
१८ असार, जनकपुरधाम । स्पान धसिएपछि भासिएको कमला नदीको पुलको छत शुक्रबार झरेको छ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको स्पान बिहीबार धसिएको थियो ।
धसिएको स्पानको छत शुक्रबार दिउँसो खसेको स्थानीयले बताएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रहरी प्रमुख प्रकाश रानाभाटसहितका सुरक्षा अधिकारी पुलको अनुगमन गरेर फर्केलगत्तै पुलको छत ढलेको स्थानीयले बताएका छन् ।
‘स्पान धसेको निरीक्षण गर्न सीडीओ सर आउनुभएको थियो । निरीक्षण गरेर फर्केको केही मिनेटभित्रै पुलको छत खस्यो,’ धनुषाको कमला नगरपालिकाका ललित यादवले भने ।
पुलमा २ वटा स्पानमा तीनवटा छत जोडिएको छ । धसेको स्पानको पूर्वतर्फको छत खसेको छ । पश्चिमतर्फको छतसमेत लड्न लागेको स्थानीय ललित यादवले बताए ।
बिहीबार सिरहाको सिरहा नगरपालिकाको बसपिट्टा घाटमा रहेको पुलको एउटा स्पान धसेको थियो । शुरुमा पप्पु कन्स्ट्रक्सनले शुरु गरेको काम पछि लुम्बिनी बिल्डर्सले गर्दै आएको थियो ।
प्रतिक्रिया 4