+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

श्रीमतीलाई खोप लगाउन टन्टलापुर घाममा उभिएका दुई वृद्ध

६ घण्टाभन्दा बढी लाइन बसेर खोप लगाउन बाध्य भए जेष्ठ नागरिक

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ असार २२ गते १९:४३

२२ असार, काठमाडौं । होमप्रसाद कोइराला उमेरले ७३ पुगे । सुगरको समस्याले थोरै परिश्रम गर्दा पनि थाक्छन् उनी । तर मंगलबार दिउँसो टन्टलापुर घाममा श्रीमती भीमकुमारीलाई कोरोना भाइरसको दोस्रो डोज खोप लगाउन उनी नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चार घण्टा लाइन बसे ।

जडिबुटीबाट आएका कोइरालासँगै छाता ओढेर लाइन बसेका ७० वर्षीय मेघराज दाहाल पनि ६२ वर्षीय श्रीमतीको खोपको लागि बिहानै निजामती कर्मचारी अस्पताल आइपुगेका थिए । तर दिउँसो साढे दुई बज्दासम्म उनीहरूको पालो आएको थिएन ।

एकाबिहानै लाइन बस्न आएका उनीहरु श्रीमतीलाई शीतल ठाउँमा बस्न लगाएर चर्को घामको लाइनमा उभिरहेका थिए ।

मेघराजले पहिलो डोजको खोप लगाए पनि होमप्रसाद कोइरालाले भने लगाएका छैनन् । पहिलो डोज लगाउने बेला पनि लाइन बस्न गाह्रो भएपछि खोप नलगाएको उनले अनलाइनखबरसँग बताए ।

‘पहिलो डोजको खोप लगाउँदा पनि बिहानैदेखि लाइन बस्नुपर्ने थियो’ कोइरालाले दुखेसो पोखे, ‘सक्नेले लाइनै नबसी पनि लगाएर गए । हामीलाई उभिनै गाह्रो हुन्छ कसरी लगाउनु !’

यता मेघराज दाहालको पनि उही गुनासो छ । आफन्तलाई लाइन बस्न लगाएर उनले पहिलो डोजको खोप लगाए । तर परिवारमा एउटाले लगाउने अर्कोले नलगाउने गर्दा डर कायमै हुने भएकाले श्रीमती गंगामायालाई दोस्रो डोज खोप लगाउन आएको उनी बताउँछन् ।

‘तरकारी, खाद्यान्न किन्न बजार गइरहनुपर्ने भएकाले श्रीमतीलाई दोस्रो डोज लगाउन ल्याएको हुँ । यति ठूलो लाइन हुन्छ भन्ने सोचेकै थिएनौं’, दाहालले उभिएरै आफ्ना कुरा बताए ।

दुवैजना वृद्ध हातमा खोप कार्ड र छाता लिएर चार घण्टासम्म लाइनमा बसे । अन्ततः पालो आएपछि श्रीमतीहरुलाई खोप लगाउने ठाउँमा राखेर उनीहरू सिभिल अस्पतालको चौरमा बसेर कुराकानी गर्न थाले ।

यी दुई वृद्ध प्रतिनिधि अनुहारमात्र हुन् । चीनबाट ल्याएको भेरोसेल खोपको दोस्रो डोज लगाउन सरकारले सूचना जारी गरेसँगै मंगलबार पहिलो दिन सिभिल अस्पतालमा ठूलो भीड लाग्यो । भीडलाई व्यवस्थित गर्न प्रहरी खटाए पनि बिहानैदेखि खोप लगाउनेको लाइन शान्तिनगरसम्मै पुगिसकेको थियो ।

६० देखि ६४ वर्ष उमेर समूहलाई दोस्रो डोज लगाउने भनेपनि युवायुवतीसमेत खोप लगाउने लाइनमा थिए । केही युवा भने हजुरबुबा, हजुरआमाको लागि लाइन बसिरहेका भेटिए । कतिसम्म भने १८ वर्षभन्दा कम उमेरका देखिने किशोरले पनि खोप लगाएको पाइयो ।

यता कोटेश्वरबाट आएकी ६४ वर्षीया इन्द्रावती मोक्तान ठेलमठेल गरी लाइन बस्नुपर्दा निकै आक्रोशित भेटिइन् । आफूभन्दा पछि आएका मानिसले लाइन मिचेर अगाडि गएको कुराको प्रतिवाद गर्दै थिइन् उनी ।

‘खोप लगाउन लाइन बस्दाबस्दै मान्छे बेहोस भयो भने को जिम्मा लिन्छ इन्द्रावती भन्दै थिइन्, ‘यत्रो भीडले गर्दा बुढाबुढी मान्छे त्यसै बिरामी पर्छन् !’

उनी बिहान १२ बजेदेखि लाइनमा थिइन् तर तीन बज्न लाग्दा समेत पालो आएको थिएन । महिला र पुरुषको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गर्नुपर्ने कुरा उनी बताउँदै थिइन् ।

६५ वर्षीय मधुमेह रोग पीडित जगत आचार्य पनि व्यवस्थित रुपमा खोप लगाउने प्रबन्ध नगरेकोमा गुनासो गर्दै थिए । ‘निश्चित उमेर समूहलाई लगाउने भनेपछि त त्यही उमेरलाई मात्र खोप केन्द्रमा प्रवेश गर्न दिनुपर्छ’, उनी भन्दै थिए ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाभित्र ३२ ठाउँमा खोप केन्द्र तोकेपनि धेरैलाई पायक पर्ने स्थान भएकाले बानेश्वर सिभिल अस्पतालमा भीड बढेको थियो । बिहान १० बजेदेखि ४ बजेसम्म खो लगाउने प्रावधान भएकाले मानिसहरू बिहान ५ बजेदेखि नै अस्पतालको गेटमा लाइन बसिसकेका थिए ।

लाइन बस्ने विकल्पमा टोकन वा नाम टिप्ने व्यवस्था गर्न नसक्दा भीड बढेको खोप केन्द्रकै एक कर्मचारीले बताइन् । उनका अनुसार पहिलो डोज लगाउनेले दोस्रो लगाउन अनिवार्य भएकाले भीड थुप्रिएको हो ।

‘टोकन सिस्टम वा नाम दर्ता प्रणाली राख्न सक्यो भने वृद्धवृद्धाहरूलाई सहज हुन्थ्यो । तर आफैं लाइन बस्नुपर्दा उहाँहरूमा आक्रोश बढेको छ’, उनले भनिन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?