Comments Add Comment

प्रदेश १ : केन्द्रमा राजनीतिक समीकरण फेरिँदा प्रदेशसभा बैठक अनिश्चित

फाइल तस्वीर

५ साउन, विराटनगर । केन्द्रमा राजनीतिक समीकरण परिवर्तन हुँदा प्रदेश १ को प्रदेशसभा बैठक प्रभावित भएको छ । असार २६ गते आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्दै अनिश्चितकालका लागि स्थगित भएको बजेट अधिवेशनको बैठक प्रभावित बनेको छ ।

प्रदेशको विनियोजन विधेयक पारित गर्दै सभामुख प्रदीपकुमार भण्डारीले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । तर सर्वोच्च अदालतको फैसलापछि राजनीतिक समीकरण फेरिँदा बैठक अनिश्चित भएको हो ।

‘एकसाता बैठक स्थगित गरेर सुचारु गर्ने सल्लाह थियो, तर अझै टुङ्गो भएन,’ सत्ता पक्षका एक सांसदले भने, ‘अझै केही दिन पर सर्छ ।’

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की भने राजनीतिक परिवर्तनले बैठक प्रभावित नभएको बताए । दलहरुसँगको सल्लाहमै केही दिनका लागि बैठक स्थगित भएको बताउँदै उनले भने, ‘साउन १५ पछि बैठक आह्वान गर्ने तयारी छ । बजेट पासपछि सल्लाहमै केही दिनका लागि स्थगित गरिएको हो ।’

उनका अनुसार प्रदेश सरकारले बजेट अधिवेशनमा पेश गर्नका लागि चारवटा विधेयकको मस्यौदा तयार गरेको छ । ‘चारवटा विधेयक पेश गर्नका लागि तयारी अवस्थामा छन्,’ कार्कीले भने, ‘नाम (प्रदेशको नामाकरण)को विषय पनि चर्चामा छ, नामको प्रस्तावमाथि छलफल जारी छ ।’

प्रदेशमा अनुसन्धान र तालिमका लागि स्वायत्त प्रकृतिको अनुसन्धान तथा प्रशिक्षण केन्द्र बनाउने गरी विधेयकको मस्यौदाको काम अन्तिम चरणमा पुगेको प्रदेश सरकारका प्रमुख सचिव सुमनराज अर्यालले बताए । अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा अधिकार सम्पन्न कार्यकारी प्रमुखको व्यवस्था गर्ने गरी विधेयक मस्यौदा तयार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment