Comments Add Comment

तङ्ग्रिंदैछ मेलम्ची, खोजिरहेछ केन्द्र सरकारको साथ

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

२७ असार, मेलम्ची (सिन्धुपाल्चोक) । असार १ गते साँझ आएको बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न २६ दिनपछि प्रधानमन्त्री केपी ओली शनिबार सेनाको हेलिकप्टर चढेर मेलम्ची बजार र हेलम्बु पुगे ।

अवलोकनपछि प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी घरबास निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार नगद र चाहिएजति जस्तापाता उपलब्ध गराउने आश्वासन दिएका छन् ।

बाढीबाट हेलम्बु र मेलम्चीका ३६७ परिवार विस्थापित भएका छन् । विस्थापित घर पुनःस्थापनाको लागि केन्द्र र प्रदेशले ठूलै सहयोग गर्नुपर्ने अपेक्षा स्थानीय सरकारको छ । बिस्थापितलाई परिचयपत्र वितरणको प्रक्रिया अगाडि बढेको छ । तर, बाढी पीडितलाई अस्थायी घर बनाउन रकम दिने घोषणा गरेर संघीय र स्थानीय सरकार पन्छिन नपाउने स्थानीय र राजनीतिक दलका नेता बताउँछन् ।

यहाँको जनजीवनलाई सामान्य अवस्थामा ल्याउन तत्कालै अन्य थुप्रै काम गर्न आवश्यक छ । तत्कालै गर्नुपर्ने काम हो- भत्किएका पुलहरूको निर्माण । मेलम्ची नगरपालिकाको मेलम्ची बजार हुँदै इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका जाने पक्की मोटर पुल र मेलम्ची नगरपालिकाकै अन्य वडाहरू जोड्ने झोलुङ्गे पुलहरू बगाएको छ । थुपै ठाउँमा रहेका पुलहरू बगाउँदा स्थानीय जनता प्रभावित भएका छन् । त्यस्तै अबस्था हेलम्बुमा पनि रहेको छ ।

मेलम्ची नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर अर्याल भन्छन्, ‘हाल पालिकाहरूबीच यातायात आवागमन अवरुद्ध भएको छ । पालिकहरूबीचको सहज यातायातको लागि मेलम्ची र इन्द्रावती नदीमा तत्काल दुई वटा बेलिब्रिज निर्माण गर्नुपर्छ ।’

त्यसैगरी हेलम्बुसम्म यातायात सुचारु गर्नका लागि बाटो मर्मतको कार्यलाई तत्कालै अगाडि बढाउनुपर्ने आवश्यकता छ । विगत झण्डै एक महीनाको अवधिमा खासै प्रगति भएन । अहिले गाडी सन्चालन भएका ठाउँहरू सुरक्षाको दृष्टिकोणले एकदमै जोखिममा रहेका छन् ।

नगरप्रमुख अर्यालले शनिबार प्रधानमन्त्रीसमक्ष यो माग प्राथमिकताका साथ राखे तर प्रधानमन्त्रीको स्पष्ट जवाफ आएन । उनले पक्की पुल, बेलिबि्रजको गोलमटोल कुरा गरेर यस विषयमा स्पष्ट केही जवाफ दिएनन् । पुलहरू भत्कँदा सामान ढुवानीदेखि बिरामीलाई अस्पतालसम्म ल्याउन समेत कठिन भएको छ ।

नगरप्रमुख अर्यालका अनुसार यस बाहेक तत्काल गर्नुपर्ने अन्य केही विषय छन् । जस्तो मनसुन अवधिभर नदी किनार जोखिमयुक्त बस्तीको थप संरक्षणको लागि स्रोत र साधनको अभाव छ । नदीले आफ्नो कोर्स निरन्तर परिवर्तन गरिरहेको र वषर्ायाम कायमै रहेकाले यस अगाडि जोगिएका घरहरू पुनः जोखिममा पर्न सक्छन् ।

धेरै ठाउँमा बस्ती नजिकै अझै कटान भइरहेको छ । अहिले मेलम्ची तथा इन्द्रावती नदीको बहावलाई पूर्ववत् अवस्थामा फर्काउन १० वटा स्काभेटर मेशिनले निरन्तर काम गरिरहेको छ । त्यसैगरी नदीको कटान रोक्नका लागि ढुंगाको प्रयोग गरी ग्याभिन बक्स भर्ने काम भइरहेको तर त्यो पर्याप्त छैन ।

यतिबेला स्थानीय तहसँग जनताको अर्काे मुख्य चासो हो, असार १ गते के कारणले यति ठूलो बाढी आयो भन्ने कुरा पत्ता लगाइ भविष्यमा त्यस्तो सम्भावना छ कि छैन भनी यकिन गर्ने । नदीको माथिल्लो हिमाली भेगमा कति जोखिम छ भनी अध्ययन गरी सरकारले आफूलाई जानकारी गराओस् भन्ने स्थानीयको माग छ ।

मेलम्ची बजारमा २६ वर्षदेखि व्यवसाय गरीबसेका टासी शेर्मा भन्छन्, ‘असार १ को बाढी के कारणले आएको हो र अहिले के भइरहेको छ भन्ने जानकारी छैन । सरकारले जानकारी गराए हामी आफ्नो टहरा पुनर्निर्माणमा लाग्ने थियौं ।’

यस सम्बन्धमा मेलम्ची नगरपालिकाले राष्ट्रिय विपत् प्राधिकरण, इसिमोड, काठमाडौं विश्वविद्यालय लगायतका निकायहरूसँग एक चरणको छलफल गरेको छ । तर सरकारी निकायले यस सम्बन्धमा त्यति चासो नदिएको स्थानीयको गुनासो छ । अहिलेसम्म यति ठूलो बाढी आउनुको कारण सरकारले यकिन गर्न सकेको छैन ।

पछिल्लो दिनमा बाढी पीडितको लागि सरकारी र गैरसरकारी दुवै क्षेत्रमा सहयोग जुट्ने क्रम बढेको छ । पाँचपोखरी थाङपाल गाउँपालिकालाई आयोजनाको तर्फबाट १ करोड ५० लाख र मेलम्ची नगरपालिकालाई आयोजनाको तर्फबाट ५० लाख र हृयाल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमबाट ८६ लाखको चेक पनि हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी विकास समिति र आयोजना अन्तर्गतको हृयाल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमबाट बाढी प्रभावितका लागि राहत तथा पुनर्स्थापनाका कार्य गर्नका लागि हेलम्बु गाउँपालिकालाई क्रमशः रु. १ करोड ५० लाख र १ करोड गरी रु. २ करोड ५० लाखको चेक हस्तान्तरण गरे । त्यसैगरी स्थानीय स्तरमा पनि सहयोग जुटिरहेकाले तत्कालको काम अगाडि बढाउन रकमको अभाव भने छैन ।

खेतीयोग्य जग्गा संरक्षण तत्कालै प्राथमिकताको अर्काे विषय हो । बाढीबाट मेलम्ची नगरपालिकामा मात्र तीन हजार पाँच सय रोपनी खेतीयोग्य जमीनमा पूर्ण रूपमा क्षति पुगेको नगरपालिकाको प्रारम्भिक तथ्यांक छ ।

पहिलेको खेतीयोग्य जग्गा संरक्षण गर्न र थप क्षति नहोस् भन्नका लागि तटबन्थ निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि ठूलो रकम लाग्ने भएकाले केन्द्र सरकारले सहयोग गरोस् भन्ने अपेक्षा छ ।

चहलपहल बढ्यो

बाढीको एक महीना पुग्नै लाग्दा बाढी पीडितहरू विस्तारै तंग्रिदै गएका छन् । खोलाको बहाव पातलो भएपछि स्थानीय आफ्नो घर र टहरा खोतल्न थालेका छन् । नदी किनारमा रहेका धेरै घर र टहरा पूरै पुरिएका छन् । तर पनि आफ्ना केही सामग्री पाइन्छ कि भनेर उनीहरू खोतल्दै छन् । त्यसैगरी सग्ला रहेका घरहरूबाट स्काभेटर र अन्य माध्यमले माटो निकाल्ने काम भइरहेको देखिन्छ । घरहरु पुरिएको स्थानमा चहलपहल बढ्न लागेको छ ।

दुई हप्तासम्म विद्यालयको भवन र सेनाको ब्यारेकमा अस्थायी आश्रय लिएकाहरू अब कोठा खोजेर सर्न थालेका छन् । उनीहरुलाई खाना पकाउन र बस्नका लागि चाहिने सामाग्रीहरु नगरपालिकाले उपलब्ध गराएको छ ।

त्यसैगरी बजार भन्दा माथिल्लो भागमा आफ्नो जग्गा हुनेहरू घर निर्माणको तयारी गर्दैछन् । मेलम्ची बजारको नदीकिनारमा खाना खाने होटल संचालन गरिरहेका डुग्याल्पु शेर्मा र उनकी श्रीमती शनिबार दिउँसो चर्काे घाममा आफ्नो छाप्रो रहेको स्थान खोतल्दै थिए । उनीहरूले त्यहाँ आफ्नो ग्याँसको सिलिण्डर र अन्य केही सामग्री फेला पारेका थिए (हे. तस्वीर) । स्थानीयहरू पीडाको बीचमा पनि अब विस्तारै तंग्रिने प्रयासमा छन् ।

स्थानीय तहहरू पनि उद्धार र राहतको कामलाई केही सकेर अब पुनर्निर्माणको कार्यमा अगाडि बढिरहेछन् र त्यसका लागि केन्द्र सरकारमाथि उनीहरूको ठूलो भरोसा छ । तर अब मेलम्ची बजारको पुनर्निर्माण गर्दा कसरी अगाडि बढ्ने भन्नेमा स्थानीय र विज्ञको एकमत छैन । वातावरण र भूगर्भविद्ले मेलम्ची र इन्द्रावती नदी किनारको बस्ती जोखिमयुक्त रहेकाले उक्त बस्ती स्थानान्तरण गर्न सुझव दिइरहेका छन् ।

तर, नदीकिनारमा परम्परादेखि नै बसोबास गरिरहेका स्थानीय बासिन्दा अन्यत्र नजाने र साविककै स्थानमा नदी संरक्षण गरी बस्न चाहेका छन् । यस सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय सरकारले तत्कालै समान धारणा बनाई प्रक्रिया अगाडि बढाउन आवश्यक देखिन्छ ।

यस वर्षको अन्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन सकिन्छ : प्रम

बाढीले मेलम्ची खानेपानी परियोजनामा पनि ठूलो क्षति पुर्याएको छ । क्षतिका कारण मेलम्चीको पानी फेरि काठमाडौं ल्याउन झण्डै एक वर्ष लाग्ने सरकारी अधिकारीहरु बताउँछन् । मेलम्चीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस वर्षको अन्त वा नयाँ वर्षको शुरुवातसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन सकिने बताए।

बाढीका कारण मेलम्ची खानेपानी आयोजनाका विभिन्न संयन्त्रहरुमा असर परेको र आयोजनाको हेडवर्क्स स्थलबाट करिब ८ किमी सडकखण्ड पूर्ण रुपमा क्षतिग्रस्त भएकोले त्यसको पुनर्निमाण अहिलेको सबैभन्दा प्रमुख आवश्यकता भएको आयोजनाले बताएको छ ।

यो सडक खण्डमा रहेका ५ वटा पुलहरुको पुनर्निर्माणका लागि समितिले यसघि नै विभिन्न स्तरमा पहल अघि बढाएको छ । त्यसैगरी मेलम्ची आयोजनाको दोस्रो चरण अन्तर्गत याङ्ग्री लार्के पहुँच मार्गकोे करिब ६ किमी भागमा बाढीपहिरोले व्यापक क्षति पुर्याएकोमा त्यसलाई सुचारु गर्न प्रयास भइरहेको आयोजनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
कमलदेव भट्टराई

भू-राजनीति र कुटनीतिक मामिलामा दखल राख्ने भट्टराई अनलाइनखबरका सहायक सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment