Comments Add Comment

फेरि उकालो लाग्दै कोरोना संक्रमण

२३ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९­) संक्रमितको संख्या उकालो लागेको छ । कोरोनाको दोस्रो लहर पिकमा पुगेर क्रमशः ओरालो लागिरहेकै समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बढ्नु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दोस्रो लहर उत्कर्षमा पुग्दा वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो । सो दिन २१ हजार ३१६ नमुना परीक्षण भएको थियो । यसरी हेर्दा संक्रमण दर ४४.४९ प्रतिशत हो, जुन दोस्रो लहरकै उच्च हो ।

त्यसयता संख्यात्मक हिसाबले केही तलमाथि हुँदै संक्रमण विस्तारै ओरोलो लाग्यो र २० असारमा आइपुग्दा १,६०३ जना मात्र नयाँ संक्रमित थपिए । यो संख्या दोस्रो लहर उत्कर्षमा पुगेर ओरालो झर्ने संक्रमितको सबैभन्दा कम थियो ।

‘सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि जनताले पनि कोरोना गयो भन्ने सोच्छन् । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही हुन जान्छ । त्यसको परिणाम स्वरुप संक्रमण बढ्न जान्छ । पछिल्लो तीन दिन यता संक्रमण बढ्नु पनि त्यसैको परिणाम हुन सक्छ’ संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भन्छन् ।

तर पछिल्लो तीन दिनयता कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । असार २१ गते २,६२२ कोरोना संक्रमित थपिँदा त्यसको भोलिपल्ट २२ गते २,६३४ मा संक्रमण पुष्टि भयो । बुधबार नयाँ संक्रमितको संख्या २,९७९ पुगेको छ ।

संक्रमण बढ्नु तेस्रो लहरको संकेत हो ?

सरकारले दोस्रो लहरमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको थियो । तर संक्रमण घट्दै गएपछि जारी निषेधाज्ञा असार ८ गतेदेखि केही खुकुलो बनायो । असार १५ गतेदेखि निषेधाज्ञा थप खुकुलो बनाएको थियो ।

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार दोस्रो लहर सकिएकै थिएन । जोखिम कायमै थियो । त्यही समयमा निषेधाज्ञा खुकुलो बन्दा संक्रमण बढेको हुनसक्छ । पहिलो लहरमा पनि निषेधाज्ञा खुकुलो बनाएको केही समय संक्रमण बढेपनि पछि घटेको भन्दै उनले भने, ‘सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि जनताले पनि कोरोना गयो भन्ने सोच्छन् । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही हुन जान्छ । त्यसको परिणाम स्वरुप संक्रमण बढ्न जान्छ । पछिल्लो तीन दिन यता संक्रमण बढ्नु पनि त्यसैको परिणाम हुन सक्छ ।’

यही आधारमा संक्रमण बढ्दै गएर फेरि ८/९ हजार पुग्यो भने त्यसलाई तेस्रो लहर भन्न सकिने उनी बताउँछन् । त्यसैले संक्रमण घट्ने वा बढ्ने आधार एक दुई हप्तापछिको तथ्यांकलाई विश्लेषण गरेर मात्रै भन्न सकिने उनी बताउँछन् । नेपालमा तेस्रो लहर आउनका लागि डेल्टाबाहेकको नयाँ भेरियन्ट देखिनु पर्ने उनको तर्क छ ।

अर्का संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी संक्रमण बढ्नुलाई दोस्रो लहरकै निरन्तरता भएको बताउँछन् । ‘डेल्टा भेरियन्ट बढी संक्रामक पनि छ । पछिल्लो केही दिनयता चहलपहल पनि बढेको छ । यसले संक्रमण बढेको हुनसक्छ’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल पनि देशभर पीसीआर विधिबाट संक्रमित पत्ता लाग्ने दर फेरि बढेको बताउँछन् । नियमित प्रेस ब्रिफिङमा डा. पौडेलले भने, ‘पीसीआर विधिबाट गरिएको परीक्षणमा संक्रमण दर २५ प्रतिशतभन्दा कम थियो । तर आज संक्रमण दर २६.५ प्रतिशत पुगेको छ ।’

धेरै जिल्लामा निषेधाज्ञाका प्रावधानहरु खुलेकका कारण पनि संक्रमण बढेको हुन सक्ने उनी बताउँछन् । ‘संक्रमणको जोखिम कायमै छ । सार्वजनिक सवारीका साधन गुडे पनि, सरकारी कार्यालय लगायत अन्य सेवा सञ्चालनमा आएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न नभुलौं’ डा. पौडेलले भने ।

डा. पौडेलका अनुसार ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला अझै पनि ९ वटा छन् । पछिल्लो समय कर्णाली र गण्डकी प्रदेश संक्रमणको उच्च जोखिममा रहेको उनले बताए । डा. पौडेलका अनुसार कर्णालीमा संक्रमण दर ५० र गण्डकीमा ३९.५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment