Comments Add Comment

गर्मी छल्न आन्तरिक पर्यटकको रोजाइमा कैलालीको हाटखोली क्षेत्र

२७ असार, धनगढी । कैलालीको गोदावरी नगरपालिका-४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । कैलालीलाई डोटीसँग जोड्ने धनगढी-दीपायल फास्ट ट्रयाकमै चुरे फेदमा अवस्थित हाटखोलीमा तराईको गर्मी छल्न जाने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउँदै प्रकृतिसँग रमाउनका लागि आफूहरु त्यहाँ पुग्ने गरेको उनीहरु बताउँछन् । हाटखोलीमा भेटिएका धनगढी उपमहानगरपालिका-५ तारानगरका किशोर अवस्थीले तराईको गर्मी छल्न त्यहाँ पुगेको सुनाए ।

‘साथीहरु हाटखोली आएर पौडी खेलेको फोटोहरु फेसबुकमा थुप्रै हेरेको थिए । फोटोमा यहाँको प्राकृतिक सौन्दर्यता हेर्दा मोहित बनायो,’ उनले अनलाइनखबरसँग भने, ‘यही पुगेर हेर्दा यो ठाउँ स्वर्ग नै रहेछ भन्ने लाग्यो । पौडी खेल्दा खुबै आनन्द आउँदो रहेछ । साथमा यहाँको स्थानीय होटलमा मिठामिठा परिकार खानपाइदो रहेछ । रमाइलो लाग्यो ।’

उनीसँगै भेटिएका धनगढीकै अर्का स्थानीय सागर थापाले पनि धनगढीको गर्मी छल्न हाटखोली उपयुक्त ठाउँ भएको बताए । उनी भन्छन्, ‘हामी यहाँ पौडी खेल्न मात्र आउँदैनौं । हाटखोलीको प्राकृतिक सुन्दरताआफैमा अनुपम छ । यहाँपुग्दा मन शान्त हुन्छ । सबै पीडाहरु बिर्सिन्छन् ।’

थापा प्रायः हप्ता दिन वा दुई हप्ताको अन्तरालमा साथीहरुसँगै हाटखोली पुग्ने गर्छन् । हाटखोलीमा गर्मी छल्न मात्र नभएर पिकनीक -वनभोज) खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन गर्न, मन्दिरमा दर्शन गर्न पनि मानिसहरु पुग्ने गर्छन् । अन्य दिनको तुलनामा शनिबार बढी मानिसको भीड लाग्ने गर्छ । चुरे गाउँपालिका-४ र गोदावरी नगरपालिका-४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको छ ।

पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

गर्मीको समयमा त्यहाँ दैनिक कम्तीमा पनि दुई जना आन्तरिक पर्यटक जान्छन् । हाटखोलीको ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइको केन्द्र हो ।

प्राचीन कालदेखि नै गोठालाहरुले पुज्ने गरेको उक्त मन्दिरमा समेत दर्शन गर्न जानेको घुइँचो लाग्ने गरेको छ ।

विशेष गरी माघ, फागुनतिर पुजालाग्ने भएकाले सो समयमा त्यहाँ धार्मिक पर्यटक बढी जाने गर्छन् । उक्त मन्दिरमा विवाह, ब्रतबन्ध पनि हुँदै आएको छ ।

पूर्वाधार विकास गर्ने नगरपालिकाको योजना

आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन थालेपछि गोदावरी नगरपालिकाले हाटखोली क्षेत्रमा पूर्वाधार विकास गर्ने योजना बनाएको छ । वडाध्यक्ष प्रेमबहादुर भण्डारीले पर्यटकको संख्या वृद्धि भएपछि त्यहाँ पूर्वाधार विकासका योजनालाई समेत प्राथमिकतामा राखिएको बताए ।

‘पहिले त हामीले त्यो क्षेत्रको विकासका लागि खासै योजना बनाउनुपर्छ भनेर हाम्रो खासै ध्यान पुगेको थिएन,’ भण्डारीले अनलाइनखबरसँग भने, ‘तर जब त्यहाँ घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भयो । त्यसपछि हामीमा पनि चेत आएको छ । अब कसरी हुन्छ त्यहाँको पूर्वाधार विस्तारमा हाम्रो जोड रहेको छ ।’

नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा पनि हाटखोली क्षेत्रलाई सम्बोधन गरिएको भण्डारी बताउँछन् ।

पिकनिक स्पटको विकास गर्ने, प्राकृतिक तालको संरक्षण गर्ने, मठ-मन्दिरलाई व्यवस्थित गरेर धार्मिक पर्यटन प्रबर्द्धन गर्ने योजना नगरपालिकाले बनाएको छ ।

गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्ट पनि त्यहाँको पर्यटन प्रबर्द्धनका लागि नगरले योजनाबद्ध रुपले काम गर्ने बताउँछन् । सोही योजनाअनुसार हाटखोली क्षेत्रको मष्टाधामको पूर्वाधार विस्तारको काम गत वर्षदेखि भइरहेको बताउँदै भट्टले अगामी वर्षमा समेत जाजरी झरना, ग्वालादेउ मन्दिरको पूर्वाधार विकास र साइकल पदयात्रा विस्तारको काम गरिने जनाए ।

हाटखोली पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउले बजारबाट करीब ७-८ किलोमिटरको दुरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment