Comments Add Comment

कोरोनाको कारण गुम्यो एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपालको अवसर

२ साउन, काठमाडौं । खेलाडीहरु उत्साहित थिए । राम्रो माहोलमा ट्रेनिङ गर्न पाएका थिए । त्रिपुरेश्वर नजिकै होटलमा बसेर राखेपको कभर्ड हलमा दैनिक दुई पटक ट्रेनिङ गर्दै आएका थिए । यो क्रम एक महिनादेखि निरन्तर थियो ।

पहिलो पटक एसियन च्याम्पियनसिप खेल्ने खबरले उत्साहित बनेको नेपाली टोली प्रशिक्षण सुरु भएपछि झन् उत्साहित थिए । त्यसमा पनि एसियाका पावर हाउस मानिने राष्ट्रहरुसँगै आफूले पनि खेल्न पाउनेमा खुशी थिए ।

नेपालले कम्तीमा ठूला टिमसँग खेल्ने अवसरलाई सदुपयोग गर्ने लक्ष्य राखेको थियो । नेपालले अहिलेसम्म खेलेको ठूला टिममा दक्षिण एसियामा भारत थियो भने एसियामा इरान थियो ।

यस पटक कोरिया थाइल्याण्ड चाइनिज ताइपेइ जस्ता टिमसँग पनि खेल्ने खेल्ने अवसर पाउँदै थियो ।

नेपाल भलिबल संघले पनि बन्द प्रशिक्षणमा राखेर खेलाडीहरुलाई प्रशिक्षण दिइरहेको थियो ।

तर शुक्रबार आएको खबरले भने सबै उत्साहलाई निराशामा परिणत गर्‍यो । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) ले २१औं संस्करणको एभिसी सिनियर वुमन्स च्याम्पियनसिपको लागि समूह विभाजन गर्दा ८ टिम मात्र थियो । त्यसमा नेपाल थिएन ।

केही समयअघि मात्रै एभिसीले १२ टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको जनाएको थियो । त्यसअघि १७ टिमले खेल्ने भनिएकोमा चीन सहित ५ राष्ट्रले नाम फिर्ता लिएको थियो । नेपाल भने पहिलो पटक खेल्न जाँदै थियो ।

खेल्ने पक्का भएका १२ मध्ये ८ टिमले मात्र अगष्ट-सेप्टेम्बरमा हुने प्रतियोगिता खेल्ने भए । नेपालसहित दक्षिण एसियाका भारत, अनि जापान र हङकङ नखेल्ने भयो ।

यसको कारण कोभिड-१९ बन्यो । अहिले नेपालमा कोभिड-१९ को असर बढ्दो छ । साथै विभिन्न राष्ट्रले नेपाललाई अहिले रेड जोनमा राखेको छ र इन्ट्री दिएको छैन । त्यसको असर खेलकुदमा पनि प्रष्ट देखिन थालेको छ ।

यो पनि पढ्नुस् – नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने

फिलिपिन्समा अहिले नेपाल र भारतलाई इन्ट्री परिसन नरहेकोले एभिसीमार्फत यी दुई दुई एसियाली राष्ट्रलाई खेल्नबाट बन्चित गराएको हो ।

यस्तै जापान र हङङले भने आफैँ नाम फिर्ता लिएका हुन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् ।

‘कोभिड१९ को अवस्थाले गर्दा जापान र हङकङले नाम फिर्ता लिएका छन् । फिलिपिन्स सरकारले भारत र नेपालको जतालाई आफ्नो देश प्रवेशमा ब्यान गरेकोले दुवै टिम फिलिपिन्समा प्रवेश गर्न सक्दैनन्,’ नेपालले खेल्न नपाउनुको कारणबारे अनलाइनखबरले सम्पर्क गर्दा एभिसीले इमेलमा यस्तो जवाफ दिएको थियो ।

अब नेपाल, भारत, जापान र हङकङले एसियन च्याम्पियनसिप खेल्ने छैनन् ।

यस्तै नेपाल भलिबल संघ एनभीएले एभिसीको निर्णयपछि विज्ञप्ति जारी गर्दै कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशील क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको जनाएको छ ।

नेपाली खेलाडीहरुले यति ठूलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि ठूलै तयारी गरिरहेको थियो । तर खेल्ने नपाउने भएपछि यसले खेलाडीको उत्साहलाई निराशा बनायो ।

खेलाडीहरुले पनि अब यस्तै रहेछ भनेर चित्त बुझाउँदैछन् । एक महिनासम्म घर बाहिर बसेर प्रशिक्षण गरेको अर्थ नहुने भएको छ ।

यसअघि चीनमा आयोजना हुने भनिएको यस प्रतियोगिता चीनले आयोजनकबाट नाम फिर्ता लिएपछि फिलिपिन्सले गर्ने भएको थियो । चीनले प्रतियोगिताबाटै यसअघि नाम फिर्ता लिइसकेको छ ।

अब ८ टिम बाँकी छ । ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा आयोजक फिलिपिन्स, कजाखस्थान, चाइनिज ताइपेइ र उज्वेकिस्तान छन् । यस्तै समूह बी मा थाइल्याण्ड, कोरिया, इरान र अष्ट्रेलिया छन् । च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुँदैछ।

बन्द प्रशिक्षण स्थगित

च्याम्पियनसिप खेल्न नपाउने भएपछि नेपालको बन्द प्रशिक्षण समेत स्थगित भएको छ । एनभीएले शुक्रबारै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको विज्ञप्तीमा जनाएको छ ।

यसपटक एनभिएले खेलाडीहरुलाई राम्रो होटलमा राखेर बन्द प्रशिक्षण गराएको थियो । यस्तै टिममा दुई प्रशिक्षक दुई जना ट्रेनरसमेत राखेको थियो । साथै फिजियोसमेत राखेको थियो ।

च्याम्पियनसिपका लागि नेपालले एक महिनाअघि देखि बन्द प्रशिक्षण सुरु गरेको थियो । सुरुमा एनभीएले बन्द प्रशिक्षणमा ३० खेलाडी बोलाएकोमा नेपाल पुलिसले ३ खेलाडी नपठाएपछि २७ खेलाडीले प्रशिक्षण गरेका थिए । त्यसपछि एनभिएले बनाएको खेलाडी छनोट समितिले १८ खेलाडी छनोट गरेको थियो । बाहिरिएका ९ खेलाडीलाई समेत सं३ले पकेट मनी दिएर घर पठाएको थियो ।

अन्तिम चरणमा १४ खेलाडी छनोट गर्ने तयारी थियो । तर नेपालले अब च्याम्पियनसिप खेल्न नपाउने भएपछि एनभीएले प्रशिक्षण पनि रोकेर खेलाडीहरुलाई रिलिज गर्ने जनाएको छ।

प्रशिक्षणमा रहेका खेलाडीहरुलाई शनिबार रिलिज गर्ने एनभीएले जनाएको छ ।

२०७६ मा नेपालको महिला टिमले दुई ठूला उपलब्धि हासिल गरेपछि संघले पनि महिला टिमलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेको थियो । नेपालले २०७६ कात्तिकमा बंगलादेशमा भएको पहिलो संस्करणको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो भने त्यही वर्ष मंसिरमा घरेलु कोर्टमा भएको १३औं सागमा रजत पदक जितेको थियो । दुवै नेपालको ऐतिहासिक उपलब्धि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment