Comments Add Comment

आन्तरिक राजश्व कार्यालय पर्साद्वारा लक्ष्यभन्दा १७ प्रतिशत कम राजश्व संकलन

६ साउन, वीरगञ्ज । आन्तरिक राजश्व कार्यालय पर्साले गत आर्थिक वर्ष ०७७/०७८ मा लक्ष्य भन्दा १७ प्रतिशत कम राजश्व संकलन गरेको छ । कार्यालयले असार मसान्तसम्म ८ अर्ब १४ करोड २१ लाख १ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ८२.९४ प्रतिशत हो ।

कार्यालयले राजश्व विभागबाट ९ अर्ब ८१ करोड ६८ लाख २ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले वर्षको अन्तिम महिना असारमा ७७ करोड १९ लाख ५६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएकोमा लक्ष्य भन्दा ११८.७५ प्रतिशत अर्थात ९१ करोड ६६ लाख ९४ हजार रुपैयाँ संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा कार्यालयले ११ अर्ब ३ करोड ६४ लाख ७२ रुपैयाँ लक्ष्य पाएकोमा लक्ष्यको ५७.७३ प्रतिशत मात्रै राजश्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष १ अर्ब ६६ करोड २ लाख ७१ हजार रुपैयाँ बढी राजश्व संकलन गर्दा पनि लक्ष्य भेट्टाउन नसकिएको कार्यालयले जनाएको छ । कार्यालयले आय कर, ब्याज, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र शिक्षा कर संकलन गर्दै आएको छ ।

स्थानीय सरकारको गठनपछि घर भाडा कर स्थानीय सरकारले नै संकलन गर्ने गरेको छ भने शिक्षा सेवा कर सरकारले नै खारेज गरिसकेको छ । विदेशमा पढ्न जाने विद्यार्थीले कलेज तथा विश्वविद्यालयलाई बुझाउने रकमको दुई प्रतिशत शुल्क सरकारलाई बुझाउनुपर्ने प्रावधान छ । त्यहि रकम मात्रै कार्यालयमा जम्मा हुने गरेको छ ।

कार्यालयका सूचना अधिकारी कर अधिकृत हृदय नारायण महतोले लक्ष्यको प्रमुख हिस्सा अन्तशुल्कले ओगट्ने गरेको र अन्तशुल्कमा कटौति भएकाले लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताए ।

‘लक्ष्यको ६६ प्रतिशत हिस्सा अन्तशुल्कले ओगटेको छ, अन्त शुल्क संकलनमा कटौती भएको छ,’ उनले भने ‘त्यसैले लक्ष्य अनुसार राजश्व संकलन हुन नसकेको हो, नत्र हामीले आय कर लक्ष्य भन्दा ४१.४१ प्रतिशत, ब्याज २८.५६ प्रतिशत, मूल्य अभिवृद्धि कर ४४.३९ प्रतिशत बढी संकलन गरेका छौं ।’

हिमालयन, एशियन डिष्ट्रिलरीले अन्तःशुल्कमा मुख्य योगदान गर्दै आएका थिए । हिमालयनले बजारमा बढी चलेको ‘ब्ल्याक ओके’ नामको मदिरा पर्सामा उत्पादन गर्दै आएकोमा अहिले चितवनमा सारेको छ ।

चितवनकै आन्तरिक राजश्व कार्यालयमा अन्तःशुल्क बुझाउँछ भने मजदुरको हड्तालका करण ‘ब्लु डाइमण्ड’ उत्पादन गर्दै आएको वीरगञ्जस्थित एशियन डिष्ट्रिलरी बन्द छ । उसले आफ्नो प्लान्ट नै भैरहवामा सिफ्ट गरिसकेको छ ।

अरुणोदय र एक्सन वाइन डिष्टिलरी बन्द छन् भने उदयपुर, धौलागिरी र स्नालण्ड डिष्टिलरी केही मात्रामा चलेका छन् । तर कार्यलयका अनुसार उनीहरुको अन्तशुल्कमा खासै महत्वपूर्ण योगदान छैन ।

वीरगञ्जमा १५ हजार ६ सय नयाँ करदाता थपिए

गत आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा १५ हजार ६ सय ६ जना नयाँ करदाता थपिएका छन् । ३ हजार ४ सय ८१ संस्थागत पान दर्ता, ९ सय ४५ मुल्य अभिवृद्धि कर भ्याटमा दर्ता, १० हजार ६ सय ९९ व्यक्तिगत पान दर्ता, २ सय २७ अन्तशुल्क दर्ता र २ सय ५४ वटा सरकारी निकाय दर्ता भएका छन् ।

योसँगै कार्यालयको राजश्व संकलनमा योगदान दिने व्यक्ति तथा फर्महरुको संख्या १ लाख २ हजार ६ सय ५३ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म यी करदाताको संख्या ८७ हजार ४७ मात्रै थियो ।

कार्यालयले बक्यौता कर असुलीका लागि करदाताले मुद्दा फिर्ता लिएर तोकिएको कर तिरेमा त्यसमा लाग्ने अन्य शुल्क जरिवाना मिनाहा गर्ने, २० लाख भन्दा कम कारोबार गर्ने साना करदातालाई लाग्ने करमा ९० प्रतिशत छुट, २० देखि ५० प्रतिशत कारोबार गर्नेलाई ७५ प्रतिशत छुट र ५० देखि १ करोडसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत छुटको योजना अघि सारेको कार्यालयका प्रमुख कर अधिकृत सुनिल कुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment