
कोरोना भाइरस महामारीमा काम गरेका कर्मचारीहरुलाई माइक्रोसफ्टले १५ सय डलर बोनस दिने भएको छ ।
अद्धितीय रुपमा चुनौतीपूर्ण वर्षमा काम गरेको कदरको प्रसंशा स्वरुप बोनस दिने निर्णय भएको माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्टले भनेको छ- हाम्रा कर्मचारीलाई एकपटक मौद्रिक उपहार दिन पाएकोमा हामी गौरवान्वित छौँ ।
स्मरण रहोस् चालू वर्ष २०२१ को पहिलो त्रैमासिकमा माइक्रोसफ्ट कम्पनीको मुनाफामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ ।
भर्जको रिपोर्ट अनुसार गत मार्च ३१ भन्दा अगाडि जागिर सुरु गरेका उपाध्यक्षभन्दा तल्लो तहका कर्मचारीहरुले उक्त बोनस पाउनेछन् । पूर्णकालीन र पार्टटाइम दुवैथरी कर्मचारीलाई बोनस प्रदान गरिने माइक्रोसफ्टले जनाएको छ ।
महामारीको समयमा विश्वका अधिकांश दिग्गज प्रविधि कम्पनीहरुले आफूले कमाएको पर्याप्त मुनाफाबाट आफ्ना कर्मचारीहरुलाई बोनस दिएका छन् र यसमा माइक्रोसफ्ट पनि थपिएको छ ।
सन् २०२० को मार्च महिनामा फेसबुकले आफ्ना कर्मचारीहरुलाई १ हजार डल बोनस दिएको थियो । महामारीका बेला घरेलु अफिस खडा गर्ने लगायतका कार्यमा बढेको खर्च पूर्तिका लागि सहयोग गर्ने भन्दै फेसबुकले कर्मचारीलाई बोनस बाँडेको थियो ।
त्यस्तै गुगलले पनि २०२० को मे महिनामा कर्मचारीहरुलाई १ हजार डलर बोनस बाँडेको थियो ।
त्यस्तै गत डिसेम्बरमा अमेजनले आफ्ना फ्रन्टलाइन कर्मचारीलाई ३ सय डलर बोनस दिएको थियो भने पार्टटाइम कर्मचारीलाई डेढ सय डलर बोनस दिएको थियो ।
बीबीसी
प्रतिक्रिया 4