Comments Add Comment

चीनको सुन्‍ने नीति : हाम्रो थुन्‍ने नीति

अस्ति १ जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टीले शतवार्षिकी मनायो । खासमा यो चिनियाँ कम्युनिष्ट पार्टीको जन्मोत्सव हो । तर यो पूरा चीन राष्ट्रको जन्मोत्सव जसरी मनाइन्छ । यस्तो लाग्छ-चिनियाँ कम्युनिष्ट पार्टी नै सिंगो चीन हो, या सिंगो चीन नै चिनियाँ कम्युनिष्ट पार्टी हो । यो पार्टी यहाँसम्म आइपुग्न विरोधीमाथि डोजर गुडाएकोदेखि भटटट गोली ठोकेको सम्म सुन्नुभयो होला ।

सन् २०१० को नोबेल पुरस्कार विजेता मानव अधिकारवादी लेखक लिउ जियाबो पुरस्कार थाप्न पनि जान नपाएको, मृत्यु अगाडि अन्तिम समयसम्म जेलमा नै थुनिएको अनि उनी मरेपछि उनकी श्रीमतीलाई नजरबन्द गरी श्रीमान्को लाससम्म हेर्न नदिएको सुन्नुभएकै होला । त्यो बाहेक कम्युनिष्ट पार्टी र सरकारप्रति फरक विचार राख्ने सर्वसाधारण जनतालाई चाहिं के गरिन्छ चीनमा ? एउटा अनुभव बाँड्न मन लाग्यो ।

करीब चार वर्ष अमेरिकामा आईटी पढेर फर्केको हङकङको लोकल साथी (मेरो पूर्व ‘रुममेट’) गोन्झाउको एउटा ठूलो कम्पनीमा आईटी सेकेन्ड हेडको रूपमा काम गर्न थाल्यो । आजभन्दा करीब साढे दुई वर्षअघि हरेक दिन झैं ऊ हङकङबाट ट्रेनमा जाँदैथियो । ट्रेन खचाखच भरिएको थियो । ऊ उभिएर सदाझैं भिपिएन खोल्यो । अन्यथा अमेरिकी एपहरू (फेसबुक, इन्स्टाग्राम, ट्वीटर, गुगल आदि) चीनमा चल्दैनन् ।

ऊ कसैसँग च्याट गर्दै थियो । उसलाई एउटा सुन्दर युवा जोडीले अभिवादन गरेर ‘याम छा’ को निम्तो दिए । चिनियाँहरू आफ्ना आफन्त, साथीभाइ भेटघाट गर्न पर्‍यो भने दिउँसोको २ देखि ६ बजे बीचको समयमा चिया खाने रेस्टुरेन्टमा भेट्न रुचाउँछन् ।

अचम्मको कुरा के छ भने २ बजे अगाडि त्यही रेस्टुरेन्टमा त्यही खानाको मूल्य भन्दा २ देखि ६ को बीचमा केही सस्तो हुन्छ । यसै खाना र खाजालाई उनीहरू ‘याम छा’ भन्छन्, जुन उनीहरूको विशेष अवसर पनि हो ।

ऊ चलाख मान्छे, उनीहरूलाई चिनिहाल्यो । अनि नकार्ने कुरै आएन । भेट्ने रेस्टुरेन्टको विस्तृत विवरण लियो । अनि अफिसमा पुगेर मोबाइलमा भएका केही फोटो, भिडियो डिलिट गर्‍यो । मुख्यगरी हङकङमा प्रजातन्त्रका लागि भएका आन्दोलनहरू प्रायः सबैमा उसको सहभागिता हुन्थ्यो । ती सबैजसो रेकर्ड डिलिट गरेर ऊ ‘याम छा’ को लागि ठीक २ बजे त्यहाँ पुग्यो ।

अघिको सुन्दर जोडी त्यहाँ पहिल्यै पुगेर उसले खाने कप, चपस्टिक र कचौरा सफा गरिसकेका थिए । यस्ता रेस्टुरेन्टले ग्राहकलाई आफूले खाने भाँडा आफैं धुनको लागि पानी र पानी फाल्ने भाँडो टेबुलमा नै दिने गर्छन् ।

उनीहरू सँगै खाँदै गए । उसको परिवार, पढाइ, काम आदिको बारेमा सोधेपछि आफूसँग ल्याएको ट्याब्लेटमा चिनियाँ कम्युनिष्ट पार्टी र सरकार प्रमुख सी जिन पिङले देशलाई कसरी माथि उठाएको, शत्रुको बारम्बारको आक्रमण विफल पारेको, अमेरिका, भारत र युरोपियन मुलुकहरू मिलेर चीनमाथि गरेको व्यापारिक, राजनीतिक षड्यन्त्र, मोबाइल टेक्नोलोजीमा नम्बर १ भएको हुवावेलाई अमेरिकाले गिराएको आदि विषयमा उसलाई सप्रमाण बताए ।

बेलाबेलामा उसको कपमा आफैं चिया हाल्दिने रहेछन् । करीब साढे तीन घण्टा त्यहाँ रहँदा उसले धेरै ज्ञान लिएछ । अमेरिकी ब्रान्डहरू कोकाकोला, एप्पल आदिको अहिले पनि मुख्य खपत गर्ने मुलुक चीनले बनाएका कुनै ब्रान्डदेखि एपसम्मलाई अमेरिकाले बढ्नै नदिने र एकपछि अर्को बहाना बनाउँदै बन्दै गराउन खोज्ने नीति उसलाई पनि अनुचित लागेछ । उसको दिमागमा परेछ– ‘यो चाहिं अमेरिकाले ठीक गरेन ।’

याम छा लगत्तै मुस्कानसहित अभिवादन गरेर उसलाई बिदाइ गरिएछ । उसको मोबाइल पनि हेरिएनछ । तर त्यो साढे ३ घण्टामा उसको पूरै ब्रेन वास गरिएछ । उसले चार वर्ष अमेरिका बस्दा नदेखेको अमेरिकाको त्यो रूप साढे तीन घण्टाको ‘याम छा’ मा छर्लङ्ग देखेछ ।

साथै, उसले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारले गरेको संघर्ष र पाएको उपलब्धि देखेछ । भोकमरी चल्ने गाउँलाई ‘एक्सपोर्ट गर्ने शहर’ मा रूपान्तरण गरेको सी जिन पिङको दिमाग देखेछ ।

केही समय अगाडि उसँग कुरा भएको थियो । भन्दै थियो– ‘अमेरिकाले पनि चिनियाँ एप टिकटक बन्द गर्‍यो । हुवावेलाई पूरै ध्वस्त गर्दियो । संसारको सबैभन्दा धेरै डिभाइस उत्पादन गर्ने हुवावेले अहिले वैकल्पिक व्यवसायको रूपमा बंगुरपालन शुरू गरेको छ । अमेरिकाले यो चाहिं ठीक गरेन ।’

मैले पत्याइनँ र अनलाइन ‘सर्च’ गरें । साँच्चै नै रहेछ ।

उनले अरू अनुभव पनि बतायो । कहिलेकाहीं उसले ट्रेनमा त्यस्तै ‘योङ कपल’ देख्छ, अनि उसले महसुस गरेछ– ‘मलाई धेरैपल्टको निगरानीपछि मात्र याम छाको निम्तो दिइएको रहेछ ।’

पक्कै पनि उसलाई त्यही ‘याम छा’को याद आउँदो हो, जसले उसको दिमागमा पूरा ‘यू टर्न’ गरायो ।

मैले पनि हाम्रो विशाल कम्युनिष्ट पार्टी सम्झिएँ । फरक विचार राख्ने रामकुमारी झाँक्रीहरू थुनेको सम्झिएँ । महेश बस्नेतसँग जोडिएको ‘सांसद अपहरण’को बारेमा फेसबुकमा लेख्नेलाई थुनेको सम्झिएँ । विरोधी रवि लामिछाने, भीम उपाध्याय हुँदै अहिले भर्खर ज्वाला सङ्ग्रौलासम्मलाई थुनेको सम्झिएँ ।

अनि दोस्रो पुस्ताका नेताहरू महेश बस्नेत, आफ्नै भेगका राजीव पहारी, रश्मि आचार्यसम्मका नेताहरूको फेसबुक पेज खोलें, उनीहरूले कुरा सुने पनि नसुने पनि उनीहरूको पोस्टको कमेन्टमा लेख्नसम्म मिल्ने रहेछ, खुसी लाग्यो । अनि तेस्रो पुस्ताका विद्यार्थी युवा नेताहरूको पेज खोजें ।

पोखरा पीएन क्याम्पसका आफ्नै क्लासमेट नरेश रोकाया, मकवानपुरका युवा नेता सन्तोष पौडेल आदि । अहँ भेटिएन । अहो ! उनीहरूले त ब्लक गरिरहेछन् । फरक विचार राख्नेलाई उता ‘बा’ले झ्यालखानामा थुन्दैछन्, ‘यता छोरा’हरूले फेसबुकमा थुनिसकेछन् ।

(पोखराका अधिकारी हाल अमेरिकामा छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment