Comments Add Comment

राजमार्गको पहिरोले काठमाडौंको आपूर्तिमा असर

व्यवसायी भन्छन् : पर्याप्त मौज्दात छ, अभाव हुँदैन

२१ असार, काठमाडौं । नारायणगढ-मुग्लिन सडक पहिरोका कारण दिनैपिच्छे अवरुद्ध हुन थालेपछि त्यसको असर राजधानी काठमाडौंको आपूर्ति व्यवस्थामा परेको छ ।

मालबाहक सवारी साधन पहिरोका कारण दुई तीन दिनसम्म बाटोमै रोकिन थालेपछि खाद्यान्न, तरकारी, फलफूल, पेट्रोलियम पदार्थलगायतका वस्तुको आपूर्तिमा ढिलाइ हुन थालेको छ ।

वषर्ायाम शुरु भएपछि चितवनको नारायणगढदेखि मुग्लिन जोड्ने सडक र पृथ्वी राजमार्गको धेरै क्षेत्रमा पहिरो जानु सामान्य घटना हो । पहिरोले सडक अवरुद्ध हुँदा धेरै सवारी साधन सडकमै रोकिन्छन्, अवरुद्ध सडक खुलाउन केही घण्टादेखि २/ ३ दिनसम्म लाग्ने गरेको छ । यसले ढुवानीमा ठूलो समस्या पार्ने गरेको छ ।

गत शुक्रबार मुग्लिन नारायणगढ सडक अवरुद्ध हुँदा काठमाडौंको आपूर्ति व्यवस्थामा असर परेको थियो । यस्ता असर वषर्ायामभरि रहने ढुवानीकर्ता व्यवसायीहरु बताउँछन् ।

पेट्रोलियम ढुवानी आधा घट्यो

मुग्लिन नारायणगढ सडक काठमाडौंमा सामान ढुवानी गर्ने प्रमुख सडक हो । यो सडक पहिरोले अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको आपूर्तिमा असर परेको वाग्मती प्रादेशिक डिपो कार्यालय थानकोटले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक २५ देखि ३० ट्यांकर पेट्रोल र ३० देखि ३५ ट्यांकर डिजेल थानकोट आइपुग्नेमा केही दिनयता आधामा झरेको डिपोका वरिष्ठ सहायक कपिल भट्टले बताए ।

आइतबार डिपोमा १५ ट्यांकर पेट्रोल र १७ ट्यांकर डिजेल भित्रिएको थियो । शुक्रबार, शनिबार र आइतबार ढुवानीमा निरन्तर अवरोध भएको र सोमबार भने केही सुधार भएको उनको भनाइ छ ।

पर्याप्त इन्धन मौज्दात भएको र बजारमा माग कम भएका कारण अभाव भने हुन नपाएको डिपो प्रमुख अभिषेक ठाकुरले बताए । पहिरोका कारण चालक तथा सहचालकहरुले बाटोमा निकै दुःख पाएको उनको भनाइ छ ।

थानकोट डिपोमा ६० लाख ७० हजार लिटर पेट्रोल, ८४ लाख लिटर डिजेल र ७ लाख ६० हजार लिटर मटि्टतेल भण्डारण गर्न सकिन्छ । उक्त मौज्दातले उपत्यकाको पेट्रोलको १० दिन र डिजेलको २० दिनको माग धान्ने डिपोले जनाएको छ । हाल भण्डारण क्षमताको ८५ प्रतिशत मौज्दात रहेकाले अभाव भने नहुने डिपो प्रमुख ठाकुरले बताए ।

तरकारी घट्यो

नारायणगढ मुग्लिन सडक अवरोधका कारण चितवन, तराइका जिल्ला र भारतबाट आउने तरकारी तथा फलफूल आपूर्तिमा अवरोध भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । पहिरोकै कारण केही दिनदेखि काठमाडौं भित्रिने तरकारीको मात्रा झण्डै दुई सय मेटि्रक टनले घटेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

दैनिक ६ सयदेखि साढे ७ सय मेटि्रक टन तकारी भित्रिनुपर्नेमा चार सय मेटि्रक टनमा झरेको उनले बताए । पहिरोले सडक अवरुद्ध भएपछि हरियो तरकारी बोकेको ट्रक तीन-चार दिनसम्म बाटोमै रोकिएको र धेरै तरकारी कुहिएको ब्यापारीहरुले बताएका छन् । जसले गर्दा मौसमी हरियो तरकारी सिमी, बोडी, लौकालगायतको मूल्य बढेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । मुग्लिनमा पहिरोकै कारण बजारमा जिउँदो माछाको आपूर्ति घटेको राष्ट्रिय माछा मासु बिक्री व्यवसायी संघले जनाएको छ ।

खाद्यान्न आपूर्तिमा ढिलाइ

राजमार्गको अवरोधले उपत्यकामा हुने खाद्यान्न आपूर्तिमा ढिलाइ भएको नेपाल किराना व्यवसायी संघले जनाएको छ । बजारमा प्रशस्त मौज्दात भएका कारण अभाव भने नहुने संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए ।

पहिले एक हप्तामा आइपुग्ने खाद्य सामग्री राजमार्गमा हुने अवरोधका कारण १० दिनमा आइपुग्ने श्रेष्ठ बताउँछन् । मुग्लिन-नारायणगढ सडकको पहिरोका कारण उपत्यकाको मात्रै नभई गण्डकी र वाग्मती प्रदेशका पहाडी जिल्लामा पनि आपूर्तिमा समस्या देखिने संघको भनाइ छ ।

जोखिममा ढुवानीकर्ता

आपूर्ति व्यवस्थाको पहिलो घेरामा खटिएको ढुवानी श्रमिक र मजदुर बाढी पहिरोको उच्च जोखिममा परेका नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ । पहिरोका कारण तीन वटा ट्रक दुर्घटनामा परेको र केही श्रमिकको ज्यानसमेत गएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

देशभर आपूर्ति व्यवस्थामा परिचालन भएको ७० हजार ट्रक तथा तिनका श्रमिक बाढीको चपेटामा परेको र कतिपय त तीन-चार दिनदेखि भोकै परेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

प्रमुख भन्सार नाका तथा औद्योगिक क्षेत्रबाट ठूला शहरतर्फ अघि बढेका मालबाहक ट्रकहरु गन्तव्यमा पुग्न १५ दिनसम्म लाग्न थालेको संघले जनाएको छ । सामान्य अवस्थामा एक सतादेखि १० दिनसम्म लाग्ने गन्तव्यमा पुग्न बाढी र पहिरोका कारण १५ दिन लाग्न थालेको संघका अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment