
News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड लस एन्जलसको एउटा क्षेत्र हो, जुन विश्वको सबैभन्दा ठूलो चलचित्र उद्योगको घर हो।
- यसको इतिहास सन् १८८७ मा हार्भे विल्कक्सले बस्ती खडा गरेसँग सम्बन्धित छ र सन् १९१० देखि चलचित्र निर्माण सुरु भयो।
- हलिउडले विश्वव्यापी प्रभाव र प्रविधि प्रयोगमार्फत चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याएको छ।
हलिउड – सायद यो नाम संसारका धेरै देशका लागि अपरिचित छैन । नेपालमा समेत सिने क्षेत्रमा यो नाम बारम्बार लिइने गरिन्छ । भन्नै पर्दा काठमाडौंको कुनै मल्टिप्लेक्सदेखि हुम्लाको कुनै एउटा गाउँको मोबाइल स्क्रिनसम्म हलिउड पुगिसकेको छ । अझ कतिपयले हलिउडबारे थाहै नपाई फिल्महरू, किस्साहरू, तथ्यहरू सुनेका हुन सक्छन् ।
त्यसो भए के हो त हलिउड ? फिल्म स्टुडियो हो कि कुनै ठाउँ? कस्तो छ यसको इतिहास ? कस्तो छ अवस्था ?
के हो हलिउड ?
ठ्याक्कै भन्दा यो एउटा ठाउँको नाम हो । लस एन्जलस, क्यालिफोर्नियाको एउटा सानो क्षेत्र करिब ३०.८ वर्ग किलोमिटर (१२ वर्ग माइल) क्षेत्रफलमा फैलिएको यो ठाउँ फिल्मको एउटा पर्यायवाची नाम जस्तै बनेको छ ।
यो ठाउँ लस एन्जलसको उत्तरपश्चिम भागमा पर्छ । यसको सीमाना उत्तरमा सान्ता मोनिका माउन्टेन, दक्षिणमा बेभर्ली बुलेभार्ड, पूर्वमा हाइपेरियन एभेन्यु र पश्चिममा बेभर्ली हिल्स रहेको छ । वर्षभरि सुन्दर मौसम, फरक-फरक भूगोल (पर्वत, समुद्र, मरुभूमि) र पर्याप्त खुला स्थान भएकाले यो क्षेत्र चलचित्र निर्माणका लागि उपयुक्त छ ।
हुन त यो ठाउँको नाम हो । तर समयक्रममा सारा अमेरिकी फिल्म उद्योगलाई नै प्रतिनिधित्व गर्ने उपमा बन्यो । आज हलिउड भन्नाले चलचित्र, टेलिभिजन, वेब सिरिज, एनिमेसन जस्ता मनोरञ्जनका समग्र समूह बुझिन्छ ।
अझ विस्तृतमा भन्दा विश्वको सबैभन्दा ठूलो चलचित्र उद्योगको घर हो, हलिउड । जहाँ वाल्ट डिज्नी, युनिभर्सल पिक्चर्स, वार्नर ब्रदर्स, पारामाउन्ट पिक्चर्स जस्ता स्टुडियोहरू रहेका छन् ।
हलिउडको इतिहास
हलिउडको विस्तृत इतिहास छ। तर इतिहासबारे फरक फरक कुराहरू पाइन्छन् । यसको कारण भने हलिउड कुनै एक व्यक्ति अथवा समूहका कारण बनेको होइन । त्यसमाथि पनि सो इतिहासलाई धेरैको दृष्टिकोणबाट हेरिएको छ ।
तर प्रचलित कथाअनुसार हार्भे विल्कक्स नामका रियल इस्टेट व्यापारीले सन् १८८७ मा एउटा बस्ती खडा गरे । र, त्यसको नाम राखे ‘हलिउड’। तर चलचित्र उद्योगको इतिहास भने सन् १९१० को दशकदेखि मात्र सुरु भएको पाइन्छ ।
त्यसबेला डी. डब्लु. ग्रिफिथले ‘इन ओल्ड क्यालिफोर्निया’ नामक फिल्म बनाएका थिए । जुन हलिउडमा निर्माण गरिएको पहिलो फिल्म हो । यसै गरी सिने क्षेत्रलाई बुझाउन यो नाम दिने व्यक्ति भने एच. जे. ह्विटली बताइन्छ । आजकल उनलाई ‘फादर अफ हलिउड’ भनेर समेत चिनिने गरिन्छ ।
त्यसैगरी हलिउडमा स्थापना भएको पहिलो स्टुडियो ‘नेस्टोर स्टुडियोज’ हो । जुन १९११ मा खुलेको थियो । त्यसपछि क्रमश: अन्य स्टुडियोहरू खुल्ने र चलचित्र निर्माण हुने प्रक्रिया बढ्दै गयो । तर कतिपयले भने न्यू योर्कको कानूनी अल्झनबाट जोगिन कम्पनीहरूलाई हलिउड सारेको भन्ने गर्छन् ।
जे जस्तो भए पनि अहिले फर्केर हेर्दा २० देखि ६० को दशकलाई हलिउडको ‘स्वर्ण युग’ भनेर चिनिन्छ । यो समयमा आवाजसहितको पहिलो चलचित्र बनाउने, पहिलो एकेडेमी अवार्ड समारोह आयोजना गर्ने, फुल लेन्थको एनिमेटेड फिचर फिल्म बनाउने, हलिउड वाक अफ फेम स्थापना गर्ने जस्ता कामहरू भएका थिए ।
यसरी एउटा ठाउँलाई अर्कै परिचय दिनमा सयौंको भूमिका छ । तर अल्फ्रेड हिचकक, स्ट्यान्ली कुब्रिक, स्टीभन स्पिलबर्ग, मार्टिन स्कोर्सेसी जस्ता निर्देशक, मेरिल स्ट्रिप, टम ह्याङ्क्स, मर्लिन मोनरो, लियोनार्डो डिक्याप्रियो जस्ता कलाकारहरू अग्रपङ्क्तिमा आउँछन् । तर त्यसमा लगानी र प्रविधिको पनि उत्तिकै भूमिका छ ।
यद्यपि कलाकारहरूको व्यक्तिगत जीवन, स्टुडियोका गलत व्यवहार र सामाजिक तथा राजनीतिक मुद्दाहरूमा भएका विभिन्न काण्ड तथा विवादहरूबाट हलिउड मुक्त छैन । जातिवाद, लैङ्गिक असमानता, कर्पोरेट नियन्त्रण जस्ता कुराहरू हलिउडका सदाकालिन दोषहरू हुन् ।
हलिउडको सफलता
अहिले एउटा हलिउड फिल्मको औसत बजेट नै ७० देखि १०० मिलियन डलर हुन्छ । संसारभरका करिब ८० प्रतिशत चलचित्र व्यवसायमा हलिउडको प्रभाव देखिएको छ । हलिउडलाई विश्वको सबैभन्दा ठूलो र प्रभावशाली चलचित्र उद्योगको रूपमा चिनिन्छ। तर यो त्यतिकै भएको होइन । यसका केही कारणहरू छन् ।
मुख्य कारण भनेको ठूलो संख्यामा दर्शक हुनु हो । हलिउड चलचित्रहरू विश्वभरि रिलिज हुन्छन् । अङ्ग्रेजी भाषा विश्वभरि व्यापक रूपमा बोलिने र बुझिने भएकाले पनि हलिउडलाई यो स्तरको सहयोग मिलेको हो ।
यसबाहेक हलिउडले कहिल्यै पनि आफ्नो चलचित्रको कथावस्तुमा सम्झौता गर्दैन । यदि चलचित्रको कथावस्तु एक्सन-थ्रिलर हो भने यसले पूरै चलचित्रभरि त्यही विषयमा मात्र ध्यान केन्द्रित गर्छ। बरु चलचित्रलाई सकेसम्म राम्रो बनाउन अत्याधुनिक प्रविधि र ग्राफिक्सहरूको प्रयोग गर्छ ।
कम्प्युटर जेनेरेटेड इमेजरी (सीजीआई), भीएफएक्स, थ्रीडी, मोसन क्याप्चर जस्ता प्रविधिहरू हलिउडको उपज हुन् । सँगै त्यहाँ ध्वनिमा पनि राम्रो काम हुन्छ। जसले गर्दा चलचित्र हेर्ने दर्शकलाई नयाँ र रोचक अनुभव मिल्छ ।
त्यसैगरी राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने परम्परा पनि हलिउडले बसालेको छ । एकेडेमी अवार्ड (ओस्कर), गोल्डेन ग्लोब्स, एम्मी अवार्डहरू यहीं सुरु भएका हुन्। यसले काम गर्नेहरूलाई छुट्टै ऊर्जा तथा हौसला मिल्छ ।
त्यस्तै सस्तो श्रम, मार्केटिङ, मर्चेन्डाइजिङ जस्ता कुराले पनि हलिउडलाई यो सफलता दिलाएको हो ।
समग्रमा, अहिले हलिउड अमेरिकी फिल्महरू मात्र नभएर एउटा सोच बनेको अवस्था छ । हलिउडले फिल्मी संसारलाई नयाँ नयाँ प्रविधि र भाष्यहरू दिएको छ। सम्भावना र अवसर देखाएको छ । एउटा सानो बस्ती आज फिल्मको सांस्कृतिक राजधानी बनेको छ । यसकारण हलिउड सपना र वास्तविकताको संगमस्थल हो। क्यामेराले कल्पनालाई जीवित बनाउने र पर्दामा देखिने कथा संसारभरका मनमा बसाउने माध्यम हो ।
प्रतिक्रिया 4