Comments Add Comment

साउन ८ भित्र आइसक्ने छ सवा २४ लाख डोज कोरोना खोप

२० असार, काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै आइसक्ने भएको छ ।

पहिलो खेप खोप असार २५ गते काठमाडौं आइपुग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे सिनोफार्मसँग सम्झौता भएको १८ असारमा बताएको थियो ।

तर ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ भएको भन्दै थप विवरण खुलाउन मानेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले आइतबार खोप आपूर्तिका लागि हुने तीन वटा फ्लाइटको तालिका नै सार्वजनिक गरेका छन् ।

जसका अनुसार खोप आपूर्तिका लागि असार २४ गते गएर २५ गते फर्किनेछ। यस्तै असार ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किनेछ । तेस्रो तथा अन्तिम खेप लिन साउन ७  गते जाने विमान भोलि ८ गते फर्किनेछ ।

स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ । यसअनुसार तीन खेलमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ ।

बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई फ्लाइट हुनेछ । त्यसको लागि फ्लाइटको मिति तय भएको छैन ।

‘४० लाख खोप खरिदको सम्झौता भएको हो, सबै खोप छिट्टै आइसक्छ’ भट्टराईले अनलाइनखबरसँग भनेका छन् । दुई सरकारबीच ‘नन डिस्क्लोजेवल एग्रिमेन्ट’ भएकाले थप बताउन नसक्ने उनले बताए ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने २४ गतेदेखि खोप आउने बाहेक अरु जानकारी नभएको बताए । ‘कति परिमाणमा खोप आउँछ भन्ने जानकारी मन्त्रालयलाई छैन । असार २४ देखि पटक-पटक गरेर खोप आउने भन्ने जानकारी मात्रै मन्त्रालयलाई छ’ उनले भने ।

अन्यत्रबाट पनि खोप आउँदैछ ?

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर तारानाथ पोखरेलका अनुसार कोभ्याक्समार्फत बढीमा १५ लाख डोज खोप पाउने अपेक्षा छ । ‘कोभ्याक्समार्फत न्यूनत्तम ३ लाख ५० हजार डोज खोप प्राप्त हुनुपर्ने हो । तर हामीले योभन्दा अधिकत्तम खोप प्राप्त गर्ने अपेक्षा राखेका छौं । त्यही अनुसार समन्वय भइरहेको छ’ डा पोखरेल भन्छन् ।

यसअघि कोभ्याक्समार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले अमेरिकी खोप उत्पादक कम्पनीहरु पनि खरिदको प्रस्ताव राखेको थियो । मन्त्रालयले जोन्सन एण्ड जोन्सन -जेएण्डजे) सँग ५० लाख र मोडेर्नासँग २० लाख डोज कोरोना खोप खरिदको मनसायसहित प्रस्ताव गरेको थियो ।

तर सन् २०२२ अघि नेपाललाई कोभिड-१९ विरुद्धको खोप आपूर्ति गर्न नसक्ने बताएका छन् ।

अमेरिकास्थित नेपाली दूतावासको समन्वयमा स्वास्थ्य मन्त्रालय र खोप उत्पादक कम्पनीका प्रतिनिधिबीच भएको भर्चुअल बैठकमा खोप उत्पादक कम्पनीका प्रतिनिधिहरुले यस्तो बताएको दूतावासको वेबसाइटमा उल्लेख छ ।

जेएण्डजेका प्रतिनिधिले सन् २०२२ अघि कुनै पनि कोरोना खोप खरिद सम्झौतामा हस्ताक्षर गर्न नसक्ने जवाफ फर्काएका थिए । मन्त्रालयले नेपालमा महामारीको अवस्थालाई ध्यानमा राख्दै सीमित र चरणबद्धरुपमा खोप पठाउन प्रस्ताव गरेको भए पनि जेएण्डजेका प्रतिनिधिले यो प्रस्ताव कम्पनीको नेतृत्वतहमा पुर्‍याउने आश्वासन दिएका थिए ।

यस्तै मोडेर्नाका प्रतिनिधिले पनि आगामी वर्षसम्म कम्पनी व्यावसायिक रुपमा खोप आपूर्ति गर्न सक्ने अवस्थामा नरहेको प्रतिक्रिया दिएका थिए ।

सरकारी अधिकारीहरुका अनुसार हालै मात्र तेस्रो चरणको क्लिनिकल परीक्षण सकेर एफडीएबाट अनुमति पाउने प्रतीक्षा गरिरहेको नोभाभ्याक्सले पनि हालसालै नेपाललाई खोप उपलब्ध गराउन नसक्ने बताएको छ ।

नेपालले हालसम्म चीनबाट अनुदानमा १८ लाख, भारतबाट अनुदानमा ११ लाख, खरिद प्रक्रियाबाट १० लाख र कोभ्याक्स कार्यक्रम मार्फत ३ लाख ४८ हजार गरी कुल ४२ लाख ८ हजार डोज प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment