Comments Add Comment

क्लब हाउसमा खुलेआम छाडा शब्दको प्रयोग !

फेसबुक, ट्वीटर, ह्वाटसअप, इन्स्टाग्राम र टिकटक हुँदै पछिल्लो समय नेपालमा सामाजिक सञ्जालको एप क्लब हाउस चर्चित बन्दै गएको छ । सूचनाप्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या बढ्नु स्वाभाविक हो । क्लब हाउसमा नेपाली उद्योगी-व्यवसायी, पत्रकार, बैंकर, राजनीतिज्ञ, कलाकार लगायत विभिन्न पेशाकर्मी जोडिएका छन् ।

केही हप्ता ट्रेन्डिङमा समेत पर्न सफल रहेको उक्त अडिओ प्लेट फर्म क्लब हाउसमा छुट्टाछुट्टै विषयमा मीटिङमा हुने गर्दछन् । ‘भ्वाइस’को माध्यमबाट हुने सो मीटिङमा आफ्नो धारणा राख्न र सुन्न सकिनेछ । यसलाई पहिलो पटक सन् २०२० मार्चमा अल्फा एक्सप्लोरोसन कम्पनीका पल डेभिसन र रोहन सेथले आईओएस भर्सनमा सार्वजनिक गरेका थिए ।

प्रयोगकर्ताले आफूलाई मन लागेको जुनसुकै विषयमा आफ्नो धारणा राख्ने, अरूको धारणा सुन्ने यस एपलाई ज्ञानवद्र्धक भनिए पनि यसमा समेत अश्लील र अपाच्य शब्दको प्रयोग हुन्छ भन्दा अचम्म लाग्न सक्ला ।

एक फेसबुक प्रयोगकर्ताले केही समयअघि आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए– ‘के क्लब हाउसमा जस्तै मान्छे रियलमा पनि त्यति नै मीठो बोल्छन् ?’ त्यस्तै अर्का फेसबुक प्रयोगकर्ता पत्रकारले लेखेका थिए– ‘पछिल्लो समयमा टिकटकमा उत्ताउला र अश्लील भिडियोहरू हेर्नुभन्दा क्लब हाउसमा ज्ञानवद्र्धक कुरा राख्न र सुन्न पाउनु साँच्चै मज्जाको विषय हो ।’ उनको स्टाटसमा अन्य प्रयोगकर्ताहरूले आजको विषय के हुनसक्छ भनेर लेखेका थिए ।

क्लब हाउसको प्रयोग गर्न प्रयोगकर्ता मानिसले ‘इन्भाइट’ गरेपछि मोबाइल नम्बरमा आएको कोड वा लिंक राखेर मात्रै यो एप चलाउन पाइन्छ । यसमा फोटो वा भिडियोको नाममा प्रोफाइल तस्वीर मात्रै हुने भएकाले पनि विना भिडियो र तस्वीरको प्रयोग विना कसरी अश्लील भन्ने प्रश्न उठ्न सक्छ ।

हामीले सञ्जालहरूमा प्रायः तस्वीर वा चित्र, भिडियोमार्फत अश्लील बोलेको, छापेको वा प्रयोग भएको देख्न सक्छौं । तर मान्छे अडियोमै अश्लील बोल्छ ! त्यही पनि पब्लिक ओपन फ्लोरमा ?

नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ त्यसमा हुने छलफलका विषयबाट ज्ञान लिनुपर्छ भनेर म पनि यसको प्रयोगकर्ता बनेकी थिएँ । दिनदिनै पत्रकारसँग सम्बन्धित र सामाजिक विषयवस्तुदेखि शेयरबजारसम्मका कुरा मैले क्लब हाउसमार्फत सुन्दै आएकी थिएँ । कतिपय छलफलमा मलाई पनि आफ्नो धारणा राख्ने अवसर मिल्यो ।

क्लब हाउसमा हुने थुप्रै गु्रपमा आफूसँग सम्बन्धित विषयवस्तु नहुँदा पनि के कस्ता विषयमा को वक्ताले धारणा राख्दैछन् भनेर म विभिन्न रुमहरूमा छिर्ने गरेकी थिएँ । प्रायः बेलुका ८ बजेपछि क्लब हाउसमा छिर्ने म खाना खाँदै वा बनाउँदै विचार सुन्न उत्साहित हुन्थें ।

प्रविधिको विकाससँगै सामाजिक सञ्जाललगायत इन्टरनेटका माध्यमबाट हुने गतिविधि बढेका छन् । तर नियन्त्रण र नियमन गर्ने कुनै निकाय नहुँदा समाजमा अश्लीलता पनि खुलेआम बढ्दो छ ।

उक्त दिन पनि म क्लब हाउसमा छिरेकी थिएँ । पत्रकारिता तथा सामाजिक विषयवस्तुको कुनै रुम नभेटेपछि म एउटा ‘तिमी जता म त्यतै’ रुममा जोडिन पुगें । हेर्दा कसैको पनि सही फोटो नभएको सो रुममा मेस्सीको नाम गरेर मेस्सीको फोटो एक जनाले राखेका थिए । त्यस्तै सो रुममा नाम भएका जतिको फोटो विभिन्न चर्चित सेलिब्रेटीहरूको मात्रै थियो । उनीहरू को थिए अनुहार देखिएको थिएन । कारण फोटो फेक थियो ।

म सो रुममा को–को रहेछन् हेर्दैथिएँ । त्यतिकैमा एकजनाले ‘ओइ ओइ … लाई कुट्नुपर्छ’ भन्दैथिए । अर्को ‘कहाँ गयो … भाग्छ, यस्तै हो ओई त्यसलाई पनि जोडिन भन्न’भन्दै थिए । त्यतिकैमा अर्कोले ‘…. फूर्ति गर्छस्’ भन्दैथिए । ग्रुपमा एक जना मात्र केटीको नाम थियो । उनी केटा हुन् या केटी तस्वीर थिएन ।

त्यसपछि म ‘लिभ क्वाइट्ली’ भन्ने बटन क्लिक गरेर रुमबाट बाहिर निस्कें । लाग्यो– ओहो मान्छेहरू छाडा बोल्नकै लागि रुम बनाउन कसरी सक्छन् ? के उनीहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा पब्लिकमा के कति बोल्नु हुन्छ, हुन्न भन्ने ज्ञान समेत छैन । सो रुममा जोडिएका पक्कै पनि टिनएजका केटाहरू हुन् । उनीहरूले साथीहरूसँग मनमा लागे जति र मुखमा आए जति बोल्नकै लागि रुम बनाएका रहेछन् । उनीहरूले जानेर या नजानेर त्यसो गरे तर म जस्ता जति सो रुममा छिरे तिनले क्लब हाउसलाई के बुझे होलान् ?

क्लब हाउसको एपमा तीन किसिमका भर्चुअल रुम हुन्छन्– ओपन, सोसियल र क्लोज्ड रुम । हो, यदि उनीहरूलाई छाडा बोल्नु नै थियो भने क्लोज्ड रुममा गएको भए पनि हुने । क्लब हाउस लोकप्रिय भए पनि यसरी विचार सुन्नको लागि हामी रुममा छिर्दा अश्लील र छाडा बोलिरहेको भेट्छौं भने अब रुममा पस्न दश पटक सोच्नुपर्ने भयो । नत्र त सुन्नै नसक्ने छाडा शब्दहरूले कान बिझाउनेछन् ।

सोसल मिडिया खासगरी टिकटक र युट्युबले मात्रै विकृति ल्यायो भन्दाभन्दै नेपालमा अब छिट्टै क्लब हाउसले अश्लीलता ल्याउने देखिएको छ । विकसित देशहरूमा तोकिएको भन्दा बढी एप प्रयोग गर्न पाइन्न । हाम्रोमा बजारमा र विश्वमा भए जति जुन एप आयो त्यसको प्रयोग गर्न रोकतोक छैन । फलस्वरुप सुरक्षा, चुनौती र साइबर क्राइम बढेकै छ ।

सरकारले एउटा नीति नल्याउँदासम्म एक वर्ष अघिसम्म युट्युबले विकृति ल्यायो भन्ने हामी आज टिकटक हुँदै क्लब हाउसमा पुगेका छौं । यो निकै दुःखद पक्ष हो । आम प्रयोगकर्तामा सोसल मिडिया कसरी प्रयोग गर्ने भन्ने जिम्मेवारी बोध नहुँदा थप समस्या आउने देखिएको छ ।

प्रविधिको विकाससँगै सामाजिक सञ्जाल लगायत इन्टरनेटका माध्यमबाट हुने गतिविधि बढेको छ तर नियन्त्रण र नियमन गर्ने कुनै निकाय नहुँदा समाजमा अश्लीलता बढेको छ । यस विषयमा सरकारले गृहकार्य गरेर एउटा नीति बनाउन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment