
News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण भारतीय सिनेमा उद्योगले विश्वव्यापी सफलता हासिल गरी बलिउडलाई चुनौती दिएको छ।
- सन् १९१३ देखि १०० वर्षभन्दा पुरानो इतिहास भएको दक्षिण भारतीय सिनेमाले विभिन्न भाषामा फिल्म निर्माण गर्दै विशिष्टता देखाएको छ।
- सफलताको मुख्य कारण विविध भाषामा विश्वव्यापी रिलिज, मौलिकता, र प्रविधि तथा प्रचार रणनीतिले यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको हो।
हालैका वर्षहरूमा दक्षिण भारतीय सिनेमा असाधारण तरिकाले उचाइमा पुगेको छ । एक समय थियो-जुनबेला बलिउडलाई भारतीय सिनेमाको प्रतिनिधि मानिन्थ्यो । तर आजकल दक्षिण भारतको सिनेमा उद्योग रफ्तारमा बढेकाले तत्कालै त्यसो भन्न अलि हतारो भएको हो कि भन्ने लाग्ने अवस्था बनिरहेको छ ।
विशेषगरी तेलुगु, तामिल, मलयालम र कन्नड फिल्महरूले बक्स अफिस र दर्शकको मन जित्ने सवालमा बलिउडलाई उछिन्न थालिसकेका छन्।
‘केजीएफ’, ‘पोनियन सेल्भन’, ‘आरआरआर’, ‘कान्तारा’, ‘कल्की २८९८ एडी’ जस्ता चलचित्रहरूको विश्वव्यापी सफलता र केही अघि सम्पन्न ७०औं राष्ट्रिय फिल्म पुरस्कारमा दक्षिण भारतीय सिनेमाको वर्चश्वले यस प्रवृत्तिलाई अझ पुष्टि गर्छ ।
यो अवस्थाका आधारमा भन्न सकिन्छ कि, दक्षिण भारतीय सिनेमा अब केवल भारतमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म फैलिसकेको छ ।
दक्षिण भारतीय सिनेमाको इतिहास
यसमा मुख्यतया चार प्रमुख भाषिक उद्योगहरू-तामिल, तेलुगु, कन्नड र मलयालम पर्छन् । समग्रमा यिनको इतिहास 100 वर्षभन्दा पुरानो छ ।
मुम्बईमा दादासाहेब फाल्केले ‘राजा हरिश्चन्द्र’ (१९१३) बनाएपछि यसको प्रभाव मद्रास (अहिले चेन्नई) सम्म आइपुग्यो । दक्षिण भारतमा बनेको पहिलो फिचर फिल्म ‘कीचक वधम्’ (१९१८) हो । जुन तामिल भाषाको थियो ।
आर. नटराज मुदलियारले निर्देशन गरेको यो फिल्म आवाजविहीन थियो । आजकल उनलाई ‘तामिल सिनेमाका पिता’ पनि भन्ने गरिन्छ । उनले नै त्यस भेगमा पहिलो फिल्म स्टुडियो स्थापना गरेका थिए ।
त्यस्तै सन् १९३१ मा ‘आलम आरा’ रिलिज भएपछि दक्षिण भारतीय सिनेमामा पनि आवाज सहितका फिल्महरू बन्न थाले । तुलनात्मक रूपमा मलयालम सिनेमामा आवाजको सुरुवात अलि ढिलो भएको थियो ।
तर दक्षिण भारतीय फिल्म निर्माणको प्रमुख केन्द्र मद्रास (चेन्नई) बन्न थालेपछि भने एक प्रकारको क्रान्ति नै भयो । त्यससमयमा चलचित्रकर्मीहरू पनि परम्परागत पौराणिक कथाहरूबाट बाहिर निस्केर सामाजिक यथार्थवादतर्फ लाग्न थालेका थिए ।
सन् १९९० को दशकपछि भने व्यावसायिकताका लागि मसलेदार फिल्महरूको दबदबा रहन थाल्यो । यो समयमा एक्सन, कमेडी, रोमान्स, ड्रामाको मिश्रण भएका फिल्महरूले बक्स अफिसमा धूम मच्चाएका थिए ।
अहिले हालैका वर्षहरूमा भने दक्षिण भारतीय सिनेमाका लागि क्रान्तिकारी साबित भइरहेको छ । प्रविधिको विकास, कथा वाचनमा नयाँ शैली, महत्त्वाकांक्षी प्रोजेक्टहरूले यसलाई क्षेत्रीय सीमाबाट बाहिर निकालेर ‘प्यान-इन्डियन’ (अखिल भारतीय) पहिचान दिने अवस्थामा पुर्याइदिएको छ ।
तर दक्षिण भारतीय फिल्मलाई आजको उचाइमा पुर्याउन विभिन्न कालखण्डका अनेकौं प्रतिभाशाली व्यक्तिहरूको योगदान छ ।
यसमा आर.नटराज मुदलियार, एम.जी. रामचन्द्रन (एमजीआर), शिवाजी गणेशन, एन.टी. रामाराव (एनटीआर), अक्किनेनी नागेश्वर राव (एएनआर), के.बालचन्दर, भारतीराजा, रजनीकान्त, कमल हासन, चिरञ्जीवी, इलैयाराजा, ए.आर.रहमान, एस.एस. राजामौली, प्रशान्त नील, शंकर जस्ता निर्देशकहरूको ठूलो भूमिका छ ।
सफलताको कारण
व्यक्तिसँगै दक्षिण भारतीय सिनेमा सफल हुनुमा अन्य विविध कारण नि छन् । मुख्य कुरा भनेको यी चलचित्रहरू विभिन्न भाषाहरूमा भारतभर रिलिज हुन्छन् । त्यसले गर्दा अन्य भाषीहरूमाझ सहजै चलचित्र पुग्छ । भाषाको विविधिकरणसँगै यी फिल्महरू मौलिक, सांस्कृतिक रूपमा विशिष्ट र शैलीगत रूपमा नवीन हुनु पनि हो ।
आजभोलि भने दक्षिण भारतीय चलचित्रहरूमा फरक-फरक शैली र विधाका विषयहरू उठाउन थालिएको छ । सांस्कृतिक मौलिकता र विश्वसनीय कथा भन्ने सीपले गर्दा यी फिल्महरू विश्वव्यापी दर्शकहरूसँग गहिरो सम्बन्ध बनाउन सफल भएका छन् । ‘कान्तारा’ जस्तो चलचित्र स्थानीय परम्परा, भूमि विवाद, प्रकृति दोहन जस्तो गहिरो विषय उठाउँदै विश्वव्यापी दर्शकहरूमाझ रुचाइएको उदाहरण हो ।
अब त यस भेगका फिल्मको गुणस्तर पनि बलिउडभन्दा कम छैन । यसको पुष्टि त केही अघि भएको ७०औं राष्ट्रिय चलचित्र पुरस्कारमा भएको थियो । त्यहाँ मलयालम चलचित्र ‘आत्तम’ ले उत्कृष्ट चलचित्रको उपाधि जितेको थियो ।
त्यसबाहेक अन्य धेरै दक्षिण भारतीय चलचित्रहरूले विभिन्न विधाहरूमा पुरस्कार पाए । समग्रमा विभिन्न विधामा दक्षिण भारतीय चलचित्रले कुल २० वटा पुरस्कार हात पार्दा हिन्दी चलचित्र केवल ६ वटा पुरस्कारमा सीमित रहेको थियो ।
अझ त बलिउड छाडेर दक्षिण भारतीय सिने क्षेत्रमा चर्चित सिनेकर्मीहरू जान पनि थालेका छन् । तर धेरैले बलिउड र दक्षिण भारतीय सिनेमामा सँगसँगै काम गर्ने गरेको पनि पाइन्छ ।
यसबाहेक प्रचार रणनीतिलाई पनि कारण मानिएको छ । यस विषयमा सिने क्षेत्रको व्यापार विश्लेषक विपिन कुमार यस उद्योगमा हरेक चलचित्रको प्रचार रणनीति त्यसको विषयवस्तु र लक्षित दर्शकअनुसार तयार गरिने बताउँछन् । जुन चलचित्रको घोषणा, रिलिजअघिको प्रचार, रिलिजपछिको समीक्षाका लागि गरिने उनको भनाइ छ ।
सोहीकारणले बक्स अफिसमा नयाँ कीर्तिमान कायम भइरहेको बताइन्छ । यी क्षेत्रका फिल्मले घरेलु बजारमा मात्र होइन अमेरिका, मध्यपूर्व, दक्षिण-पूर्व एसिया लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत कीर्तिमानी आम्दानी गरिरहेका छन् । त्यसमा भारतबाहिरका प्रवासी दर्शकहरू ठूलो योगदानकर्ता हुन् ।
उनीहरू आफैं पहिलो दिन चलचित्र हेर्न र आफ्ना साथीहरूलाई सिफारिस गर्न आतुर हुन्छन् । यसले गर्दा कुनै पनि सिनेमाको ओपनिङलाई बलियो बनाउने गर्छ ।
किन पछि पर्दैछ बलिउड ?
यसरी अहिले चलिरहेको दृश्यलाई सारांश भन्दा भारतीय सिनेमामा एउटा रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ । जुन दक्षिण भारतीय फिल्म उद्योग र बलिउडबीचको ‘युद्ध’ हो । बक्स अफिस त छँदैछ । यसबाहेक कथावस्तु, उत्पादनको गुणस्तर र दर्शकमाझ पुग्ने क्षमतामा पनि यो युद्ध फैलिएको छ ।
अब जुन उद्योग यी कुरामा चुक्छ, ऊ पछि पर्ने देखिन्छ । तर अहिले बलिउडमा मौलिकताको कमी देखिन थालेको छ । सफल विदेशी फिल्महरूको रिमेक वा पुरानै फर्मुलाका फिल्महरूमा बढी निर्भरता भइरहेको छ । त्यसमाथि ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’ जस्ता फिल्महरूको भव्य दृश्य, एक्सन र भिजुअल इफेक्ट्स (भीएफएक्स) ले ठूलो संख्यामा दर्शकहरूलाई लोभ्याइरहेको छ ।
यसले गर्दा अब बलिउड सचेत भइसकेको छ । दर्शकहरूलाई आकर्षित गर्न नयाँ र बलियो कथावस्तुमा ध्यान दिन थाल्नु, दक्षिण भारतीय निर्देशक, लेखक र कलाकारहरूसँग मिलेर काम गर्न थाल्नु त्यसको उदाहरण हो ।
प्रतिक्रिया 4