Comments Add Comment

कोपा अमेरिका फुटबलप्रति किन घट्यो चासो ?

फुटबलभन्दा धार्मिक सिरियल हेर्नेको संख्या बढी

१९ असार, काठमाडौं । ब्राजिलको लोकप्रिय बार–रेष्टुरेन्ट बेलो होरिजोन्टेका म्यानेजर डिएगो सान्तोष टीभीमा आवाज बन्द गरेर कोपा अमेरिका फुटबल हेरिरहेका छन् ।

यसपटक कोपा अमेरिकाप्रति मानिसहरुको खासै रुचि नभएको उनले सुनाए । जबकी विश्वकै सबभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको कोपा अमेरिका ब्राजिलमा चलिरहेको छ ।

त्यहीबेला टीभीमा चलिरहेको खेलमा ब्राजिलले गोल गर्छ । सान्तोष गोल हो भनेर पुष्टि गर्न चारैतिर हेर्छन् । तर खुसी मनाउनु त परको कुरा, खेलमा कसैले ध्यानै दिएका थिएनन् ।

मानिसहरुमा कोपा अमेरिकाप्रतिको चासो घट्नुको अर्को कारण खेल प्रसारणको अधिकारदेखि चर्चित पहेंलो फुटबल जर्सीसम्ममा देखिएको अत्याधिक राजनीति पनि हो

ब्राजिलमा कोपा अमेरिकाबारे चासो नहुनु नौलो कुरा हो । यो आधुनिक बार–रेष्टुरेन्ट काभेर्नस मिनेइराओ नजिकै छ । काभेर्नस मिनेइराओ सन् २०१४ मा ब्राजिलले जर्मनीसँग बिर्सन नसकिने गरी ७–१ को हार व्यहोरेको चर्चित स्टेडियम हो ।

पम्पुल्हा तालको किनारामा अवस्थित बेलो होरिजोन्टे टीभीमा फुटबल हेर्न निकै उपयुक्त स्थान हो । यो ठाउँमा दुई वर्षअघि ब्राजिलले कोपा अमेरिकाको उपाधि जित्दा ठूलो भिड लागेको थियो । यसपटक भने यो ठाउँको चहलपहल शून्य छ । ‘दुई वर्षअघि त यो ठाउँ भव्य थियो’, सान्तोषले भने ।

आफ्नो टोलीको समर्थनमा आएका मानिसहरुको लाइन व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गर्नुपरेको सान्तोषले देखेका थिए । ‘यसपटक भने अहिलेसम्म कसैले पनि हामीले खेल हेर्न आएको हौं भनेर भनेको छैन । कसैलाई मतलब छैन । धेरै मानिसहरुले राष्ट्रिय टोलीको भन्दा पनि स्थानीय क्लबको जर्सी लगाएका छन् र मैले कोपा अमेरिका भन्दा पनि युरोकप प्रसारण गर्न आग्रह गर्ने धेरै भेटेको छु’, सान्तोषले थपे ।

प्रार्थनाभन्दा धेरै उदासीनता

मानिसहरुमा यो प्रतियोगिताप्रतिको आकर्षण कम हुनुको एक स्वाभाविक कारण कोरोना भाइरस (कोभिड–१९) को महामारी हो ।

अहिलेसम्म एक करोड ८५ लाखभन्दा धेरै संक्रमित भइसकेको ब्राजिलमा ५ लाख १८ ६६ जनाले ज्यान गुमाएका छन् । ब्राजिल कोरोना संक्रमणको कारण अमेरिकापछि सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

कोरोना खोप अभियानमा ढिलाई हुनु र जनस्वास्थ्यका मापदण्ड पालना गराउन सरकारले देखााएको अनिच्छा देखाएको कारण ब्राजिलमा प्रत्येक दिन अन्य मुलुकको भन्दा धेरै मानिसको संक्रमणको कारण मृत्यु भइरहेको छ ।

यद्यपि मानिसहरुले कोपा अमेरिकामा चासो नदेखाउनुको कारण कोरोना महामारी मात्र भने होइन । मानिसहरुमा कोपा अमेरिकाप्रतिको चासो घट्नुको अर्को कारण खेल प्रसारणको अधिकारदेखि चर्चित पहेंलो फुटबल जर्सीसम्ममा देखिएको अत्याधिक राजनीति पनि हो ।

साथै ब्राजिलमा अहिले चलिरहेको स्थानीय लिग र युरोपमा भइरहेको युरोकपमा धेरैको आकर्षण छ ।

कोपा अमेरिकाको महत्व पनि फिका हुन थालेको देखिएको छ । युरोकप सन् २०१६ पछि पहिलोपटक आयोजना भएको हो भने सन् २०१५ यताको अहिले भइरहेको कोपा अमेरिका चौथो हो ।

यी सबै कारणले कोपा अमेरिकाप्रति ब्राजिलका समर्थकमा आफ्नो टोलीको लागि प्रार्थनाभन्दा पनि उदासीनता धेरै देखिएको छ । यसपटकको कोपा अमेरिकाको पहिलो खेलमा ब्राजिललले भेनेजुयलालाई ३–० ले हरायो । तर, यसपटकको खेलमा स्टेडियममा दर्शक भने उपस्थित थिएनन् । कोपा अमेरिकाको त्यसयताको कुनै पनि खेलमा दर्शक उपस्थित छैनन् । पहिलो खेलमा घरमै बसेर टेलिभिजनमा खेल हेर्नेको संख्या पनि यो प्रतियोगिताको इतिहासकै सबैभन्दा कम रह्यो । त्यसयता भने प्रतियोगिता हेर्नेको संख्या बढ्दो छ ।

‘कोरोना एकमात्र कारण हो भन्नु असम्भव छ’, एक सुरक्षाकर्मी क्रिस्टियानो फेरेइरा बताउँछन् ।

उनी बेलो होरिजोन्टबाट २५ किलोमिटर टाढा रहेको बेलेममा बस्छन् । ‘यस वर्षको सुरुआतमा हामीसँग ठूलो स्वास्थ्य समस्या थियो तर अहिले सहरको अवस्था शान्त भएको छ ।  अहिले धेरै मानिसहरु बाहिर निस्किएका छन् र मापदण्डहरु हटेको छ । अहिले करिब सामान्य जस्तै अवस्था छ । मानिसहरु फुटबल मन पराउँछन्, त्यसैले उनीहरुले अहिले स्थानीय रेमो र पेस्यान्डुको विषयमा कुराकानी गरिरहेका हुन्छन् । तर, मैले ब्राजिल र कोपा अमेरिकाको विषयमा भने उनीहरुले कुराकानी गरेको सुनेको छैन’, फेरेइराले भने ।

परम्परागत रुपमा विशेषगरी विश्वकपको बेलामा ब्राजिलका सडकमा झण्डासहित रङरोगन देखिन्थ्यो । कारहरुमा पनि राष्ट्रिय झण्डा राखिन्थ्यो भने सबैजसो मानिसहरुले ब्राजिलको टोलीको जर्सी लगाएका हुन्थे ।

यद्यपि पँहेलो जर्सी ब्राजिलका ध्रुवीकरणलाई बढावा दिने राष्ट्रपति जेयर बोल्सोनारोसँग जोडिएकाले धेरैले लगाएनन् भनेर मान्ने हो भने पनि ब्राजिलमा प्रमुख फुटबल प्रतियोगिता आयोजना भइरहेको छ भन्ने झल्को दिने खासै केही पनि देखिँदैन ।

‘बेलेममा साना झण्डाहरुले सडक ढाकिनु र सबै मानिसहरुले जर्सी लगाउनु सामान्य हुन्थ्यो’, फेरेइराले थपे, ‘यति मात्र होइन, बारहरुमा पनि ठूलो स्क्रिन राखेर फुटबल खेल देखाउनु सामान्य थियो तर यस वर्ष भने मैले त्यस्तो देखेको छैन । मानिसहरुमा खासै चासो देखिँदैन ।’

भद्दा ठट्टा

यसपटकको कोपा अमेरिका प्रतियोगिता सबैभन्दा पहिला कोलम्बियामा आयोजना गर्ने तय भएको थियो । तर, आन्तरिक अस्थिरताको कारण हुन नसकेपछि अर्जेन्टिनामा प्रस्ताव गरिएको थियो । अर्जेन्टिनामा कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले यो अवसर ब्राजिल र पेरुले पाए ।

२८ खेलको यो प्रतियोगितालाई ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले मुलुकका विशेषज्ञहरुले सुझाएविपरीत जनस्वास्थ्यका मापदण्ड पालना गर्न नपर्ने नियम ल्याउने मौकाको रुपमा लिए । तर, यसको व्यापक विरोध भयो । केही बहुराष्ट्रिय कम्पनीले प्रायोजन फिर्ता लिए र विपक्षी राजनीतिज्ञहरुले यसलाई ‘मृत्युको परियोजना’ को संज्ञा दिए ।

सन् १९८६ मा ब्राजिलको टोलीबाट विश्वकपमा सहभागी भएका वाल्टर कासग्रान्डेले राष्ट्रपतिमाथि नरसंहारको आरोप लगाए । यहाँसम्म कि ब्राजिलको राष्ट्रिय टोलीले नै यो प्रतियोगितामा भाग नलिन सक्ने चेतावनी दिएको थियो ।

यद्यपि यो प्रतियोगिताको आयोजक क्षेत्रीय फुटबल संगठन कोनमेबोलले प्रतियोगितामा सहभागी हुने १० ओटै टोलीका ६५ जना प्रतिनिधिलाई कोरोना खोप लगाउने प्रतिबद्धता गरेको थियो । यद्यपि यो प्रतियोगितामा सहभागी धेरै मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका साथै कोनमेबोलले अहिलेसम्म प्रतियोगिताका १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ, जसमा ११५ प्रतियोगिताका सेवाका कर्मचारी छन् भने ३१ जना टोलीका कर्मचारी छन् । १७ जना खेलाडी र तीन आयोजकहरुमा पनि कोरोना संक्रमण  देखिएको छ ।

यस विषयमा ब्राजिलका खेलाडीहरुले मुख खोलेनन्, तर बोलिभियाका मार्सेलो मोरेनो भने चुप बसेनन् । कोरोना संक्रमण पुष्टि भएपछि उनले आफ्नो आक्रोश सामाजिक सञ्जाल इन्स्टाग्राममा व्यक्त गर्दै लेखे, कोनमेबोललाई यसका लागि धन्यवाद  । यो सबै तपाईंहरुको गल्ती हो । यदि कसैको मृत्यु हुन्छ भने तपाईंहरु के गर्नुहुन्छ ? तपाईंहरुलाई केही कुराको मतलब छ भने त्यो पैसा मात्र हो । के कुनै खेलाडीको जीवनको कुनै मूल्य छैन ?

यो स्टाटसको विषयमा उनले पछि माफी मागे र यसको लागि आफ्ना प्रेस अधिकारीलाई दोष दिए । तर, त्यतिबेलासम्म उनलाई एक खेलमा प्रतिबन्ध र २० हजार डलर जरीवाना लागिसकेको थियो । ‘महामारीको बीचमा यो प्रतियोगिता हुनु बेकारको काम हो’, रियो दि जेनेरियोका एक शारीरिक अभ्यासका शिक्षक एन्ड्रेयो माचादो बताउँछन्, ‘यो प्रतियोगितामा कोरोना र यसको भेरियन्टको संक्रमण नियन्त्रणका लागि आवश्यक जनस्वाथ्यको पालना राम्रोसँग भएको छैन । अझै पनि फाइनल खेलका लागि अनुमति दिने छलफल हुँदैछ । यो मानिसको जनस्वास्थ्यमा गरिएको भद्दा मजाक हो ।’

फुटबलभन्दा धार्मिक सिरियल हेर्नेको संख्या बढी

अहिले जारी प्रतियोगिताका सञ्चालन हुनका लागि तोकिएको पाँचमध्ये दुई स्थान रियो दि जेनेरियो सहरमा छ । अन्य केही सहरले यो प्रतियोगिताको आयोजनाको लागि अस्वीकार गरेसँगै रियो दि जेनेरियोको दुई स्टेडियम तोकिएको हो । यसमध्येको एउटा मानुस सहर पनि हो ।

जंगलको बीचमा रहेको यो सहर गत वर्ष ठूलो संख्यामा चिहान खन्ने पहिलो सहर हो । ६ महिनाअघि मात्र यो सहरमा अक्सिजनको आपूर्तिको अभावको कारण आपतकालीन अवस्था सिर्जना भएको थियो । यस विषयमा यो सहरले संसदीय सुनावाईको पनि सामना गरेको थियो ।

अमेजन जंगलको केन्द्रमा रहेको यो सहरमा कोपा अमेरिकाको सम्भावित केही खेल हुन सक्ने प्रस्ताव गर्दा सहरका मेयर डेभिड अलमेइडाले घोषणा गरेका थिए, ‘यो उत्सव मनाउने बेला होइन, खोप लगाउने बेला हो ।’

मानुस सहरमा ट्याक्सी चलाउँदै आएका रोनी ब्रासिल भने यो सहर पछिल्लो केही सातामा सामान्य अवस्थामा फर्किएको बताउँछन् । गत साता ब्राजिलले कोलम्बियासँग खेल्दा उनी स्थानीय बारमा आफ्ना साथीहरु भेट्न गएका थिए । तर, उनीहरुले त्यहाँ ब्राजिलको खेल हेर्ने समर्थक खासै देखेनन् । उनका अनुसार बारमा उनीहरु क्लबको खेल हेर्न गएका थिए । त्यतिबेला आठओटा टेबलमा भरिभराउ मानिसहरु थिए तर उक्त खेल सकिएर ब्राजिलको खेल सुरु हुँदा भने केवल चारओटा टेबलका मानिसहरु मात्र बाँकी रहे ।

‘यहाँ कम्तीमा मानुस सहरमा कोपा अमेरिकामा मानिसहरुको खासै ध्यान छैन । यो खासै प्रतिस्पर्धात्मक पनि बन्न सकेको छैन । यो प्रतियोगिता युरोपको जस्तो छैन, जहाँ धेरै निकै राम्रो टोलीहरु छन् । हामीसँग त केवल ब्रजिल, अर्जेन्टिना र अलिअलि उरुग्वे मात्र छन्’, ब्रासिलले भने ।

समूह चरणमा पेरुलाई ब्राजिलले ४–० ले हराउँदा उक्त खेल हेर्ने दर्शकभन्दा धार्मिक सिरियल हेर्ने दर्शकको संख्या दोब्बर थियो । विभिन्न तथ्यांकलाई आधार मान्ने हो भने सन् २०१९ को तुलनामा यस वर्ष करिब ६० प्रतिशत दर्शन घटेका छन् ।

यद्यपि अहिले ब्राजिलमा समर्थकको इच्छा निकै कम देखिए पनि ब्राजिल फाइनलमा पुगेको अवस्थामा भने कोपा अमेरिका हेर्ने मानिसको संख्या पनि उल्लेख्यरुपमा बढ्ने स्थानीयहरुको बुझाइ छ ।

अहिले ब्राजिल र अमेरिका आ–आफ्नो समूहको पहिलो टोली बनेकाले अब उनीहरुको भेट फाइनलमा मात्र हुन सक्छ । ब्राजिल शनिबार बिहान भएको खेलमा चिलीलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ । आइतबार क्वार्टरफाइनलको खेलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ ।

‘मानिसहरुले अहिलेको खेल मात्र बेवास्ता गरेका हुन्, यदि ब्राजिल फाइनल पुग्यो भने फेरि समर्थकहरु देखिन थाल्नेछन्’, रेष्टुरेन्ट बारका म्यानेजर सान्तोष भन्छन्, ‘फाइनल अर्जेन्टिनाविरुद्ध नै हुने हो भने मानिसहरु अवश्य पनि आफ्नो पुरानो पँहेलो जसी खोजेर सडकमा देखिनेछन्् र खेल हेर्न आउनेछन् ।’

अलजाजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment