसेकी थिइन्, नर्सले बोलाइन् र डाक्टर सा’बले कुरा गर्न खोजेको जानकारी गराइन् । छोरीलाई लागेको थियो, शायद बुवालाई अर्को बेडमा सार्ने भन्छन् कि ? अलि सुधार भयो भन्ने हौसला पो दिन्छन् कि ?

तर परिणाम विपरीत भइदियो । डाक्टरले छोरीलाई सम्झाउँदै भने– ‘हेर्नुस् बैनी बुवाको अक्सिजनको लेवल एकदमै घटिसक्यो, छातीमा निमोनियाको संक्रमण धेरै फैलिइसकेको छ, अक्सिजन नलगाउँदा बुवाको अक्सिजनको लेवल ३० मात्रै पुग्छ …। तैपनि हाम्रो कोशिश जारी छ ।

डाक्टरको यो भनाइले छोरीलाई ऐंठन भयो । घरमा भर्खर कोरोना निको भएकी आमा हुनुहुन्छ, साना भाइबहिनी छन्, मामाको छोरालाई बोलाइन् र डाक्टरले भनेको कुरा हतारहतार सुनाइन् । उनका मावली गाउँमै छन्, काठमाडौं बसेर पढ्ने त्यही भाइ छ सहारा । कसैलाई केही नसुनाउने जे होला होला भन्दै मन गाँठो पारे दुवै जनाले । थाहा पाएका आफन्तले फोन गरेर के छ कसो छ भनेर सोध्थे, धेरैलाई त बुवालाई अस्पतालमा राखेको भन्ने पनि जानकारी थिएन ।

घरमा जाने वातावरण थिएन, फोनबाट कुराकानी हुन्थ्यो, आधा रातमा पनि आमाले ‘के छ ? कस्तो छ बुवालाई ? तिमीहरूले खाना खायौ’ भनेर सोध्नुहुन्थ्यो । ‘ठीक छ, खायौं’ भन्ने बाहेक केही जवाफ हुँदैनथ्यो उनीहरूसँग । यसैगरी थप कठिन, नमीठा तीन दिन बिते ।

भगवानलाई पुकारेर बसेका थिए दिदीभाइ अस्पतालमा । बुवालाई भेन्टिलेटरमा राखेको ९ दिन भएको थियो । राति दुई बजेतिर डाक्टरले बुवा यो संसारमा नभएको खबर सुनाए । दिदीले मामाको छोरा भाइलाई अँगालो मारेर रुन थालिन्, भाइले ढाडस दिंदै थिए, एक हातले आफ्नो आँशु अर्को हातले दिदीको आँशु पुछिदिंदै थिए ।

‘दिदी हामीले सक्नेजति, गर्नेजति गरिसक्यौं, दैवलाई हाम्रै भिनाजु प्रिय लाग्यो त के गर्नु ? दिदी आफूलाई सम्हाल्नुस् …’ आफ्नो मन रुवाएर भए पनि दिदीलाई सान्त्वना दिइरहे । भाइले आफ्नो बुवालाई भिनाजु बितेको खबर सुनाए, अरूलाई केही भन्न, बताउन सकेनन् ।

के के न गरेजस्तो गरी परिवारको स्वीकृति नलिइकन श्रद्धाञ्जलि लेख्दा त्यसबाट थपिने पीडाको आकलन गर्नुभएको छ ? फेसबुकमा लेख्न कति हतारो ? त्यसैले कम्तीमा मान्छे बनौं, अर्काको दुःखमा थप दुःख थप्ने दुष्कर्म नगरौं !

दिदी एकोहोरो विलाप गर्न थालिन्, आमालाई कसरी सम्हाल्नु ? आमाले बुवालाई कस्तो छ भन्दा के जवाफ दिनु ? हुन त बुवालाई अस्पताल भर्ना गराएदेखि हरेक दिनजसो वल्लोपल्लो बेडबाट मृत शरीर निस्किरहेका थिए, तिनीहरू सबै आफ्नै बुवा, आमा जस्तै लाग्थ्यो । हिजो अस्ति अरूका आफन्त विलाप गर्थे । आज आफ्नो पालो आएको थियो, भोलि कोही अर्को विलाप गर्नु नै छ ।

चाहेर पनि साथीको बुवालाई अस्पतालमा भेट्न जान नपाएकोमा निकै खिन्नता भइरहेको थियो । बेलाबेलामा फोन गरेर जानकारी पाइरहेकी थिएँ । उही साथीको मामाको छोराले एकाबिहानै बुवाको निधनको खबर सुनायो । ‘दिदी अहिलेसम्म हामीले कसैलाई पनि भनेका छैनौं, दिदीलाई पनि भिनाजुको शव घाटमा पुर्‍याएपछि मात्रै भन्ने कुरा छ । चार–पाँच जना भएर शववाहनमा राखेर पशुपति लैजाने, अनि मात्र खबर गर्ने कुरा छ, सम्हाली नसक्नु हुन्छ, आखिर नसम्हालेर के गर्नु र ?’ उनीहरूले कसैलाई पनि खबर गरेका थिएनन् ।

बुवाको निधनको खबरले आफूलाई थप बेचैनी बनाएको थियो । आफ्नो बुवा गुमाएको क्षण सम्झिएँ । कम्तीमा मेरो साथीले सकेजतिको उपचार त गर्न पाइन् आफ्नो भाग्यमा त त्यो पनि लेखेन । कम्तीमा बुवालाई के भएको थियो ? भन्नेसम्म पनि जानकारी म अभागी छोरीले पाइनँ । एकैछिन अघि आमासँग खाजा खाएको बुवा आधा घण्टापछि मृत्यु शय्यामा कसरी पुग्नुभयो ? जीवनभरि यही प्रश्नले सताइरहन्छ ।

मेरो साथीले आफ्नो क्षमताले भ्याएसम्म, गरेर हुनेसम्मको गरेकै हो तर विधिको विधानका सामु कसको के लाग्दो रहेछ र ? आखिर ढिलोचाँडो वियोगको पीडा सबैले सहनु नै छ । साथीलाई एक कल फोन गरेर सम्झाउने हिम्मत आएन, आफ्नै पीडा सम्झिएँ, अचानोको पीडा अचानोलाई नै थाहा हुन्छ । फोन डायल गरेर पनि काँटें ।

बिरामी हुँदा, नौ दिनसम्म बुवा अस्पतालमा बस्दा एकपटक पनि जान पाइनँ, के मुखले फोन गरेर सम्झाऊँ ? नैतिकता नै नभएको जस्तो भान भयो । यस्तो कोरोनाको महामारीमा आफन्तलाई भेट्न जान नपाएकोमा धेरै खिन्नता लाग्यो । मेरी आमालाई जस्तै साथीको आमा सम्झे, आफ्ना भाइ, बहिनी जस्तै साथीका भाइबहिनी सम्झिएँ । … आखिर जिन्दगी के रहेछ र ? मन भावविह्वल भयो ।

आर्मीले शव गाडिदिने हो कि के हो ? शवको पोको बनाएर कहाँ लान्छन्, के गर्छन् कसैलाई जानकारी हुँदैन तर धेरै अनुनय–विनय गरेपछि थोरै संख्यामा घाटमा लैजान पाउने अनुमति मिल्यो । शववाहन बोलाएर बुवाको शव घाटमा नपुर्‍याउँदै फेसबुकमा दुःखद खबर … । हार्दिक श्रद्धाञ्जलि काका … भनेर बुवाको फोटो राखेर उनै साथीलाई ट्याग गर्न कसैले भ्याइसकेछन् ।

रातिको दुई बजेदेखि बिहान नौ बजेसम्मको कहालीलाग्दो क्षण ती दिदीभाइलाई बाहेक अरू कसलाई थाहा होला र ? बिहानै आमाले फोन गरेर सोध्दा बुवाको शव घाटमा लैजाने तयारी हुँदैथियो तर पनि आँशु पुछेर ‘ठीकै छ, सुधार हुँदैछ बुवालाई’ भनेकी थिइन् । एकैछिनपछि फेसबुकमा बुवाको मृत्युको खबर देखेपछि आफन्तले थाहा पाइहाले, एककान दुईकान सबैतिर हल्ला फैलिइहाल्यो । जबकि आमालाई बुवालाई नदेखेको धेरै दिन भयो, एकदिन आमाले पनि भेट्नुहुन्छ भनेर, बुवालाई सुधार भइरहेको छ, राम्रो छ भनेर फकाएर अस्पताल भनेर घाटमा ल्याउने कुरा भइरहेको थियो । एम्बुलेन्स खोजेर ठिक्क पारिएको थियो आमाको लागि तर अहिले श्रद्धाञ्जलिको ‘ब्रेकिङ्ग’ लहर चलेका बेलामा मानवता नभएका केही कुतत्वले सबै कुरा बिर्सिएर लाइक र कमेन्टको आशमा मृतक व्यक्तिको बजारीकरण गरिरहेका छन् ।

यस्तै हो । जे हुनु भइहाल्यो भन्दै आफन्तहरूले सम्झाउन खोजे । आमा अस्पताल आउने भन्ने उत्साहमा एकैछिन अगाडि हुनुहुन्थ्यो । एकैछिन पछि माहोल बदलियो । अलाप, विलाप गर्न थाल्नुभयो । आखिर जो व्यक्तिले बुवाको निधनको समाचार ब्रेकिङ्ग गरे उनले नौ दिनसम्म अस्पताल बस्दा एकदिन पनि फोन गरेनन्, एकपटक बुवालाई के छ, कस्तो छ ? केही सहयोग गर्नुपर्छ कि भनेर सोधेनन् । कुनै चासो जानकारी राखेनन् तर कतिबेला बुवाको निधन होला र समाचार छरस्पष्ट पारुँला भनेर कुरेर बसेका रहेछन् । परिवारमा सन्नाटा त छाउँथ्यो नै एकैछिन अगाडि होस् वा पछाडि । तर जसरी माहोल बनाएर, आमालाई सम्झाई बुझाई गर्ने चाहना थियो तर असामाजिक मानसिकता बोकेका व्यक्तिका कारण मानवीयता भन्ने शब्द नै लोप भयो । आमा बेहोश हुनुभयो, साना भाइबहिनी के गर्ने के गर्ने दोधारमा पुगे ।

आमालाई बल्लतल्ल घाटमा ल्याइयो । बुवाको दाहसंस्कार सकियो, सानो भाइ कपाल खौरिएर, सेतो वस्त्र पहिरिएर किरिया बस्यो, आमा हिजोसम्म रातै पहिरनमा हुनुहुन्थ्यो, उजाडिंदो पहिरनमा अर्को कुनामा बस्नुभयो । उही मामाको छोरा, म, अन्य नजिकका एक–दुई जना आफन्त मिलेर बुवाको तेह्र दिनको काम सिध्यायौं । मानवता के रहेछ ? आखिर मान्छे अर्काको दुःखमा किन यति हतारिन्छ भन्ने कुरा आफैंलाई परेपछि थाहा भयो । साथीले दुखद पीडा सुनाइन् । तिमी त लेख्ने मान्छे हौ मैले जस्तो पीडा कति आफन्तले भोगेका होलान् ?

यस्ता पीडाको बारेमा लेखन, कम्तीमा मान्छे हृदय भएको मान्छे बन्छ कि ? साथीको यही बोलीले यो लेख लेख्न बाध्य बनायो । अन्त्यमा भन्न चाहन्छु, कतिपय मृतकका आफन्तहरू बाहिर टाढा हुन्छन्, उनीहरूलाई के-के बहाना बनाएर बोलाइएको हुन्छ तपाइँ हामीले के के न गरेजस्तो गरी परिवारको स्वीकृति नलिइकन श्रद्धाञ्जलि लेख्दा त्यसबाट थपिने पीडाको आकलन गर्नुभएको छ ? फेसबुकमा लेख्न कति हतारो ? यतिको हतारो अस्पतालमा हुँदा गरेको भए ? त्यसैले कम्तीमा मान्छे बनौं, अर्काको दुःखमा थप दुःख थप्ने दुष्कर्म नगरौं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment