Comments Add Comment

अन्योलमा साफ च्याम्पियनसिप : कोभिड-१९ र प्रायोजक मुख्य चुनौती

१९ असार, काठमाडौं । सन् २०२० को सेप्टेम्बरमा बंगलादेशमा आयोजना हुने तय भएको साफ च्याम्पियनसिप अझै अन्योलमा छ ।

२०२० को जुन ३ मा कोभिड-१९ का कारण देखाउँदै साफ च्याम्पियनसिप सन् २०२१ का लागि सारिएको थियो । साफ कार्यकारी समितिको बैठकले २०२१ सेप्टेम्बर १४ देखि २४ सम्म साफको नयाँ मिति पनि तोकेको थियो ।

तर प्रतियोगिता आउन दुई महिना र केही दिन बाँकी रहँदा भने १३ औं संस्करणको साफ च्याम्पियनसिप हुने वा नहुने अन्योल छ । कोभिड-१९ महामारी र मुख्य प्रायोजक नै साफ च्याम्पियनसिपको मुख्य चुनौतीको रुपमा देखिएको छ ।

भुटानले यसवर्षको साफ च्याम्पियनसिप नखेल्ने जनाइसकेको छ भने पाकिस्तानमाथि प्रतिबन्ध छ । त्यसैले यसपटक साफ च्याम्पियनसिप भए नेपालसँगै भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले मात्र प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

बिहीबार बसेको साफ सदस्य राष्ट्रहरुको भर्चुअल बैठकले प्रतियोगिता आयोजनाबारे निर्णय गर्ने अवधि दुई साता थपेको छ । ‘बैठकले प्रतियोगिताबारे निर्णय गर्न दुई साताको समय तोकेको छ । अब च्याम्पियनसिप आयोजना भए फिफा विन्डोभित्रै अर्थात अगष्ट ३१ देखि सेप्टेम्बर ७ सम्म गर्नुपर्नेछ । त्यसबाहेक अरु समयमा सम्भव छैन’ साफका महासचिव अनवरुल हक हेलालले अनलाइनखबरसँग भने ।

उनले केही सदस्य राष्ट्रमा लिग सुरु हुन लागेकाले सेप्टेम्बर पहिलो सातामै साफ च्याम्पियनसिप गर्नुपर्ने बाध्यता भएको बताए ।

भुटानले यसवर्षको साफ च्याम्पियनसिप नखेल्ने जनाइसकेको छ भने पाकिस्तानमाथि प्रतिबन्ध छ । त्यसैले यसपटक साफ च्याम्पियनसिप भए नेपालसँगै भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले मात्र प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

हेलालले साफ च्याम्पियनसिपका लागि मुख्य तीनवटा चुनौती उल्लेख गरे । पहिलो, साफ सदस्य राष्ट्रहरुको कोभिड-१९ को अवस्था । दोस्रो,  प्रतियोगिता सञ्चालन हुने स्थान । उनका अनुसार बंगलादेशको राजधानी ढाकामा प्रतियोगिता गर्ने अवस्था छैन र चित्तगोङ वा सिलेटमा सार्नुपर्ने अवस्था छ । तेस्रो, प्रायोजकको समस्या ।

यसअघि सुजुकीले साफ च्याम्पियनसिपलाई प्रायोजन गर्दै आएको थियो । तर गतवर्ष प्रतियोगिता हुन नसकेपछि सुजुकीसंगको सम्झौता पनि सकिएको हेलालले बताए । अब साफ आयोजना गर्न नयाँ प्रायोजक खोज्नुपर्नेछ ।

‘गत वर्ष हामीलाई सरकारले पनि सहयोग गर्ने बताएको थियो । यस पटक सरकारको प्राथमिकता कोभिड-१९ मा छ । त्यसैले यसपटक सरकारको सहयोग पनि नहुने भयो । प्रायोजक पाउन पनि सजिलो छैन’  हेलालले भने ।

उनले प्रायोजक खोज्नका लागि धेरै ढिला भइसकेको समेत बताए । ‘अब दुई साताको समय छ । त्यसमा खोज्न प्रयास गर्नेछौँ । कुनै सदस्य राष्ट्रले प्रायोजक खोजेर आयोजना गर्न तयार हुन्छ भने त्यसका लागि हामी पनि तयार छौँ’ हेलालले भने ।

यस्तै कोभिड महामारीका कारण ढाकामा खेल सञ्चालन गर्न पनि सम्भव नभएको हेलालले बताए । ‘ढाकामा सम्भव नभएपछि हामी अन्य दुई भेन्युमा सिफ्ट गर्नुपर्ने हुन्छ’ हेलालले भने ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि साफ च्याम्पियनसिपको बारेमा समयमै निर्णय हुन नसक्दा अन्योल बढेको बताए । ‘कोभिड-१९ को अवस्था छ भन्ने थाहा हुँदाहुँदै पनि साफले किन समयमा निर्णय गर्न सकेन’ शेर्पाले प्रश्न गरे, ‘अहिले युरो भइरहेको छ । संसारमा खेलकुद चलिरहेको छ । बिना दर्शक भएपनि गर्नुपर्ने हुन्छ ।’

एन्फा अध्यक्ष शेर्पाले साफ च्याम्पियसिप नहुनु साफ फुटबल समितो व्यवस्थापन असफल हुनु भएको बताए । ‘हामीलाई साफले आर्थिक सहयोग गर्छ भने हामी च्याम्पियनसिप गर्न तयार छौँ । कम्तीमा साफले सहभागी टिमको खाने र बस्ने सहयोग गरेमा एन्फा तयार छ’ उनले भने ।

साफ च्याम्पियनसिपको तयारीकै लागि नेपालका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाइसकेका छन् । जुलाई १ देखि सुरु गर्ने भनिएको प्रशिक्षणका लागि केही खेलाडी र अफिसियलमा कोरोना संक्रमण देखिएपछि एक साता पछि सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment