Comments Add Comment

ललितपुर जिल्ला अदालतमा बढे सम्बन्धविच्छेद र बलात्कारका मुद्दा

२४ असार, ललितपुर । ललितपुर जिल्लामा गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा सम्बन्धविच्छेदको घटना बढेको पाइएको छ ।

जिल्ला अदालत ललितपुरले उपलब्ध गराएको विवरण अनुसार २०७५ साल भदौ १ गतेबाट देवानी संहिता लागू भएपछि हालसम्म १ हजार २०७ वटा सम्बन्धविच्छेदका मुद्दा परेका छन् ।

गत आर्थिक वर्ष २०७६/७७ मा सम्बन्ध विच्छेदका ३३६ थान मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्ष २०७७/७८ को असार २४ गतेसम्म ४४१ थान मुद्दा परेका छन् ।

चालु आर्थिक वर्षमा दर्ता भएका ४४१ थान मुद्दामध्ये २६९ वटाको फैसला भएको छ भने १७२ वटा मुद्दा विचाराधीन छन् ।

गत आर्थिक वर्षमा दर्ता भएका ३३६ थान मुद्दामध्ये गत वर्ष २३१ वटाको र चालु आर्थिक वर्षमा ६७ वटा मुद्दाको फैसला भएको छ । बाँकी ३८ मुद्दा विचाराधीन छन् ।

जबरजस्ती करणीका मुद्दा पनि बढे

ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दाको संख्या पनि बढेको छ । तथ्याङ्क अनुसार २०७५ साल भदौ १ गतेबाट देवानी संहिता लागू भएपछि हालसम्म ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणीका १६७ वटा मुद्दा परेका छन् ।

गत आर्थिक वर्ष २०७६/७७ मा जबरजस्ती करणीका ६६ वटा मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ५० वटा मुद्दाको फैसला भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को असार २४ गतेसम्म जबरजस्ती करणीका ६९ वटा मुद्दा दर्ता भएका छन् । यसमा २० वटा मुद्दाको फैसला भएको छ भने ३९ वटा मुद्दा विचाराधीनन छन् ।

चोरी डकैतीमा मुद्दा घटे

चोरी डकैतीका मुद्दाको संख्या भने ललितपुरमा घटेको छ । २०७५ साल भदौ १ गतेदेखि हालसम्म ललितपुर जिल्ला अदालतमा चोरी डकैतीसँग सम्बन्धित ३२७ वटा मुद्दा दर्ता भएका छन् । ३२७ मध्ये ७४ वटा मुद्दाको फैसला हुन बाँकी छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा चोरी डकैतीका १०९ वटा मुद्दा परेका थिए । त्यसमध्ये १८ वटा मुद्दा विचाराधीन छन् । चालु आर्थिक वर्ष २०७७/७८ को असार २४ गतेसम्म चोरी डकैतीका ९६ वटा मुद्दा दर्ता भएका थिए । यसमध्ये ५३ वटा मुद्दा विचाराधीनन छन् ।

कोरोनाका कारण न्याय सम्पादनमा असर

नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुर जिल्ला अदालतबाट हुने न्याय सम्पादनमा पनि असर परेको छ ।

कोरोनाका कारण चालु आर्थिक वर्षमा गत पुष १ गतेदेखि मात्रै अदालतले काम सुरु गरेको स्रेस्तेदार विष्णुप्रसाद पाण्डेयले बताए । ‘तथापि हामीले आफ्नो तर्फबाट सक्ने गरेका छौं’ स्रेस्तेदार पाण्डेयले बिहीबार अदालतकै सभाहलमा भएको पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार गत जेठ मसान्तसम्म जिम्मेवारी सरेका १८५५ मुद्दामध्ये ९६६ वटा मुद्दाको फर्छ्योट भएको छ भने ८८९ वटा मुद्दा फर्छ्योट हुन बाँकी छ । चालु आर्थिक वर्षमा दर्ता भएका २००१ मुद्दामध्ये ६४० वटा मुद्दाको फर्छ्योट भएको र १३६१ वटाको फर्छ्योट बाँकी रहेको छ ।

फैसला कार्यान्वयनतर्फ अदालतले चालु आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको स्रेस्तेदार पाण्डेयले बताएका छन् । उनका अनुसार अदालतले ५८ करोड ३६ लाख १३ हजार ८४१ जरिवाना मध्ये चालु आर्थिक वर्षमा १४ करोड ६९ लाख १५ हजार ४२५ असुली गरेको छ ।

‘चालु आवमा ३ करोड १६ लाख ६८ हजार ४८१ जरिवाना असुल गर्ने लक्ष्य राखिएकोमा त्यसको ४६३ प्रतिशत जरिवाना असुल भएको छ’ स्रेस्तेदार पाण्डेयले जानकारी दिए ।

ललितपुर जिल्ला अदालतले मेलमिलाप मार्फत मुद्दाको मिलापत्र गराउने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले थपे, ‘अदालतले चालु आर्थिक वर्षमा ५४७ थान मुद्दा मेलमिलापमा पठाएकोमा १०८ थान मुद्दामा मेलमिलाप हुन सकेको छ ।’

यस्तै, मिसिललाई सफ्टवेयरमा ‘इन्ट्री’ गर्ने कार्यलाई पनि अदालतले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

अदालतको अभिलेख शाखामा ६८ हजार १४८ थान मिसिलहरु रहेकोमा ६६ हजार ६६३ थान मिसिल सफ्टवेयरमा ‘इन्ट्री’ गरिसकिएको, मिसिल कागजातहरुमध्ये ५३ हजार २६९ थान धुल्याइ सकेको र ११ हजार ६६२ मिसिलहरु स्क्यान गरी डिजिटाइज गरिएको उनले जानकारी दिए ।

‘आगामी पाँच वर्षभित्र ललितपुर जिल्ला अदालतलाई पूर्णरुपमा डिजिटाइज अदालतका रुपमा विस्तार गरिने महत्वपूर्ण योजना रहेको छ’ स्रेस्तेदार पाण्डेयले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment