News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि काठमाडौँमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपले नेपाली महिला भलिबलको भविष्य र अन्तर्राष्ट्रिय वरीयता निर्धारण गर्नेछ।
- नेपालले उपाधि जितेमा एसियन कप खेल्न पाउनेछ र विश्व वरीयतामा शीर्ष ६० भित्र पर्न सक्ने भलिबल सङ्घले दाबी गरेको छ।
- नेपाली टोलीमा ६ नयाँ खेलाडी छन् र कप्तान निरुता ठगुन्नाले नेतृत्व गर्दैछिन्, जसले घरेलु कोर्टमा अन्तर्राष्ट्रिय अनुभव लिने मौका पाउनेछन्।
७ जेठ, काठमाडौं । शुक्रबारदेखि काठमाडौँमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपले नेपाली महिला भलिबलका लागि ठूलो अर्थ राख्छ । नेपाली महिला भलिबलको वर्तमान मात्र नभएर यो प्रतियोगितामा नेपाली महिला भलिबलको भविष्य नै जोडिएको छ ।
यस अर्थमा कि यो नेपालका लागि एक प्रतियोगिता मात्र नभएर नेपाली खेलाडी र नेपाली टिमको भविष्य कता लैजाने भन्ने विषयसँग पनि जोडिएको छ । अनि नेपालले आगामी दिनमा एसियन लेभलमा खेल्ने, ठुला स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नियमित खेल्दै ‘एक्सपोजर’ बटुल्नेसम्मको कुरा यो प्रतियोगितासँग जोडिन्छ ।
अहिले नेपाली टिमको कप्तान मात्र फेरिएको छैन, टिममा लगभग आधा खेलाडी फेरिएका छन् । एकैपटक ६ खेलाडीको राष्ट्रिय टिममा ‘इन्ट्री’ भएको छ । अनि यो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाली महिला भलिबलको अबको स्थिति के हुने भन्ने धेरै कुराको निर्धारण हुनेछ ।
यो प्रतियोगिता एफआईभीबी र्याङ्किङ प्रतियोगितासमेत भएकाले नेपाली टिमको र्याङ्किङको विषय पनि यसमा जोडिएको छ ।
सुरुमै यो र्याङ्किङ प्रतियोगिता भएकाले नेपालले एफआइभिबी वरीयता पाउनेछ । नेपाल भलिबल सङ्घका पदाधिकारी र मुख्य प्रशिक्षकहरूको कुरा मान्ने हो भने नेपाल वरीयतामा समावेश हुने पक्का छ । त्यसमा नेपालको प्रदर्शन कस्तो हुन्छ, त्यस आधारमा नेपालको वरीयता निर्धारण हुनेछ ।
यस्तै नेपालले यो प्रतियोगिताको उपाधि नै जितेमा भने नेपालको वरीयता निकै राम्रो हुने भलिबल सङ्घको दाबी छ । नेपाल विश्व वरीयतामा महिलातर्फ शीर्ष ६० भित्र पर्न सक्छ ।
कुनै समय नेपाल ८६औँ स्थानमा थियो । तर नियमित अन्तर्राष्ट्रिय वरीयता मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल हाल वरीयतामा छैन । सन् २०२३ मा चीनमा भएको १९औँ एसियन गेम्स खेलेको नेपाल त्यहाँ ११औँ भएको थियो । यदि यो प्रतियोगिता जित्ने हो भने एसियामा पनि नेपालको वरीयता राम्रो हुनेछ र कम्तीमा शीर्ष २० भित्र नै समावेश हुनेछ ।
काभा महिला भलिबल च्याम्पियनसिपमा सेन्ट्रल एसियाका सबैभन्दा बलिया टिमहरू इरान र काजाकिस्तान जस्ता टिम पनि छन् । नेपाल रहेको समूहमा भने छिमेकी भारत र किर्गिस्तान छन् । यी चारै टिम हाल एफआइभिबी वरीयतामा समावेश छन्, तर नेपाल वरीयतामा छैन । यदि नेपालले समूह चरणमा वरीयता प्राप्त टिमलाई हराएमा त्यसपछि नकआउट चरणमा पनि वरीयता भएको टिमसँग खेल्नेछ र यस्तोमा अन्य टिमलाई पनि हराउन सके नेपाललाई फाइदा हुनेछ ।
यो प्रतियोगिता नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्नु मात्र नभएर वरीयता पाउन पनि महत्त्वपूर्ण छ ।
यस्तै यदि नेपालले घरेलु कोर्टमा सानदार प्रदर्शन गर्दै उपाधि जित्न सके वरीयतामा समावेश हुनुका साथै नेपालले एसियन लेभलमा पनि खेल्ने मौका पाउनेछ । नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्दको भनाइअनुसार नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेमा महिला एसियन कप खेल्न पाउनेछ । अहिले एसियन भलिबल कन्फेडेरेसनले एसियन स्तरमा विभिन्न प्रतियोगिता गर्दै आएको छ । त्यसमध्ये एसियन कपमा नेपाल छनोट हुन सके त्यसबाहेक अन्य एसियन लेभलका प्रतियोगिताका लागि पनि नेपालको ढोका खुल्नेछ ।
नेपाली महिला टोलीले अहिलेसम्म एसियन महिला भलिबल च्याम्पियनसिप खेल्न पाएको छैन । एकपटक फिलिपिन्समा हुने च्याम्पियनसिप खेल्ने तय भए पनि कोभिड महामारीको असरले गर्दा नेपालले त्यो अवसर पनि गुमाएको थियो ।
नेपालका लागि घरेलु कोर्टमा उत्कृष्ट प्रदर्शन गर्दै काभाको उत्कृष्ट टोली बन्ने अवसर पनि छ । साथै यसअघि पछिल्ला दुई काभाका प्रतियोगितामा घरेलु मैदानमा उपाधि जित्न नपाएको पीडा पनि नेपालसँग छ । यदि नेपालले उपाधि जितेमा त्यो पीडालाई पनि भुलाउने अवसर हुनेछ ।
सन् २०२३ मा काठमाडौँमै भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको थियो । यस्तै सन् २०२४ मा काठमाडौँमा भएको काभा महिला भलिबल नेसन्स कपमा नेपाल फाइनल पुगेको थियो, तर भारतसँग पराजित हुँदै उपविजेता बन्यो । त्यस संस्करणमा नेपालले भारतलाई लिग चरणमा पराजित गर्दै इतिहास रचेको थियो । तर फाइनलमा नेपालले त्यो लय दोहोर्याउन सकेन र भारतले नेपाललाई हराएर उपाधि जित्यो ।
भारत र नेपाल अहिले चिरपरिचित प्रतिद्वन्द्वी जस्तै भइसकेका छन् र नेपालमा पनि यी दुई टोलीले धेरै खेल खेलिसकेका छन् । नेपाली कोर्ट भारतलाई पनि फाप्दै आएको छ । यसपटक नेपालले समूहको पहिलो खेलमै शुक्रबार भारतसँग खेल्ने तय छ । पहिलो खेलमै भारतलाई पराजित गर्न सके नेपाली टोलीको मनोबल अझै उच्च हुनेछ र आउने खेलमा फाइदा पुग्नेछ ।
यस्तै नेपाललाई यस प्रतियोगितामा आउटसाइड हिटर निरुता ठगुन्नाले नेतृत्व गर्दै छिन् । उनको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीमा ६ नयाँ खेलाडीले राष्ट्रिय टिममा इन्ट्री मारेका छन् । यस्तै रिमा कुँवरले पनि राष्ट्रिय टिममा पुनरागमन गरेकी छन् । ८ खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव भए पनि ६ नयाँ युवा खेलाडीका लागि घरेलु कोर्टमै अन्तर्राष्ट्रिय एक्सपोजर र अनुभव लिने पनि यो राम्रो मौका हुनेछ । उनीहरूका लागि यो टेस्ट पनि हुनेछ । नयाँ खेलाडीहरूका लागि राष्ट्रिय टिममा स्थान बनाइराख्न र आफ्नो खेलस्तर सुधार गर्न पनि यो प्रतियोगिता महत्त्वपूर्ण बन्न सक्छ ।
प्रतिक्रिया 4