
हाँस्य कलाकार पल्पसा डंगोल दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । उनको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् ।
पल्पसाको मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउनका लागि आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई पैसा भन्दा पनि किड्नीको नै आवश्यकता परेको बताउने गरेकी छिन् ।
निर्देशक दीपाश्री निरौलाले अनलाइनखबरसँग भनिन्–‘सुरुमा उपचारका लागि ५० लाख लाग्छ भन्ने कुरा भएपछि हामीले पनि रकम संकलन अभियान सुरु गर्ने कि भन्ने बिषयमा छलफल गरेका थियौं । तर, डाक्टरले १५ देखि २० लाख रुपैयाँ मात्र लाग्ने बताएपछि रकम संकलन नगर्ने कुरा भएको छ । पल्पसाले आफै रकम तिर्न सक्ने बताउनुभएको छ ।’
दीपाका अनुसार, पल्पसाले यतिबेला रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताएकी छिन् । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भैरहेको छ ।
विगत ५ बर्षदेखि किड्नीको समस्यासँग जुधिरहेकी पल्पसा विगत १ महिनादेखि भने अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् ।
प्रतिक्रिया 4