+
+
Shares

बलिउड उदयको कथा : भारतीय सिनेमा र सेलिब्रेटी सँस्कृति

सापेक्ष सापेक्ष
२०८२ जेठ २७ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउडको इतिहास सन् १८९९ मा सुरु भएको हो र यसको प्रभाव विश्वव्यापी छ।
  • सन् १९३१ मा आवाज सहितको पहिलो फिल्म ‘आलम आरा’ बनाइयो र बलिउडले सामाजिक र सांस्कृतिक परिवर्तनमा भूमिका खेलेको छ।
  • आजको बलिउडमा सङ्गीत र नृत्यको मुख्य भूमिका रहँदै आएको छ, तर नृत्य शैलीमा पश्चिमी प्रभाव र यौनिकता बढ्दै गएको छ।

काठमाडौं । भारतको मूलधारको चलचित्र उद्योगलाई एक शब्दमा बलिउड भनिन्छ । आज यसको प्रभाव, लोकप्रियता, व्यापार, विवाद आदि चर्चाका विषय हुन् । तर पश्चिमी जगतमा प्रायः बलिउड बेवास्ताको विषय हुने गर्छ । अझ अहिले भारतमै पनि प्रान्तीय चलचित्र उद्योगहरू फस्टाइरहेका कारण बलिउड ओझेलमा पर्दै गइरहेको त छैन भन्ने बहस सुरु भइसकेका छन् ।

तर बलिउडको इतिहास हलिउडजत्तिकै पुरानो र समृद्ध छ । किनकि हलिउडले हेज कोड (सन् १९३०–६८ सम्म अमेरिकामा लागू गरिएको फिल्म सेन्सर नियम) सामना गरिरहेका बेला भारतीय निर्माताहरूले भने चलचित्रलाई प्रगति र सामाजिक परिवर्तनको माध्यमको रूपमा प्रयोग गरिरहेका थिए ।

बलिउडका अधिकांश विषयवस्तु चलचित्र बनेको समय आसपाससँग नै हुनेगर्छ । तर यसको शैली भने पुरातन साहित्य र नाटकबाट प्रेरित भएको देखिन्छ । जुन आजका चलचित्रहरूमा पनि पाइन्छन् । परम्परागत र आधुनिक तत्वहरूको यो फ्युजन नै बलिउडको चिनारी बनेको छ । यही कारणले चलचित्र जगतमा हलिउडजस्तै बलिउड पनि अग्रपङ्क्तिमै रहेको भन्न सकिन्छ ।

बलिउडको इतिहास

बलिउडको आधिकारिक सुरुआत सन् १८९९ मा भएको मानिन्छ । त्यसबखत सखाराम भातवडेकरले बेलायतबाट क्यामेरा ल्याएर मुम्बईको ह्याङ्गिङ गार्डेन्समा भएको कुस्तीको भिडिओ खिचेका थिए । जुन बेलायतको पहिलो चलचित्र ‘ट्राफिक क्रसिङ लिड्स ब्रिज’ बनेको दश वर्षपछिको समय थियो ।

तर भारतको पहिलो फूल लेन्थको साइलेन्ट फिल्म भने ‘राजा हरिश्चन्द्र’ हो । जुन सन् १९१३ मा दादासाहेब फाल्केले बनाएका थिए । तर त्यसको दुई दशक नबित्दै भारतमा हरेक वर्ष २०० वटा फिल्म बन्ने अवस्था भइसकेको थियो । अहिले त बलिउड विश्वकै सबैभन्दा ठूलो फिल्म उद्योगमध्येको एक बनेको छ । हाल यहाँ वार्षिक एक हजार बढी चलचित्रहरू बन्ने गरेका छन् ।

हलिउडमा जस्तै भारतमा पनि जब फिल्ममा आवाज थप्न सकिने प्रविधि भित्रियो, त्यसपछि साइलेन्ट फिल्महरू स्वतः बन्न छाडे । भारतमा सन् १९३१ मा आवाज सहितको पहिलो फिल्म ‘आलम आरा’ बनेको थियो । उक्त फिल्म अर्देशिर ईरानीले बनाएका थिए । तर उनले यो फिल्म बनाउन सन् १९२९ को हलिउड ‘शो बोट’बाट प्रेरणा लिएका थिए ।

कतिपयले भने ‘आलम आरा’ कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ सँग मिल्दोजुल्दो रहेको बताउने गर्छन् । किनकि दुवैमा मुख्य पात्र आफ्नो परिवारभन्दा बाहिर रहेर नै हुर्कनु पर्छ । यसरी बलिउडको जग नै संस्कृत ग्रन्थ नाट्यशास्त्रमा निहित रहेको छ । ६ हजार श्लोकहरूको उक्त ग्रन्थले नाटकको उत्पादन, प्रदर्शनका सबै तत्वहरूबारे चर्चा गरेको छ ।

यद्यपि सन् १९३० को दशकपछि भने पौराणिक कथाहरूबाट साधारण मानिसहरूको कथा पनि चलचित्रहरूमा आउन थाले । त्यही सिलसिलामा भारतको पहिलो रङ्गिन फिल्म ‘किसान कन्या’ बन्यो ।

सन् १९३७ मा सार्वजनिक भएको यो चलचित्रलाई मोती बी गिडवानीले निर्देशन गरेका थिए । तर भारतमा रङ्गिन चलचित्र बन्नमा जर्मन फिल्म निर्माताहरूको योगदान अविस्मरणीय छ । किनकि १९३० को दशकमा केही भारतीय निर्माताहरू जर्मनीमा गएर सम्बन्धित प्रविधिहरू सिकेर स्वदेश फर्केका थिए ।

बलिउडको ’स्वर्णिम युग’

हलिउडमा जस्तै सन् १९५० र ६० को दशकलाई बलिउडको ’स्वर्णिम युग’ भनेर भन्ने गरिएको छ । किनकि यसै समयमा मुगल–ए–आजम (१९६०), नयाँ दौर (१९५७), मदर इन्डिया (१९५७) जस्ता चलचित्रहरू निर्माण भएका थिए । यस समयका चलचित्रहरूमा सामान्य मानिस नै मुख्य पात्र हुन्थे । तर उनीहरूले अनपेक्षित समस्याको सामना गर्नुपर्ने हुन्थ्यो ।

यसबाहेक भारत–पाकिस्तानको विभाजनपछि भारतीयहरूको जीवनमा आएका उतारचढाव र उनीहरूको वास्तविक अवस्था पनि चलचित्रमा देखाइन्थे । जुन बलिउडको ’स्वर्णिम युग’का धेरैजसो फिल्महरू त्यसै दशकमा बनेका थिए।

यद्यपि हलिउडको नव उदारवादी र हेज कोड भएको ’स्वर्णिम युग’को तुलनामा बलिउडको यस समयका धेरै चलचित्रहरूले भने समाजवादी राजनीतिक सन्देशहरू दिएका छन् । उदाहरणका लागि, बिमल रोयले निर्देशन गरेको दो बिघा जमिन (१९५३) मा एक किसान र उसको परिवारको त्रासद कथा देखाइएको छ । अचम्मै मान्नु पर्छ, यस्ता बलिउड फिल्महरू तत्कालीन सोभियत संघमा समेत लोकप्रिय भएका थिए ।

सेलिब्रेटी संस्कृति

भारतका सुरुआती फिल्मका स्टारहरू पहिले नै प्रसिद्ध थिएटर कलाकारहरू थिए । यसले गर्दा उनीहरूका प्रशंसकहरू चलचित्र हेर्न आइपुगी हाल्थे । कलाकारहरू स्क्रिनमा देखिन थालेपछि विस्तारै फ्यानडम पनि सिल्भर स्क्रिनमा सरेको थियो ।

बलिउडका सुरुआती सेलिब्रेटीमध्येकी एक हुन् सुलोचना । उनी मुम्बईको इराकी यहुदी समुदायकी थिइन् । उनलाई प्रसिद्धी भने साइलेन्ट फिल्मबाटै मिलेको थियो । तर आवाज सहितको चलचित्रहरू बन्न थालेपछि भने उनले अभिनयबाट एक वर्ष जति छुट्टी लिनुपरेको थियो । यसको कारण भनेको भाषाको समस्या थियो । उनीबाहेक दादासाहेब फाल्के, दिलीप कुमार, राज कपूर, नर्गिस, मधुबाला, देव आनन्द बलिउडका सुरुआती सेलिब्रेटी हुन् ।

भारतीय सिनेमा र राजनीतिको सम्बन्ध

सन् २०२३ को सुपरहिट फिल्म ’जवान’को अन्त्यमा कलाकार शाहरुख खानले क्यामेराअघि केही राजनीतिक टिप्पणी गर्छन् । जहाँ उनले भोट हाल्ने महत्त्व र नेताहरूलाई जवाफदेही बनाउनुपर्ने कुरामा जोड दिन्छन् । तर भारतीय सिनेमाको लागि यो कुनै नौलो कुरा भने होइन ।

सन् १९३० को दशक आसपास बनेका चलचित्रहरूमा भारतीय स्वतन्त्रताको समर्थनमा बोलिएका कुराहरू हालिएका हुन्थे । त्यति मात्र होइन युद्ध, बेरोजगारी, महिला अधिकार, सम्बन्धविच्छेद, नागरिक अधिकारहरूलाई चलचित्रको विषयवस्तु बनाइन दिइँदैन थियो । यसरी बलिउडमा भारतीय राजनीतिको प्रत्यक्ष प्रभाव रहेको छ ।

आधुनिक बलिउड

आजको बलिउड पहिलेको भन्दा धेरै परिवर्तन भइसकेको छ । तर मूल आत्मा अझै बाँकी छ । त्यो भनेको सङ्गीत र नृत्य हो । सायद बलिउडबाट यी दुई कुरा हटाउने हो भने भारतीय चलचित्र बलिउड हुँदैन । चाहे फिल्मको विधा जुनसुकै होस् त्यहाँ सङ्गीत र नृत्य हुनैपर्छ जस्तो भाष्य स्थापित भएको छ ।

हुन त सङ्गीतले दर्शकलाई मनोरञ्जन दिने अथवा कथालाई अघि बढाउने काम मात्र गर्दैन । यसले फिल्मको टोन सेट गर्छ । अहिलेका आधुनिक बलिउड सिनेमाले पनि यही कुरालाई निरन्तरता दिइरहेको देख्न सकिन्छ । तर हालका बलिउड चलचित्रहरूमा नृत्यको शैलीमा भने धेरै परिवर्तन आएको छ । यसमा पश्चिमी तत्वहरू अपनाउनेदेखि धेरै यौनिककरण गर्न थालिएको छ ।

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?