+
+

गुगलमाथि ७१ अर्ब जरिमाना, मिडियालाई पैसा नतिरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३० गते १३:२७

दिग्गज प्रविधि कम्पनी गुगलमाथि युरोपेली मुलुक फ्रान्समा भारी जरिमाना भएको छ ।

फ्रान्सको नियामक निकायले गुगलमाथि झण्डै ६० करोड अमेरिकी डलर अर्थात् करिब ७१ अर्ब रुपैयाँ बराबरको रकम जरिमाना तिराउने निर्णय गरेको हो ।

साथै फ्रान्सका समाचार एजेन्सीहरुको समाचार प्रकाशन गरेबापत तत्-तत् एजेन्सीहरुलाई रकम भुक्तानी गर्ने प्रस्ताव दुई महिनाभित्र पेश नगरेमा थप सजाय गरिने पनि फ्रान्सको नियामक निकायले जनाएको छ ।

मंगलबार एक विज्ञप्तिमा फ्रेन्च नियामक निकायले भनेको छ – फ्रान्सेली समाचार एजेन्सी तथा प्रकाशकहरुसँगको सम्झौता सम्बन्धमा गरिएका धेरै प्रयासहरु गुगलले बेवास्ता गरेको छ ।

त्यसैले नियम पालना नगरेबापत गुगलमाथि ५० करोड युरो अर्थात् ५९ करोड २० लाख अमेरिकी डलर रकम जरिवाना गरिएको हो । यदि आगामी २ महिनाभित्रमा समाचार एजेन्सीहरुलाई क्षतिपूर्तिको नयाँ प्रस्ताव नल्याएमा गुगलमाथि दैनिक ९ लाख युरो जरिमाना हुनेछ ।

फ्रान्सको एन्टिट्रस्ट एजेन्सीका प्रमुख इसाबेल डी सिल्भाले भनेका छन्ज, ‘ब नियामक निकायले कुनै कानूनी दायित्व तोक्दछ, तब त्यसको पूर्ण पालना गर्नुपर्दछ, अक्षर र भावना दुवैमा । तर यो घटनामा दुर्भाग्यपूर्ण रुपमा गुगलले दायित्वको पालना गरेन ।

उनका अनुसारसमाचार एजेन्सी तथा प्रकाशकहरुसँगको सम्झौता तथा वार्ताहरुमा गुगल असल मनसायले प्रस्तुत नै भएन र अनलाइनमा समाचार सामग्रीहरु प्रकाशन गरेबापत रकम भुक्तानी गर्नुपर्ने विषयका छलफलमा बस्नै अस्वीकार गर्‍यो ।

उता आफुमाथि करोडौँ डलर जरिमाना गर्ने फ्रान्सको निर्णयप्रति गुगलले आपत्ति जनाउँदै आफू निकै निराश भएको जनाएको छ ।

एक विज्ञप्ती प्रकाशित गर्दै गुगलका प्रवक्ताले भनेका छन्- हामी समग्र प्रक्रियामा असल मनसायका साथ कार्य गरिरहेका छौँ । यो जरिवानाले सम्झौतामा पुग्ने हाम्रो प्रयासका साथै हाम्रो प्लाटर्फममा समाचारले कसरी काम गर्न भन्ने यथार्थलाई अवमूल्यन गरेको छ।

गुगलका अनुसार फ्रान्सेली समाचार मिडियाहरुको प्रतिनिधि संस्था एलाइन्स डे ला प्रेस्से डी इन्फर्मेसन जेनेरालेसँग आफ्नो सम्झौता भएको र ले मोन्डे तथा ले फिगारोलगायतका केही अग्रणी सञ्चार माध्यमहरुसँग पनि छुट्टै सम्झौता भएको जनाएको छ ।

स्मरण रहोस् सन् २०१९ मा युरोपेली युनियनले सर्च इन्जिन तथा सोसल मिडिया प्लाटर्फममा शेयर हुने समाचार सामग्रीहरुबापत सम्बन्धित समाचार संस्थालाई रकम तिर्नुपर्ने फैसला गरेको थियो ।

सोही बमोजिम गुगलले गत वर्ष एक महत्वपूर्ण निर्णय गर्दै आगामी ३ वर्षभित्रमा समाचार एजेन्सीहरुलाई समाचार लाइसेन्सिंग बापत १ अर्ब डलर भुक्तान गर्ने घोषणा गरेको थियो ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?