Comments Add Comment

उत्तरी गोरखामा हेलिकप्टरबाट लगियो कोरोना खोप

२ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोना भाइरसविरुद्धको खोप ढुवानी गरिएको छ । शनिबार सिम्रिक एयरको हेलिकप्टर मार्फत तीन हजार डोज भेरोसेल खोप लगिएको हो ।

‘हिजो नै लाने भन्ने थियो, तर मौसम खराव भएका कारण काठमाडौंबाट हेलिकप्टर आउन सकेन,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने । शनिबार दुई खेप गरेर खोप ढुवानी गरिएको उनले बताए । खोप ढुवानीका लागि माउण्टेन चाइल्ड नामक संस्थाले हेलिकप्टरको ढुवानी भाडा व्यहोरेको प्रजिअ पौडेलले जानकारी दिए । ‘हामीले संस्थालाई अनुरोध गर्‍यौं, संस्थाले ढुवानी गरिदिनुभयो,’ उनले भने ।

चुमनुव्री गाउँपालिकाको ५५ बर्ष माथिका नागरिकलाई यसअघि नै खोप लगाइसकिएको छ । चीनसँग सीमा जोडिएको गाउँपालिका हुनाले यहाँ १८ देखि ५५ वर्षसम्मका सबै नागरिकलाई खोप दिन लागिएको हो ।

उक्त हेलिकप्टरले ल्हो, गप, सिर्दिवास र चुम्लिङमा खोप पुर्‍याएको छ । सामागाउँ लाने भनिएपनि मौसमका कारण जान नसकिएको र उक्त खोप ल्हो मै छाडिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो क्षेत्रबाट स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सहयोगमा सम्बन्धित वडामा खोप लगिने छ । चुमनुव्री गाउँपालिकामा कुल सात वटा वडा छन् । प्रत्येक वडामा केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।

‘चुमनुव्री गाउँपालिकाका १८ देखि ५५ बर्ष उमेर समूहका नागरिकलाई खोप दिने हो, आज खोप लग्यौं, खोप पुगेको केन्द्रमा आजैबाट लगाउन शुरु गर्छाै,’ उनले भने । सो गाउँपालिकाको ५५ बर्ष माथिका नागरिकलाई यसअघि नै खोप लगाइसकिएको छ । चीनसँग सीमा जोडिएको गाउँपालिका हुनाले यहाँ १८ देखि ५५ वर्षसम्मका सबै नागरिकलाई खोप दिन लागिएको हो ।

उक्त खोप यसअघि नै सो क्षेत्रमा पुगिसक्नुपर्ने थियो । तर अविरल बर्षाका कारण पदमार्ग अवरुद्ध हुदा लान नसकिएको स्वास्थ्य कार्यालयका खत्रीले बताए । ‘खोप असार १७ गते आएको हो, २० गतेबाट सबै ठाउँमा खोप अभियान संचालन गर्ने भनेपनि खोप लान नसक्दा चुमनुव्रीमा शुरु गर्न सकेका थिएनौं । आज बल्ल ढुवानी भयो, अब शुरु हुन्छ,’ उनले भने ।

शुक्रबार खोपसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली हेलिकप्टरमा उत्तरी गोरखा पुगेको खबर बाहिरिएपनि उक्त टोलीले खोप लगेको थिएन ।

खोप लाने भन्दै पोखराबाट उडेका उनीहरुले मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री मात्र लगेका थिए । तर खोप भने गोरखामा स्वास्थ्य कार्यालयमै थन्किएएको थियो ।

उक्त टोलीमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मी थिए । खोप लानुको सट्टा उनीहरु हेलिकप्टरमा सयर गरेर मात्र फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment