३ साउन, काठमाडौं । विश्वको प्रतिष्ठित पुलिट्जर पुरस्कार जितेका रोयटर्सका फोटो पत्रकार दानिश सिद्दिकी गत शुक्रबार अफगानिस्तानको कन्दाहार प्रान्तमा अफगानिस्तानी सेना र तालिबानबीचको युद्धको क्रममा मारिएका छन् ।
अफगानिस्तानको पाकिस्तानसँग सीमा जोडिएको बजारमा उनको मृत्यु भएको हो ।
अफगानिस्तानको एक विशेष सुरक्षाबलको समूह स्पिन बोल्डक सहरको मुख्य बजारलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउने प्रयासमा थियो । सोही क्रममा भएको गोली हानाहानमा दानिशको मृत्यु भएको हो । उक्त युद्धको क्रममा दानिश पनि अफगानी सेनासँगै थिए ।
दानिश रोयटर्सका चिफ फोटोग्राफर थिए । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सातादेखि दानिश अफगानिस्तानका विशेष टोलीसँगै कन्दाहार प्रान्तमा खटिएका थिए । त्यहाँबाट उनले अफगानिस्तानको सेना र तालिवानका लडाकुबीचको युद्धको समाचार पठाइरहेका थिए ।
सन् २०१० देखि यो रोयटर्सका लागि काम गर्दै आएका दानिशले अफगानिस्तान र इराक युद्धका साथै रोहिंग्या संकट, हङकङको प्रदर्शन, नेपालको भूकम्प, भारतको किसान/नागरिकता आन्दोलन र कोरोना महामारीको संकटको फोटो खिचेका थिए ।
दानिशलाई सन् २०१८ मा रोहिंग्या संकटको क्रममा सर्वोत्कृष्ट फोटो खिचेकोमा पुलिट्जर पुरस्कार पनि दिइएको थियो । सिद्दिकीले पहिल्लो केही समयया निरन्तर आफ्नो ट्वीटर एकाउन्टबाट अफगानिस्तानको समाचार दिइरहेका थिए । उनले गत जुलाइ १३ मा एक आक्रमणमा बल्ल बचेको बताएका थिए ।
यहाँ उनले रोयटर्सका लागि खिचेका केही विशेष तस्वीरहरु यहाँ छन् :
सो समयमा उनले समूहिक अन्तिम संस्कारको यस्तो फोटो खिचेका थिए, जसले भारतमा कोरोना महामारीको वास्तविक तस्वीर बाहिर ल्याउन सहयोग गरेको थियो । दानिशले आफ्नो एक रिपोर्टिङमा दिल्लीका अधिकांश शवदाह गृहमा ठाउँ पाउने सम्भावना नरहेको बताएका थिए । यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।नेपालमा गएको ठूलो भूकम्पमा आफ्नो खुट्टामा चोट लागेकी बालिकाको सन् २०१५ अप्रिल २९ मा उपचारको क्रममा लिइएको तस्वीर ।सन् २०१५ अप्रिल ३० मा भूकम्प प्रभावितहरुलाई भारतीय वायु सेनाको विमानबाट राहत पुर्याइँदै ।सन् २०१७ अप्रिल २९ मा इराकको पश्चिमी सहर मोसुलमा इस्लामिक स्टेटका लडाकुमाथि ग्रिनेड फ्याँक्दै इराकी फोडेरल पुलिस ।सन् २०१७ को सेप्टेम्बरमा म्यानमारबाट भागेर बंगलादेश आइपुगेकी थकित रोहिंग्या शरणार्थीको यो तस्वीरले विश्वव्यापी चर्चा पाएको थियो । म्यानमारमा रोहिंग्यामाथिको हिंसा बढेसँगै लाखौं रोहिंग्याहरु भागेर बंगलादेश आएका थिए ।यो भारतमा कोरोना भाइरसको दोस्रो लहर चलिरहेको बेला लिइएको तस्वीर हो । गत अप्रिल–मेमा भारतमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको थियो । त्यतिबेला औषधि र अक्सिजनका साथै भारतमा अन्त्येष्टिको लागि पनि ठाउँ नपाउने अवस्था थियो । दोस्रो लहरको क्रममा भारतका सहरमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि यसको असर देखिएको थियो ।यो तस्वीर दानिश सिद्दिकीले खिचेका अन्तिम तस्वीरमध्येको एक हो । यो अफगानिस्तानको कान्दाहार प्रान्तमा खिचिएको हो । यो क्षेत्रमा अहिले अफगानी विशेष सुरक्षा बल र तालिबानबीच युद्ध चलिरहेको छ ।कोरोनाको कारण आफ्ना पिता गुमाएका छोराछोरीहरु आमालाई सम्हाल्ने कोसिस गरिरहेको यो तस्वीरमा देख्न सकिन्छ । यो तस्वीर दानिशले राजधानी सहर दिल्लीमा खिचेका थिए ।