Comments Add Comment

विपक्षी विद्यार्थी संगठनको दोस्रो चरणको आन्दोलन घोषणा

२२ असार, काठमाडौं । सरकारविरुद्ध सडक आन्दोलनमा रहेका पाँच विद्यार्थी संगठनले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

मंगलबार अखिल (क्रान्तिकारी) बागबजारस्थित कार्यालयमा बसेको बैठकले २४ असारदेखि दोस्रो चरणको आन्दोलनका कायक्रम सार्वजनिक गरेको अखिल (क्रान्तिकारी) का उपमहासचिव जीपी मैनालीले जानकारी दिए ।

२४ असारमा देशव्यापी सिट्ठी जुलुश, २७ असारमा माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

पाँच विद्यार्थी संगठनले उपकुलपतिसहितका पदाधिकारीका कारण धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासायी हुने अवस्थामा पुगेको भन्दै उपकुलपछि डा. ज्ञानेन्द्र गिरीको राजीनामा माग गरेको छ ।

शिक्षक सेवा आयोगले लामो समयसम्म परीक्षा बन्द गरेकोले देशभर हजारौं शिक्षक दरबन्दी खाली भएका भन्दै विद्यार्थी संगठनहरुले आयोगको परीक्षा प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेका छन् ।

विपक्षी विद्यार्थी संगठनले सरकारले बिमा समितिको विधि र प्रक्रिया मिचेर हिमालयन पुनर्बिमा कम्पनीलाई अनुति दिएको भन्दै त्यसलाई रद्द गर्न माग गरेको छ ।

यस्तै चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको अबिलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न विज्ञप्तिमा माग गरिएको छ । भण्डारी बेपत्ता भएको ९ दिनसम्म गम्भीरतापूर्वक अनुसन्धान नगरिनु जनताको जीवनरक्षा र शान्ति सुरक्षाप्रति सरकार गैरजिम्मेवार र पङ्गु भएको यो घटनाबाट पुष्टि भएको पाँच विद्यार्थी संगठनले ठहर गरेका छन् ।

बैठक पश्चात जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्क्ष रञ्जित तामाङ, अनेरास्ववियू (माधव नेपाल समूह)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment