Comments Add Comment

मोरङको लोहन्द्रा खोलामा नयाँ पुल

१७ असार, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिका जोड्ने लोहन्द्रा खोलाको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लोहन्द्रा खोलामा २०७४ साउनमा आएको बाढीले बेलबारी–५ र ग्रामथान जोड्ने पुल बगाएपछि नयाँ पुल निर्माण गरिएको हो ।

पुल नहुँदा वर्षायाममा यातायात अवरुद्ध हुँदै आएको थियो । बाढीले बगाएको पुलभन्दा करिब ६ किलोमिटर दक्षिण ८ करोड ३५ लाख रुपैयाँको लागतमा नयाँ पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । ९५ प्रतिशत काम सकिएको पुलको काम एक महिनाभित्र सकिने सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सुरेश झाले बताए ।

धरानको सूर्या एण्ड सन्स प्रालिले २०७५ वैशाख १३ गतेदेखि ९७ मिटर लामो पुलको निर्माण शुरु गरेको थियो । ८ करोड ३५ लाख ४५ हजार रुपैयाँमा ठेक्का पाएको कम्पनीले कोरोना महामारीका कारण निर्माण सम्पन्न गर्न समय लागेको बताएको छ ।

उक्त पुलले सुनसरीको दुहबी, मोरङको तेतरिया, मोतिपुर हुँदै झापा जाने सडकलाई जोड्ने मोरङ क्षेत्र नम्बर ४ का निर्वमान सांसद् अमनलाल मोदीले बताए ।

पुल निर्माणपछि किसान र बटुवालाई आवतजावत गर्न सहज हुने ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले बताए । ‘बर्खामा खोलाबाटै तर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘पुल बनेपछि खेतीपातीका लागि आउजाउ गर्न सहज भएको छ ।’

पुल र पुलको पश्चिमतर्फ रहेको बस्ती संरक्षणका लागि तटबन्ध निर्माणको काम भइरहेको छ । ४८ लाख रुपैयाँ लागतमा खोलाको पश्चिमतर्फ तटबन्ध निर्माणको काम भइरहेको कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाका इन्जिनियर कृष्णप्रसाद खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment