Comments Add Comment

कृष्णचन्द्र नेतृत्वको सरकारले पनि एजेण्डाको गला निमोठ्दैछ

पृथ्वीसुब्बाले गलत बाटो समाउँदा साथ दिन सकिएन

आजभन्दा साढे तीन वर्षअघि प्रदेशसभा सदस्य भएर गण्डकीको संसद छिर्दा एउटा अनौठो ऊर्जा थियो । नयाँ व्यवस्थासँगै जनताका आशा भरोसालाई माथि उठाउन र राजनीतिप्रतिको नजर बदल्न सकिनेछ भन्ने विश्वास थियो ।

लामो संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने उद्घोषसहित जनताकै आवाज बोल्दै सडकबाट सदन छिरिएको हो । जनताको समस्या भनौं वा हामी सबैको साझा शत्रु हुन्- गरीबी र बेरोजगारी । समस्याको सही पहिचान, समाधानको उचित सिफारिश र यसका लागि बृहत् कार्यक्रम ल्याउन सकिन्छ कि भन्ने लागेको थियो । नीतिगत तहबाटै जनताका सवालहरूको सम्बाेधन गर्ने ऊर्जा र उत्साह थियो ।

विकृत रहेछ यो व्यवस्था

तर, हाम्रो जस्तो देश, अहिलेको निर्वाचन प्रणाली र राजनीतिक चरित्रले त्यसो नभन्दो रहेछ । शक्ति केन्द्रित सरकार भएपछि प्रतिपक्षको माग र आवाज ‘भैंसीको अगाडि बिन बजाए’ जस्तो भयो । वास्तवमा यो खालको संसदीय व्यवस्थाबाट जनताका आधारभूत आवश्यकता पूर्ति हुन नसक्ने रहेछ भन्ने बुझाइलाई आज थप बल पुगेको छ । किनकि पहुँच र शक्तिले काम गर्ने भयो । जसको आवाज सुन्नुपर्थ्यो, त्यो नभई जसको पहुँच छ, उसको आवाज बलियो हुँदै जाने खालको असमानता यो व्यवस्थाले झन् बढाएको छ । त्यसकारण पनि यो व्यवस्था अर्थात् प्रदेश संसदीय व्यवस्था हिजोको जुन केन्द्रीकृत व्यवस्था थियो त्योभन्दा कुनै तवरले फरक छैन र हुन सकेन । त्यसैले पनि भनियो होला- संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो । ‘बाहिर हेर्दा नैनसुट, भित्र भने गुन्द्रीमा सुत’ भनेजस्तै मैले पनि अनुभूति गरेकी छु ।

संसदीय राजनीतिलाई फोहोरी भनेको सुनेकी हुँ । तर, आज आफैंले भोगियो । सत्ताको लागि जस्तोसुकै हतकण्डा गर्न सक्ने आजको भोलि विकृतिले एउटै व्यक्तिलाई कहाँदेखि कहाँ पुर्‍याउने रहेछ ।

प्रलोभनका पासाहरू

एउटा वैधानिक राजनीतिक पार्टीको क्याडर भएकाले पार्टीको नीति हामीले बोल्ने हो तर व्यक्ति हाबी हुनसक्ने यो व्यवस्थाले न त पार्टीको न त जनताको हित गर्ने रहेछ । व्यक्तिगत स्वार्थको राजनीतिभन्दा कोसौं टाढा र जनताको फाइदा र स्वार्थमा डटेर लाग्न नसक्ने यो व्यवस्थामा नछिरेकै राम्रो देखियो । अहिले केन्द्रदेखि प्रदेशसम्मै शक्तिको मोहलाई अझै घ्यू थप्ने काम गरेको अनुभूत गरेको छु ।

सरकार बनाउन/बचाउन कतिसम्मको खेल हुने रहेछ, कस्ता हत्कण्डा अपनाइने रहेछ, कस्ता प्रलोभन देखाइने रहेछ भन्ने अनेक कोणबाट देख्न र भोग्न पाइयो । सत्ताको रस्साकस्सीमा कस्ता प्रलोभन आए, केके जगमा टेकेर राजनीति गर्न खोजिंदो रहेछ भन्ने देखियो ।

हामीले मानेका मित्र शक्तिहरू लथालिङ्ग भए । आफैँ बस्ने घरमा आगो लगाएर विधिविधान त्यही आगोको रापमा पोलेर खान उद्यत भए । हामीले त्यसलाई काँध दिन सक्ने प्रश्न आएन ।

मुख्य कुरा पार्टीले लिएको सही अडानमा हामी लड्बडायौं भने यसले कसैलाई राम्रो गर्दैन भन्ने राम्ररी बुझ्ने मौका मिलेको छ । कतिपय झुट्टा मुद्दामा आरोपको पनि सामना गरें । म पार्टीको नीतिमा दृढ रुपमा उभिएकाले नै मलाई फसाउने प्रपञ्च पनि भए । तर सत्य कहिल्यै डग्दैन भनेजस्तै ती आरोपहरू समयले गलत सावित गर्दै जानेछ ।

ठूलो राजनीतिक लडाईं र अनेक तिकडमबीच गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो सरकार गठबन्धनको सरकार हो । यहाँ हरेक प्रकारका दल र स्वतन्त्र सांसदले सत्ता साझेदार गरिरहेका छन् ।

लथालिङ्ग मित्रशक्ति र विकल्पको संकट

अहिलेको सरकारबारे तल प्रसङ्ग जोड्ने छु । त्योभन्दा पहिले कसरी पूर्व सरकारको विपक्षमा उभिनुपर्‍यो र त्यसको कारण के थियो भन्नेतिर बुझ्नुपर्छ । हामीले पहिलदेखि नै वामपन्थीको सरकार बन्नुपर्छ भनेका थियौं । तर, यसका लागि मुख्य बाधक भनेकै प्रधानमन्त्री केपी शर्मा ओली नै भए र हुन् । पहिलो कुरा त उनले संसद विघटन गरे । उनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि ओलीले नैतिक रुपमा राजीनामा दिनुपर्थ्यो । ओलीले वाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउन मार्गप्रशस्त गरेको भए पनि आजको दुर्गति देशले भोग्नुपर्ने थिएन । यो त दिनको घामजस्तै छर्लङ्ग छ ।

हामीले मानेका मित्र शक्तिहरू लथालिङ्ग भए । आफैँ बस्ने घरमा आगो लगाएर विधिविधान त्यही आगोको रापमा पोलेर खान उद्यत भए । हामीले त्यसलाई काँध दिन सक्ने प्रश्न आएन ।

सबैभन्दा पहिले पुस ५ पछिको विकसित राजनीतिक घटनाक्रमकै उपजको रुपमा गण्डकी प्रदेशमा नयाँ सरकारको जन्म भएको हो । हामीले कम्युनिष्ट सरकारलाई नै समर्थन गरिराखेकै थियौं । ओलीको प्रतिगमनकारी कदम र त्यही कदमको पद्चाप पछ्याउने पृथ्वीसुब्बा नेतृत्वको सरकारले काम गरेपछि हामीले कुनै पनि हालतमा समर्थन गर्न सक्ने स्थिति बनेन । पार्टीले प्रतिगमनकारी सरकारको विपक्षमा उभिने नीति लियो ।

मेरो लागि पहिलो प्राथमिकता त्यही थियो । मैले पार्टीले दिएको म्यान्डेटअनुसार भूमिका खेलेकी हुँ । ओली निकट विभिन्न प्रादेशिक सरकारको बहिर्गमनका लागि बनेका राजनैतिक शक्तिसँग सहकार्य गर्ने र ओलि निकट सरकारलाई परास्त गर्ने राजनीतिक अभिभारा हाम्रो काँधमा आयो ।

प्रतिगमनविरुद्धको प्रतिवद्धता

मूलतः प्रतिगमनका मतियारलाई प्ररास्त गर्ने र त्यसका विरुद्धमा आउने शक्तिलाई समर्थन गर्ने काम हामीले गरेका हौं । त्यसैको उपज हो गण्डकीको वर्तमान सरकार । पार्टीले जब विपक्षी गठबन्धनलाई सघाएर जाने नीति बनायो, त्यति नै बेला सत्ता साझेदारीमा हामी नमिसिने विषय पनि स्पष्ट पारिसकेका थियौं । त्यसैले सरकार प्रमुख प्राथमिकता परेन, त्यतातिर छलफलै नगरी राजनीतिक एजेण्डालाई सफल बनाउन हामीले भूमिका खेल्यौं । त्यसकारण पृथ्वीसुब्बा नेतृत्वको सरकार गिराएर कांग्रेस नेतृत्वको सरकार बनाएर जनमोर्चाले के पायो के गुमायो भन्ने प्रश्न नै रहेन । राजनीतिक एजेण्डाका हिसाबले हामी सफल भएका छौं ।

जनमोर्चा निर्णायक रहेको यो प्रदेशमा पार्टीले लिएको नीति सफल भएको छ । बाँकी नीतिविपरित हिंड्ने र प्रतिगमनको सारथि बन्ने तत्व पनि समाप्त भएको छ । यो विषय नै मुख्य विषय हो ।

पृथ्वीका प्रपञ्चहरू

राजनीतिक एजेण्डाबाहेक पनि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई सरसर्ती हेर्दा खासै सफल बाटोमा हिंडेको सरकार हो भन्न सक्ने आधारहरू छैनन् । विकासको सवालमा होस् या जनभावनाको कदर गर्ने र सोहीअनुरुप काम गर्ने विषयमा होस्, उहाँको भूमिका सन्तोषजनक रहेन । बजेट खर्च, आर्थिक अनुशासन देखाउने विभिन्न अध्ययनका हिसाबले पनि गण्डकी प्रदेश सरकार पछि थियो ।

कोरोना कहरमा जनताको जीवन रक्षा गर्ने बेला मुख्यमन्त्री पार्टीको किचलोमा अल्झिए । खाली एउटा परम्परागत तवरले सरकार सञ्चालनबाहेक खास उपलब्धि मान्ने आधार देखिंदैन । एउटा व्यक्ति सबल हुँदैमा सबै चिजको विकास घनीभूत हुँदैनन् । सम्भावना हुँदा/हुँदै पनि त्यो सरकार आफैं उल्झनमा रहेको, मिसनमा असफल रहेको विषय यथार्थ हो ।

सरकार सञ्चालनको पाटो एकातिर हो भने राजनीतिक एजेण्डा अर्कोतिर । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि विधि र पद्धतिलाई मिच्नतिर उद्यत भए । कसरी सत्ता बचाउन सकिन्ने भन्ने खेलमा अनेक तिकडम अपनाए । चालु संसद अधिवेशन भंग गर्नेदेखि सत्ता जोगाउन सांसद किनबेचसम्मका हर्कत कम्तीमा उनले नगरेको भए उनको नियतमा प्रश्न उठ्ने थिएन । तर, हरतरहले फोहोरी संसदीय खेल खेलिरहे । यस्तो अवस्थामा सबैभन्दा दबाब जनमोर्चामाथि थियो, जिम्मेवारी र राजनीतिक एजेण्डालाई स्थापित गर्न अडिग भएर लाग्दा थुप्रै लाञ्छना र आरोप ममाथि बर्सिए । यद्यपि हामी सफल भयौं, जीत हाम्रै पक्षमा भयो ।

प्रतिगमनकारी कदमको विपक्षमा उभिने गठबन्धनबाट अब गण्डकीमा नयाँ सरकार बनेको छ । पृथ्वीसुब्बा नेतृत्वको सरकारलाई पनि हामीले गुण र दोषका आधारमा समर्थन र विरोध गरेका थियौं । अबको हाम्रो नीति पनि त्यही हुनेछ ।

चुनौतीको चाङमा नयाँ सरकार

अबको सरकार दलगत स्वार्थभन्दा माथि भएन र पदीय लालसाबाट माथि उठ्न सकेन भने पक्कै पनि भाँडभैलो सरकार हुने निश्चित छ । किनकि सत्तारूढ दलहरू आज आपसी कहल र मनमुटावमा देखिइसकेका छन् । जो दुःखद हो ।

अभिभावकीय भूमिका पनि फलामको चिउरा चपाए झैँ हुनेछ । यदि अभिभावकीय दायित्व कुशलतापूर्वक निर्वाह भएन भने र अर्कोतर्फ सत्ताकै लहडबाट उन्मुक्ति नभए सधैं समर्थन नरहन पनि सक्छ । सबै दायित्वबोध सत्ता साझेदार दलहरूले बुझ्न सक्नुपर्छ । तब मात्र सरकार निर्वाधरुपले अगाडि बढ्न सक्नेछ ।

सत्ता प्राप्तिको लिप्साले मूल उद्देश्यको गला निमोठ्ने देखिन्छ । त्यही बाटोमा यो सरकारले पनि पाइला बढाइरहेको छ, यो अत्यन्त दुःखद् कुरा हो ।

जनताको समस्याहरू हिजोको भन्दा आज झनै बढेर गएको छ । जनता बचाउने, जनतालाई समस्याको चाङबाट माथि उठाउने दायित्व अहिलेको सरकारको हातमा छ । त्यसकारण जनताको आवश्यकता र साझेदारहरूको चित्त बुझाउन वर्तमान सरकारलाई अत्यन्तै चुनौतीपूर्ण छ ।

आजसम्म पनि मन्त्रिमन्डलले पूर्णता पाउन नसक्नु सरकारको अक्षमता हुन आउँछ । व्यवस्थापकीय कमजोरी सुधार्न आवश्यक छ । यसरी समस्याबाट भागेर वा समस्याको चाङ खडा गरिदिएर गठबन्धन बलियो बन्न सक्दैन ।

अहिलेको सरकारमा पनि तानातान र लुछाचुँडी भइरहेको छ । देशको विषम परिस्थितिमा हामी सरकारमा गएका पनि थियौं, जान सकिन्छ पनि । तर यो परिस्थितिमा सरकारमा हाम्रो उपस्थिति शोभनीय हुँदैन भन्ने नै हो । शायद त्यसैले होला पार्टीले यो नीति लिएको । हाम्रो मूल मुद्दा हो, प्रतिगमनका मतियारहरूको बहिर्गमन। त्यो काम हामीले हामी निर्णायक भएको ठाउँमा गर्‍यौं । बाँकी सरकार बनाउने जनताको समस्याहरू समाधान गर्न सरकारलाई खबरदारी गर्ने काम हामी सरकारबाहिर बसेर निरन्तर गर्नेछौं ।

एउटा राजनीतिक एजेण्डामा अहिलेको शक्तिसँग सहकार्यलाई प्रधान मानेका थियौं । तर, चिज सधैं एउटै हुँदैनन् । यो शक्तिसँग हाम्रो गम्भीर प्रकारका मतभेदहरू छन् । त्यसकारण हामी सम्झौताहीन प्रकारले हाम्रा राजनैतिक लडाईंलाई कायम राख्नेछौं । त्यो काम लाभको पद बहाल गरेको समयमा नैतिकरुपमा हामीलाई संकट पर्न सक्छ ।

जनताको मन जित्ने सरकारले दिन दुई गुणा रात चौगुनाको हिसाबले काम गर्नुपर्नेछ । यो कुरा अहिलेको विषम परिस्थितिमा उभिएको सरकारले बुझ्न सक्नुपर्छ । जनता बचाउने र जनतालाई फेरि पुरानै दिनचर्यामा फर्काउने काम अहिलेको सरकारको जिम्मेवारी हो । सदियौंदेखि महामारीको रुपमा रहेको गरीबी,अशिक्षा र बेरोजगारीको समस्यालाई हल गर्न चनाखो भएर लाग्नुपर्नेछ । यसका लागि सरकारलाई चुनौतीको चाङ छन् । यसबाट भागेर होइन् सुझबुझका साथ आगामी दिनहरूमा काम गर्न सकेमात्र हाम्रो गठबन्धनको औचित्य हुनेछ ।

(राष्ट्रिय जनमोर्चा पार्टी गण्डकी प्रदेशकी सचेतक पियारी थापा सांसद कृष्ण थापा पदमुक्त भएपछि संसदीय दलको नेताको जिम्मेवारीमा छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment