+

फिफा विश्वकप २०२६ : अप्रत्याशित नतिजा दिन सक्ने समूह ‘जी’

२०८३ जेठ  ६ गते १९:४३ २०८३ जेठ ६ गते १९:४३
फिफा विश्वकप २०२६ : अप्रत्याशित नतिजा दिन सक्ने समूह ‘जी’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ समूह \'जी\' मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड छन् ।
  • समूहलाई अनुभव, रणनीति र मानसिक दृढताको परीक्षा मानिएको छ ।
  • बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले आक्रामक खेल शैली अपनाउँदै उपाधि जित्ने प्रयास गरिरहेका छन् ।

६ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड छन् । यस समूहलाई अनुभव, रणनीति र मानसिक दृढताको परीक्षा हुने समूहका रूपमा हेरिएको छ ।

युरोप, अफ्रिका, एसिया र ओसिनियाका चार फरक शैलीका टोली एउटै समूहमा हुँदा यहाँको प्रतिस्पर्धा निकै रोचक बन्ने देखिन्छ ।

बेल्जियम समूहको स्पष्ट फेभोरिट हो, तर मोहम्मद सालाहको नेतृत्वमा रहेको इजिप्ट, सधैं अनुशासित र कठिन प्रतिद्वन्द्वी मानिने इरान र लामो अन्तरालपछि विश्वकपमा फर्किएको न्युजिल्यान्डले समूहलाई खुला बनाएका छन् ।

शीर्ष स्थानका लागि बेल्जियम अगाडि देखिए पनि दोस्रो स्थानको प्रतिस्पर्धा अन्तिम खेलसम्म पुग्न सक्ने अनुमान छ ।

बेल्जियम

पछिल्लो एक दशक बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ ले कहिले विश्वकप जित्ला भन्ने प्रश्न थियो, तर त्यो पुस्ताले ट्रफी उचाल्न सकेन । अब २०२६ मा बेल्जियम नयाँ ‘ट्रान्जिसन फेज’ मा छ ।

केभिन डे ब्रुयना र रोमेलु लुकाकुजस्ता अनुभवी खेलाडीहरू अन्तिम विश्वकपमा छन् भने जेरेमी डोकु, लोइस ओपेन्डा र चार्ल्स डी केटेलाएरजस्ता युवा स्टारहरू टोलीको नयाँ ऊर्जा हुन् ।

प्रशिक्षक रुडी गार्सियाले ४-३-३ र ४-२-३-१ बीच सहज परिवर्तन गर्दै आक्रामक र उच्च प्रेसिङ शैली अपनाउँदै आएका छन् । सधैं उपाधिको अन्डरडग मानिने बेल्जियम यसपटक भने केही फरक गर्ने प्रयासमा हुनेछ ।

उत्कृष्ट नतिजा– तेस्रो स्थान (२०१८), अन्तिम सहभागिता– २०२२

इजिप्ट

इजिप्ट आफ्नो इतिहासमा चौथो पटक र २०१८ पछि पहिलो पटक विश्वकपमा फर्किएको हो । प्रशिक्षक होसाम हसनका लागि यो विशेष यात्रा हो । उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा इजिप्टलाई विश्वकप पुर्‍याउने पहिलो व्यक्ति बनेका छन् ।

छनोटमा १० खेल अपराजित रहँदै मात्र दुई गोल खाएर इजिप्टले आफ्नो शक्ति देखायो । टोलीको संरचना रक्षात्मक अनुशासनमा आधारित छ, जहाँ मोहम्मद सलाह र ओमर मरमाउशलाई काउन्टरमा प्रयोग गरिन्छ ।

यदि आक्रमणले लय समात्यो भने इजिप्ट समूहको सबैभन्दा ठूलो ‘अपसेट’ टोली बन्न सक्छ ।

उत्कृष्ट नतिजा– समूह चरण (१९३४, १९९०, २०१८), अन्तिम सहभागिता– २०१८

इरान

इरान लगातार चौथो विश्वकप खेल्दैछ र एसियाको सबैभन्दा स्थिर टोलीमध्ये एक मानिन्छ । प्रशिक्षक अमिर घालेनोईको टोलीले छनोटमा १६ मध्ये केवल एक खेल हारेको थियो, जसले यसको निरन्तरता देखाउँछ ।

मेहदी तारेमी टोलीको मुख्य गोलकर्ता हुन् र आक्रमणको केन्द्र पनि । तर सर्दार अजमुनको अनुपस्थितिले टोलीको आक्रमणमा दबाब बढाएको छ । इरानको खेलशैली पूर्ण रूपमा परिणाममुखी छ ।

रक्षात्मक अनुशासन, कडा मिडफिल्ड र तीव्र काउन्टर अट्याक यसको मुख्य हतियार हो । सिर्जनशीलता सीमित भए पनि कठिन खेलमा इरानलाई हराउन सजिलो छैन ।

उत्कृष्ट नतिजा– समूह चरण, अन्तिम सहभागिता– २०२२

न्युजिल्यान्ड

‘अल ह्वाइट्स’ अर्थात् न्युजिल्यान्ड सन् २०१० पछि पहिलो पटक विश्वकपमा फर्किएको हो । ओसियाना छनोटमा पूर्ण दबदबा देखाउँदै न्युजिल्यान्डले पाँचै खेल जित्यो र केवल एक गोल मात्र बेहोरेको थियो ।

प्रशिक्षक ड्यारेन बेजलीको टोली शारीरिक बल, संगठन र कप्तान क्रिस वुडको व्यक्तिगत क्षमतामा निर्भर छ । २०१० मा तीनवटै खेल बराबरी खेल्दै अपराजित रहनु यसको विश्वकप इतिहासको ठूलो उपलब्धि हो ।

यसपटक पनि न्युजिल्यान्डको रणनीति रक्षात्मक ब्लक र सिधा आक्रमणमा आधारित हुनेछ । कमजोर टोली मानिए पनि दबाबबिनाको खेलले उसलाई खतरनाक बनाउँछ ।

उत्कृष्ट नतिजा– समूह चरण (१९८२, २०१०), अन्तिम सहभागिता– २०१०

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय