१६ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्न जाने नेपाली खेलाडी बुधबारदेखि होटलमा बस्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले ओलम्पिकका लागि छनोट भएका खेलाडीहरु आजदेखि होटल सोल्टीमा बस्ने जानकारी दिए । नेपालबाट यस पटक चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ ।
जसमा अनिवार्य कोटा अन्तर्गत पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सका गोपीचन्द्र पार्की छन् । यस्तै वाइल्ड कार्डबाट छनोट भएका सुटिङ खेलाडी कल्पना परियार र जुडोका सोनिया भट्ट पनि टोकियो ओलम्पिक खेल्न जानेछन् ।
उपाध्यक्ष राजवैद्यले केही दिनमा पत्रकार सम्मेलन गरेर टोकियो ओलम्पिक जाने सबै खेलाडी र अफिसियलबारे जानकारी दिने बताए ।
‘यस पटक खेलाडीहरुले दुई साता अघि देखिको स्वास्थ्य अवस्था सफ्टवेयरमा अपडेट गराउनु पर्नेछ । जानुअघि ७ दिनदेखिको पीसीआर रिपोर्ट हुनुपर्नेछ । यस्तै जापान गएपछि ३ दिन क्वारेन्टिन बस्नुपर्नेछ’ उनले भने ।
प्रतिक्रिया 4