Comments Add Comment

निषेधाज्ञामा महंगो भाडा असुलेर काठमाडौं ओसारपसार, २ जना पक्राउ

२६ असार, गोरखा । निषेधाज्ञामा महंगो भाडा असुलेर गोरखा काठमाडौं यात्रु ओसारपसार गर्ने गोरखाका दुई माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट यात्रु लिएर गोरखा आउदै गरेको बा ५ ख १०७७ र गोरखाबाट यात्रु लिएर काठमाडौं जादै गरेको बा ५ ख १०७३ नम्बरको माइक्रोबसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

‘काठमाडौंबाट आउने माइक्रोले गोरखा जाने कोही हुनुहुन्छ भने सम्पर्क गर्नुहोला भनेर फेसबुकमै राखेर यात्रु बोकेर ल्याएको रहेछ,’ एसपी शेखर खनालले भने, ‘विशेष सूचनाको आधारमा हामीले माइक्रोलाई मझुवाबाट नियन्त्रणमा लिएका हौं ।’ यात्रुसँग महँगो भाडा असुल गरेको समेत खुल्न आएको उनले बताए ।

त्यस्तै गोरखाबाट काठमाडौ यात्रु लादै गरेको माइक्रोलाइ बाह्र किलोबाट नियन्त्रणमा लिइएको एसपी खनालले जानकारी दिए । ‘यात्रुसँग एक÷एक हजार भाडा लिएर काठमाडौं जान लागेको रहेछ, हामीले नियन्त्रणमा लियौं,’ उनले भने ।

उनीहरुलाई निषेधाज्ञा उल्लघंन गरेको कसुरमा कारवाही हुने उनले बताए । गोरखाबाट काठमाडौंसम्मको नियमित माइक्रोबस भाडा ४५० रुपैयाँ छ । तर उनीहरुले दोब्बरभन्दा धेरै असुल्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

प्रहरीलाई यसरी झुक्याउछन् माइक्रोले

गोरखामा सार्वजनिक सवारी जिल्लाभित्र मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । तर पनि चालकहरु यात्रु बोकेर जिल्लाभित्र बाहिर गरिरहेका छन् । तनहुँबाट गोरखा भित्रिने मझुवा नाकामा सशस्त्र र जनपथ प्रहरी खटाएर चेकजाँच गरेपनि यात्रु बोकेर अन्य जिल्लामा सवारीहरु जान छाडेका छैनन् ।

एसपी शेखर खनालका अनुसार मर्मतको बहाना बनाएर उनीहरु तनहुँ छिर्ने र त्यहाँबाट यात्रु ओसारेर काठमाडौं, चितवनलगायतका ठाउँमा जाने गरेका छन् ।

‘यात्रु जति मझुवामा झार्ने, हिँडाएर पारी पठाउने, अनि गाडी बनाउनु छ भनेर रित्तै तनहुँको आँबुखैरेनी जाने अनि त्यहाँबाट फेरि यात्रुलाई राखेर जाने गर्दा रहेछन्, अब त्यसमा हामीले कडाइ गर्छाै,’ उनले भने । गाडी मर्मतको बाहना बनाउनेलाई साँझमा मात्र पठाउने व्यवस्था गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment