Comments Add Comment

मोतीबिन्दुको शल्यक्रियापछि जन्मजात एउटा आँखा नदेख्ने बालकको ज्योति फर्कियो

प्रतीकात्मक तस्वीर

२५ असार, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाका–६ का १० वर्षीय उज्वलकुमार राय सानैदेखि देब्रे आँखा देख्दैनथे । कमजोर आर्थिक अवस्थाका कारण परिवारले राम्रोसँग उपचार गराउन सकिरहेका थिएनन् । समय–समयमा अभिभावकले वीरगञ्जका विभिन्न अस्पतालमा आँखा जाँच गराउने गरे पनि समस्या यथावत् थियो ।

पर्सागढी नगरपालिकाले वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा वडा नम्बर ६ का लागि असार १९ गते वागेश्वरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर राख्यो । चेकजाँचका क्रममा उनको बायाँ आँखाको ज्योति मोतीबिन्दुका कारण गुमेको पत्ता लाग्यो ।

वरिष्ठ नेत्र सर्जन डा. अमृत आचार्यको टोलीले सानो चिरा मोतीबिन्दु शल्य चिकित्सा (एमएसआईसिएस) विधिबाट शल्यक्रिया गरेर उनको आँखाको ज्योति फर्काइदिएका छन् । असार २२ गते गरिएको शल्यक्रियापछि अब उनी दुवै आँखा राम्रोसँग देख्न सक्ने भएका छन् ।

आँखाको ज्योति फर्किएपछि देब्रे आँखाले ठ्याम्मै नदेख्ने उज्ज्वल र उनका अभिभावक अहिले एकदमै खुशी भएका छन् । फलोअपका लागि वीरगञ्ज आएका उज्ज्वलले राम्ररी पढेर आँखाकै डाक्टर बन्ने सपना आफ्नो रहेको सुनाए । ‘दुवै आँखाले देख्न सक्छु, अब झनै मेहनत गरेर पढ्छु र आ“खाकै डाक्टर बन्छु,’ उनले भने ।

छोराले एउटा आँखाले देख्न नसक्ने कुरा अभिभावकले पाँच वर्षको उमेरमा मात्रै थाहा पाएका थिए । ‘जन्मजात नै समस्या रहेछ, हुर्किंदै गयो तर उसले नै आँखाको समस्याबारे भेउ पाएको थिएन,’ बुवा रामनारायणले भने, ‘हामीले पनि थाहा पाएनौं, पाँच वर्षको भएपछि उसैले देब्रे आँखाले नदेख्ने गरेको बतायो, त्यसपछि बल्ल हामीले थाहा पाएका हौं ।’

वीरगञ्ज मात्रै नभएर काठमाडौं समेत गएर चिकित्सकहरुलाई छोराको आँखाको समस्या देखाउँदा समेत उपचार सम्भव नभएको उनले सुनाए । गाउँमै सञ्चालित आँखा शिविरमा छोराको आँखा परीक्षण गराउँदा भने समस्या समाधान भएकोमा उनी दंग छन् ।

उज्ज्वलकी आमा सरिता देवीका अनुसार आफ्ना पाँच सन्तानमध्ये कान्छा उज्ज्वलको मात्रै आँखामा समस्या देखिएको छ ।

नेत्र विशेषज्ञहरुका अनुसार बालकको आँखामा जन्मजात मोतीबिन्दु को समस्या एकदम कमैमा मात्र देखिने समस्या हो । यो १ लाख मानिसमा १ जनालाई मात्रै देखिने गरेको छ ।

पर्सागढी–६ मा असार १९ गते र भोलिपल्ट वडा नम्बर ७ को टिकुलियास्थित विद्यालयमा आँखा शिविर सञ्चालन भएको थियो । दुवै शिविरमा भेटिएका १५५ जना मोतीबिन्दुका बिरामीको क्रमशः शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment