Comments Add Comment

भारतीय फिल्म इतिहास : जब ‘सबैभन्दा ठूलो चमत्कार’ हेर्न आउनु भनी विज्ञापन छापियो

७  जुलाई, १८९६ मा बम्बेको ‘टाइम्स अफ इन्डिया’मा एक विज्ञापन छापियो, जसमा शहरवासीलाई वाटसन होटलमा ‘सताब्दीको महानतम् उपलब्धी र दुनियाको सबैभन्दा ठूलो चमत्कार’ हेर्नका लागि आमन्त्रित गरिएको थियो ।

विज्ञापन अनुसार यो चमत्कार हेर्नका लागि साँझको चार अलग अलग समयमा सर्वसाधरणलाई हलमा आउने अनुमति थियो । र, हरेक एक शोको टिकट दर एक रुपैयाँ (भारु) राखिएको थियो, जुन त्यसबेलाको हिसाबले ठूलो रकम थियो ।

यो चमत्कार अरु केही नभएर भारतीय उपमहाद्वीपमा ‘चलचित्र’को पहिलो प्रदर्शनी थियो, जसलाई आज हामी फिल्मको नामले जान्दछौं । संयोग भनौं, आज मुम्बईको गन्ती विश्वकै ठूलो फिल्म निर्माण केन्द्रमा हुन्छ र यहाँ हरेक साल हलिउडमा भन्दा बढी फिल्म उत्पादन हुन्छ ।

तर, सन् १८९६ मा साँझ ६ देखि १० बजेसम्म चल्ने चार शोमा दर्शकले नाचगान, संवाद र द्वन्द्व देख्न पाएनन् । त्यसरात प्रदर्शित भएको सबैभन्दा भयानक फिल्मको नाम थियो, ‘अराइभल अफ ए ट्रेन’ थियो । यसमा जम्माजम्मी ट्रेन आएको दृश्य हेर्न पाइन्थ्यो ।

एकै घटनामा आधारित फिल्म

तपाईं सोचिरहनुभएको होला कि, त्यो कुन किसिमको फिल्म हो । भनिहालौं, सुरुवाती दिनमा सामान्यत धेरैजसो फिल्म एकै घटनामा आधारित हुन्थ्यो । प्रथम विश्वयुद्ध र त्यसको केही समयपछि बर्षौंसम्म देखाइने रिल्स जस्तै हुन्थ्यो त्यसबेलाको फिल्म ।

यी फिल्म बनाउने र भारतसम्म ल्याउने दुई फ्रान्सिसी दाजुभाई थिए, लुई र अगस्त लुमियर । उनीहरुको कम्पनी सिनेम्याटोग्राफीको नाम अहिले पनि फिल्म निर्माण क्षेत्रमा प्रयोग हुन्छ ।

मिहिर बोसले आफ्नो पुस्तक ‘बलिउड’मा  लेखेको छ, ‘यी दुई भाइले पहिलो पटिक २८ डिसेम्बर १८९५ मा पेरिसको ग्रान्ड क्याफेमा यस्तो फिल्म देखाएका थिए । पेरिसमा  सफलता पाएपछि  उनीहरुले लन्डनको रिजेन्ट  स्ट्रिटमा यस आविष्कारको सार्वजनिक प्रदर्शन गरेका थिए । त्यहाँ ‘द अराइभल अफ ए ट्रेन एट ला  सिओटेट स्टेशन’ फिल्म  प्रदर्शन गरिएको थियो । यस  पिफल्ममा  एक ट्रेन स्टेशनमा प्रवेश गर्दै गरेको देखाइएको थियो ।

फिल्ममा यस्तो कुनै चिज थिएन,  जो तपाईंलाई घतलाग्दो लाग्छ । केवल एक ट्रेन प्लेटफर्ममा आएर रोकिन्छ । जब यो दृश्य पहिलो पटक लन्डनको ठूलो पर्दामा देखाइयो, तब यस्तो लाग्यो कि ट्रेन पर्दाबाट निस्किएर  दर्शक भएतिर आउँदैछ । र, केही पलमै उनीहरुलाई किच्नेछ ।

त्यसैले केही दर्शक त फिल्म हेर्दाहेर्दै सिटबाट उठेर ढोकातर्फ दौडिए । जबकि कति महिला वेहोस भए । प्रशासनले उनीहरुको हेरचाहका लागि नर्सहरुलाई बोलाउनुपरेको थियो ।

एरिक बार्नो र एस कृष्ण स्वामीको किताब ‘इन्डियन फिल्म्स्’ ले पनि मिहिर बोसको यस दावीलाई समर्थन गर्छ ।

यस  किताब अनुसार ‘लुमियर  बन्धुले आफ्नो सिनेम्याटोग्राफी फिल्मलाई विश्वको अन्य देशमा पनि  देखाउने निर्णय गरे । उनीहरुले आपफ्नो फिल्म  प्रदर्शनका लागि अस्ट्रेलिया गए । तर, बाटोमा बम्बे आयो । उनीहरुले सोचे कि यहाँ  केही समय रोकिएर किन फिल्म नदेखाउने ?

भारितय फिल्म  उद्योगको सबैभन्दा व्यापक इतिाहस ‘सो मेनी सिनेमाज’ का अनुसार ‘प्रत्येक शोमा १७–१७ मिटर लामो छ फिल्म फिल्म देखाइन्थ्यो ।’

यी फिल्म एक सामान्य दृश्यको फिल्मांकनमा आधारित थियो । तर, त्यसबेला मान्छेको लागि यो निकै अनौठो र चाखलाग्दो कुरा थियो । किनभने उनीहरुले यस्तो चिजको कल्पना पनि  गरेका थिएनन् ।

उदाहरणका लागि, विध्वंसको दृश्यमा केही राजमिस्त्री कुनै भवनको एक ढोका भत्काउने काम गरिरहेको देखाइन्छ  । त्यसो त यो मामुली कुरा हो । तर, पर्दामा ढोका भत्काउँदाको दृश्यले त्यसबेला दर्शकको मनमा यस्तो लाग्थ्यो कि आज एक भयानक दुर्घटना हेरियो ।

फिल्मको केही शो देखाइयो

यसै पुस्तक अनुसार ‘यो फिल्म  बम्बेका मान्छेवीच एकदमै लोकप्रिय भयो । केही समयपछि १४ जुलाई १८९६ देखि बम्बेको नवेल्टी थिएटरमा तीन दिनसम्म यो फिल्मलाई दोहो¥याएर  देखाइयो ।’

लुमियर बन्धुले मान्छेको चासो र उत्साह देखेर नवेल्टी थिएटरमा अरु केही फिल्म पनि जोडिदिए । यो सिलसिला एकदमै लोकप्रिय भयो र पछि  फिल्म हेर्ने यो उत्साह देखेर फिल्मको संख्या २४ बनाइयो ।

फिल्म हेर्ने संख्या बढ्दै गएपछि यसको प्रदर्शनलाई एक महिनासम्म बढाइयो । अतः हलमा परिवारसँग हेर्न आउनेको सुविधाका लागि बक्सको पनि व्यवस्था गरियो ।

फिल्मको टिकट मूल्य पनि बद्लियो । चार आनादेखि दुई रुपैयाँसम्मको विभिन्न सिटको व्यवस्था गरियो । चार आनाको टिकट काट्नेले सबैभन्दा पछाडि बस्नुपर्ने । दुई रुपैयाँको टिकट  काट्नेले सबैभन्दा अगाडि अर्केस्टासँग बस्न पाउने ।

बम्बईमा यस फिल्मको प्रदर्शनको सिलसिला १५ अगस्ट १८९६ सम्म चल्यो । प्रेम पाल अश्कले आफ्नो पुस्तक ‘फिल्म शनासी’ मा लेखेका छन्, ‘टाइम्स अफ इन्डियाले यस फिल्ममा टिप्पणी गर्दै लेखेका थिए कि लुमियर बन्धुको यो आविष्कार आधुनिक युगको एक महान वैज्ञानिक आविष्कार हो ।’

जतिबेला यो फिल्म उपमहाद्वीपमा देखाइदै थियो,  त्यस समय लुमियर बन्धुको तर्फबाट यसै किसिको फिल्म दुनियाको अर्को देशमा पनि देखाइदै थियो । उदाहरणका लागि ७ जुलाई १८९६, जुन दिन यस   फिल्म बम्बेमा प्रदर्शन भयो सोही दिन रुसको सेन्ट पिटर्सबर्ग शहरमा पनि पहिलो पटक चल्ने तस्वीर देखाइयो ।

केही देशमा फिल्मको प्रदर्शन

लगभग सोही समयमा चीन, अष्ट्रेलिया र दक्षिण अफ्रिकामा पनि फिल्म प्रदर्शन गरियो । यूरोप र अमेरिकाको केही शहरमा यो फिल्म  केही हप्ता वा केही महिना पहिले देखाइएको थियो ।

एरिक बार्नो र एस कृष्णा स्वमीका अनुसार, लुमियर बन्धुले आफ्नो आविष्कारको फल दुनियाको सबै महाद्वीपमा देखाउन चाहन्थे । किनभने यदि उनीहरु थोरै मात्र सुस्त भइदिए दोस्रो आविष्कारले यस अवसरको लाभ उठाउनेछ ।

सायद यस्तै भयो, पछिल्लो केही बर्षमा । कुनै दोस्रो फिल्म  निर्माता कम्पनी आफ्नो फिल्म लिएर उपमहाद्वीपमा आए । जनवरी १८९७ मा स्टुअर्ट,  सेप्टेम्बर १८९७ मा ह्युज र १८९८ मा प्रोफेसर  एन्डरसनले बम्बेमा आफ्नो फिल्म र फिल्म निर्माण उपकरण प्रदर्शन गरे ।

दर्शकलाई लाग्यो फिल्मको चस्का

यसका साथै कलकत्ता पनि त्यस आविष्कारको रुचीको केन्द्र बन्यो, जहाँ स्टीवन्सले स्टार थिएटरमा  आफ्नो फिल्म  देखाए ।

लुमियर बन्धुले जस्तै यस फिल्मको प्रदर्शन सिलसिला १५ अगस्ट १८९६ मा समाप्त भयो । तर, दर्शकमा चल्ने तस्विरको ह्यांगओभर रहिरह्यो । त्यसैले केही महिनापछि ४ जनवरी १८९७ देखि मुम्बईको गेटी थिएटरमा फिल्मको नियमित प्रदर्शन सुरु  भयो ।

फिरोज रंगूनवाला आफ्नो किताब ‘ए पिक्टोरियल हिस्ट्री अफ इन्डियन सिनेमा’मा लेखेका छन्, ‘चाडै यस फिल्ममा नयाँ परिवर्तन र आविष्कार पनि गरियो ।  उदाहरणका लागि नेल्सनको मृत्यु, युनान र टर्कीको युद्ध, लन्डनको फायर ब्रिगेटमा आधारित केही वृत्तचित्र र ऐतिहासिक फिल्म  पनि देखाइयो । केही यस्तो फिल्म पनि देखाइयो जुन उपमहाद्वीपमा बनाइएको थियो ।’

सन् १८९८ मा क्रिसमसको खास मौकामा एक विशेष शो मुम्बईमा ‘द अराइभल अफ द ट्रेन र पुणे रेस देखाइयो । यी फिल्म विदेशी निर्माताले बनाएका थिए । साथै विदेशी फिल्मको आयत जारी रह्यो । १ जनवरी १९०० मा २५ वटा नयाँ फिल्म प्रदर्शन गरियो । जुन ब्रिटेन, अमेरिका, इटली, डेनमार्क र जर्मनीबाट आयत गरिएको थियो ।

मिहिर बोसले लेखेका छन्, ‘उपमहाद्वीपमा प्रदर्शन गरिएको यस फिल्मको अधिकांश दर्शक ब्रिटिश र भारतिय थियो, जो अंग्रेजी जीवनशैलीका सौखिन थिए । केही स्थानिय व्यक्तिमा फिल्मको ठूलो प्रभाव रह्यो । यस्तैमा एक थिए हरीशचन्द्र सखाराम भटवाडेकर । उनलाई सावे दादा भनेर पनि चिनिन्थ्यो ।’

‘उनी पेशाले एक फोटोग्राफर  थियो उनले १८८० आसपासमा बम्बेमा आफ्नो फोटोग्राफी स्टुडियो खोलेका थिए । १८९६ मा जब उनले लुमियर बन्धुको फिल्म देखे, तब उनीहरुको जादुले मोहित भए । उनले तुरुन्तै लन्डनबाट एक मोशन पिक्चर क्यामेरा मगाए । संभवत उपमहाद्वीपमा पहिलो पटक आयात भएको क्यामेरा थियो यो । यो क्यामेरा भारतमा सन् १८९७ मा आइपुग्यो । यसैको मद्दतले सावे दादाले दुई कुस्तीबाज, पन्डालक दादा र कृष्ण नेहदीबीच मुम्बईको ह्यांगिङ गार्डेनमा हुने कुस्तीको फिल्मांकन  गरे र यसको प्रोसेसिङका लागि लन्डन पठाए ।

यसै क्रममा उनले एक प्रोजेक्टर पनि खरिद गरे । जब कुस्तीको फिल्म लन्डनबाट फिर्ता आयो, तब उनले यसको प्रदर्शन गरे । उनले दोस्रो फिल्म सर्कस, बाँदरलाई तालिम दिएको विषयमा बनाए । त्यसपछि उनलाई एक महत्वपूर्ण घटनामा फिल्म बनाउने अवसर मिल्यो । एक भारितय छात्रले क्याम्ब्रिज विश्वविद्यालयमा गणितको एक प्रमूख स्थान हासिल गरेका थिए । डिसेम्बर १९०१ मा जब उनी भारत फर्किए तब उनको भव्य स्वागत गरियो । सावे दादाले यस दृश्यलाई कैद गरे । जब यसको प्रदर्शन भयो राष्ट्रवादी भारतियाले यसको एकदमै सराहना गरे । यो उपमहाद्वीपको फिल्म इतिहासमा पहिलो न्यूजरिल थियो ।

सन् २०१३ मा नन्द किशोर विक्रमको किताब ‘अन्तर्राष्ट्रिय उर्दू साहित्य, सिनेमा सताब्दी अंक’ बजारमा आयो । यस किताबमा दावी गरिएको छ कि भारतमा बन्ने पहिलो फिल्म एक विदेशी प्रोफेसर स्टीवेन्सनले बनाएका थिए । १८९८ म ाबनेको यस फिल्मको नाम ‘ए पानोरामा अफ इन्डियन सिन्स एन्ड प्रोसेसस’ थियो । यसलाई फिल्म १८९९ मा लन्डनमा प्रदर्शन गरियो । अहिले पनि यो फिल्म  ब्रिटिश फिल्म संस्थानमा सुरक्षित छ ।

भारतमा सुरु भयो फिल्मको कारोबार

टीएम रामचन्द्रनद्वारा सम्पादित पुस्तक ‘सेभेन्टी इयर्स अफ इन्डियन सिनेमा’का अनुसार यसै क्रममा सन् १९०० मा एक अन्य फिल्म निर्माता चाल्स पाथेले पनि भारतमा फिल्म व्यवसाय सुरु गरे । उनको फिल्मको खास कुरा के भने, त्यसमा भारितय दृश्य पनि समेटिएको हुन्थ्यो ।

एरिक बार्नो र एस. कृष्ण स्वामीका अनुसार हरीश चन्द्र सखाराम र पाथेको सफलतालाई देखेर अन्य केही भारतियले पनि यस्तै फिल्म बनाउने यत्न गरे । जसमा एफबी थानावाला, हीरा लाल सेन र जेएफ मदनको नाम महत्वपूर्ण छ ।

कलकत्तामा बस्ने हीरा लाल सेनलले रोयल बायोस्कोप जस्तै सात लोकप्रिय बंगाली नाटकको विभिन्न दृश्य फिल्मांकन गरे । जेएफ मदन र उनका एलफिंस्टन बायोस्कोप कम्पनीले नियमित फिल्म बनाउने सिलसिला सुरु  गरे ।

यी फिल्म सामान्यत थिएटरमा देखाइन्थ्यो । कहीले काहीँ फिल्म नाटक र जादुको खेलपछि विशेष आइटमको रुपमा प्रस्तुत गरिन्थ्यो । कलकत्तामा हीरा लाल सेनले जुन प्रशिद्ध नाटकको दृश्य फिल्मांकन गरे, जुन यस नाटकपछि देखाइन्थ्यो । मुम्बईका चल्तापूर्जा जादुगर कार्ल हर्ट्जले आफ्नो जादु पछि फिल्म देखाउथे ।

ठूलो शहरमा त यी फिल्म थिएटरमा देखाउन संभव हुन्थ्यो । तर, सानो शहर, गाउँमा यी फिल्म अक्सर बगैंचा वा मैदानमा टेन्ट टाँगेर देखाइन्थ्यो । यस्तो फिल्म चाडै नै पुरा भारतमा लोकप्रिय भयो । तर, उपमहाद्वीपमा फिल्मलाई लोकप्रिय बनाउनमा एक अत्यान्तै महत्वपूर्ण भूमिका जेएफ मदनले निभाए, जसको पुरा नाम जमशेद जी फ्र जी दन थियो ।

उनी मुम्बईका एक पारसी परिवारका सदस्य थिए । थिएटरप्रति उनको उत्साह कलकत्ता लिएर गए । त्यहाँ उनले कोरोनेशन हलमा एकदमै सामान्य भूमिकाबाट आफ्नो करियर सुरु गरे । र, क्रमस एक प्रशिद्ध अभिनेता बने ।

एक दिन यस्तो पनि आयो,  जब उनले थिएटर कम्पनी नै खरिद गरे । जेएफ मदन थिएटरका साथै उनी अरु कारोबारमा पनि जोडिएका थिए । जसमा खानेपिउनेको सामान, मदिरा, औषधि, विमा, सम्पती लेनदेन जस्तो व्यवसाय थियो ।

उनी जीवनभर थिएटरका साथै अन्य कारोबारमा पनि सफल भए । सन् १९०२ मा जेएफ मदनले फिल्म निर्माणको उपकरण खरिद गरे र कलकत्ताको एक मैदानमा आफ्नो बायोस्कोप देखाउने व्यवस्था गरे । यो फिल्म निर्माण, वितरण र प्रदर्शनको एक महान साम्राज्यको सुरुवात थियो । तीन दशकमा उनी ३७ सिनेमाघरका मालिक बनिसकेका थिए ।

त्यही बेला अब्दुल अली यूसुफ अलीले टेन्टमा फिल्म देखाएर आफ्नो करियर सुरु  गरिसकेका थिए । १९०१ देखि १९०७ सम्म उनी पुरा दक्षिण एसियामा आफ्नो बायोस्कोप प्रदर्शन गरिरहेका थिए । सन् १९०८ देखि १९१४ सम्म उनले पुरा भारतमा बायोस्कोपको प्रदर्शन गरे ।

जुन टेन्टमा यो फिल्म देखाइयो, त्यो एक सय फिट लामो र ५० फिट चौडा हुन्थ्यो । यहाँ लगभग एक हजार मान्छे आउथे । अब्दुल अली युसुफ अलीले यस फिल्मलाई लन्डनबाट मगाउथे र एक शोमा चालिसदेखि पचास फिल्म देखाउथे । यसमा कमिक्स, ओपेरा, यात्रा फिल्म, खेल प्रतियोगिता आदि सामेल हुन्थ्यो । त्यसैगरी महारानी भिक्टोरियाको अन्तिम संस्कार र लडाईको दृश्यमा आधारित फिल्म देखाउथे । यी फिल्म पनि एकदमै लोकप्रिय भयो ।

सन् १९१४ मा अब्दल अली युसुफ अलीले एक पार्टनरसँग मिलेर मुम्बईमा एलेक्जेन्ड्रा सिनेमा खरिद गरे र सन् १९१८ मा मजेस्टिक सिनेमाको निर्माण भयो, जहाँ उपमहाद्वीपको पहिलो पूर्ण फिल्म ‘आलम आरा’ प्रदर्शन गरियो ।

फिरोज रंगूनवालाका अनुसार कुनै एक कहानीमा आधारित उपमहाद्वीपको पहिलो फिल्म ‘पंडालक’ थियो । यस फिल्मको निर्माण आरजी तोर्ने र एनजी चतराले गरेका थिए । यो महाराष्टको एक प्रशिद्ध बुर्जुगको जीवनमा आधारित थियो ।

फिल्मलाई कोरोनेशन सिनेमामा प्रदर्शन गरियो र यसलाई हेर्नका लागि हिन्दुलाई विशेष रुपले आमन्त्रित गरियो । केही फिल्म इतिहासकार पंडालकलाई उपमहाद्वीपको पहिलो मूक फिल्म मान्छन् । अहिले अधिकांश इतिहासकार यो उपलब्धी ‘राजा हरिश्चन्द्र’लाई दिन्छन् जुन पंडालकको रिलिज भएको लगभग एक बर्षपछि भयो । यो फिल्म प्रशिद्ध निर्माता दादा साहब फाल्केले बनाएका थिए ।

बिबिसीबाट भावनुवाद  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment