Comments Add Comment

ओलम्पिकमा नेपाल : अहिलेसम्म कतिले खेले हिसाब छैन

४ साउन, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ग्रीष्मकालीन ओलम्पिकको ३२औं संस्करण शुक्रबारदेखि जापानमा शुरु हुँदैछ । टोकियो ओलम्पिक अघिल्लो वर्षमै तय भए पनि विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको हो ।

नेपालले पनि पाँच दशकदेखि ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ । अहिलेसम्म नेपालबाट करिब एक सय खेलाडीले प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेको छैन ।

सन् १९६४ मा जापानमै भएको ओलम्पिकदेखि नेपालले ओलम्पिकमा डेब्यु गरेको हो । नेपालले अहिलेसम्म १३ संस्करणमा सहभागिता जनाइसकेको छ । अब हुने ओलम्पिकसहित १४ औं सहभागिता हुनेछ ।

सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए । तर त्यो बेला तेक्वान्दो प्रदर्शनी खेल मात्र भएकोले उनको पदकले मान्यता पाएन ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अनिवार्य कोटा अनुसार पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सका सरस्वती चौधरीका साथै वाइल्ड कार्डबाट छानिएका सुटिङ खेलाडी कल्पना परियार र जुडोका सोनिया भट्टले टोकियोमा प्रतिस्पर्धा गर्दैछन् । यसअघि एथ्लेटिक्स अन्तर्गत म्याराथन धावन गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने पक्का भए पनि अन्तिम समयमा उनको सट्टा सरस्वती जापान जाने भएकी हुन् ।

पौडी खेलाडी गौरिका सिंह

टोकियो ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले १२ खेलाडीको नाम वाइल्ड कार्डको लागि सिफारिस गरिएको छ । त्यसमध्ये दुई खेलाडीले मात्र यसपटक अवसर पाएका हुन् ।

नेपालबाट यसपटक पाँच खेलाडीले ओलम्पिकमा सहभागिता जनाउने पक्का छ । तर यसअघिको १३ संस्करणसम्म नेपालबाट निश्चित खेलाडीले सहभागिता जनाएका थिए । यद्यपि त्यसको अहिलेसम्म आधिकारिक तथ्यांक फेला पर्न सकेको छैन ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) जसले ओलम्पिकमा खेलाडी पठाउनका लागि सघाउने काम गर्छ उसैलाई अहिलेसम्म ओलम्पिकमा कति खेलाडीले सहभागिता जनाए भन्ने थाहा छैन ।

एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य पनि यस सत्यलाई स्वीकार गर्छन् । ‘हामी ओलम्पियनहरु नाम संकलन गरिरहेका छौं । अब ओलम्पिकहरुको चुनाव हुँदैछ । त्यसका लागि पनि नाम कलेक्सन हुँदैछ । ओलम्पिक खेल्नेमध्ये कति जनाको निधन भइसकेको छ भने कति जना विदेशमा छन् ।’

अर्काइभ राख्ने प्रयास

नेपाली खेलकुदमा इतिहास कम लेखिन्छ । लेखिए पनि कुनै दस्तावेजको रुपमा छैन । यसलाई मध्यनजर गर्दै ओलम्पिक कमिटीले आईओसीको सहयोगमा डिजिटल अर्काइभ राख्ने प्रक्रिया शुरु गरेको छ । यसको नतिजा आउन केही समय लाग्ने राजवैद्य बताउँछन् ।

ओलम्पिक कमिटीले आईओसीको फण्डमा एउटा प्रोग्राम नै बनाएर डिजिटल अर्काइभको काम शुरु गरिसकेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल ओलम्पिक संग्रहालयको सहकार्यमा नेपाली खेलकुदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०–२१ पुस पहिलो साता शुरु गरेको थियो । एनओसीको अनुरोधमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गतको आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत यो काम शुरु भएको हो । यसका लागि सोलिडारिटी कार्यक्रमले १५ हजार डलर आर्थिक अनुदान प्रदान गरेको एनओसीले जनाएको छ ।

‘खेलकुद इतिहास व्यवस्थित गर्ने मामलामा हामी पछि छौं । खेलाडीको लामो इतिहास छ तर हामीसँग अर्काइभ छैन,’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमी लन्च गर्ने कार्यक्रममा भनेका थिए ।

त्यसैको नतिजा अनुसार केही समय अघि मात्र नेपाल ओलम्पिक संग्रहालयले खेलकुदको इतिहास समेटिएको वेबसाइट समेत लन्च गरिसकेको छ । जुन डिजिटल अर्काइभकै एक अंश हो । त्यसमा नेपालबाट अहिलेसम्म ८६ जनाले ओलम्पिक खेलेको उल्लेख छ ।

ओलम्पिक मात्र होइन नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) अनि संघहरुकै अर्काइभ कमजोर छ । राष्ट्रिय खेलकुद परिषद्ले पनि अहिलेसम्म नेपालले ओलम्पिकमा सहभागिता जनाएकाहरुको नाम संग्रह गरेको छ । तर त्यसमा राखिएका नाम ओलम्पिक कमिटीको सूचीभन्दा फरक छ । सन् १९९६ को एटलान्टा ओलम्पिकमा पाँच खेलाडी सहभागी भएको ओलम्पिक संग्रहालयको सूचीमा छ ।

तर ओलम्पिक कमिटीको सूचीमा छ भने राखेपको सूचीमा ६ खेलाडीको नाम छ । नेपालको सबैभन्दा चर्चित खेल फुटबलको समेत धेरै इतिहास बाहिर आएको छैन । नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न शुरु गरेको मितिमै पनि एकरुपता छैन । एन्फाले समेत इतिहासको अर्काइभ राम्रोसँग गर्न सकेको छ । खेलकुद संघ संस्थाहरुले एउटा सामान्य अफिसियल वेबसाइट त बनाउन नसकिरहेको बेला अर्काइभ नै राख्न अझ टाढाको कुरा हुन सक्छ ।

यस्तै नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले पनि खेलाडीहरुको डेटा संकलनका लागि कार्यक्रम बनाएको छ । एनएसजेएफले खेलाडीको डेटाबेस बनाउनका लागि योजना बनाएको छ । यसको प्रस्तावमा कतार स्पोट्र्स प्रेस कमिटीले एनएसजेएफलाई ५ हजार डलर पठाइसकेको एनएसजेएफ अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए । नेपाली खेलकुदको डेटाबेस राख्ने, छुट्टै वेबसाइट र एप निर्माण गर्ने, नेपाली खेलकुदको वान क्लिक इन्फरमेसन प्राप्त गर्ने योजना एनएसजेएफ एकेडेमी अन्तर्गत बनाइएको छ ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले एनएसजेएफले गर्न लागेको कामलाई राखेपले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् । ‘एनएसजेएफले डेटाबेस बनाउनु पर्‍यो । राखेपले पैसा दिन्छ,’ सिलवालले भनेका थिए, ‘राखेपमा पनि अथेन्टिक डेटा छैन । खेलकुदको सर्वोच्च निकायमा डेटा छैन भने कहाँ जाने उनले आफैं प्रतिप्रश्न गरे । व्यक्तिको गोजीमा हुने डेटालाई आधिकारिक मान्न सकिन्न ।’

सिलवालले नेपालमा फुटबल र क्रिकेटको बारेमा धेरै जानकारी पाइने भए पनि अरु खेलको डेटा धेरै कमजोर रहेको बताए । युवा तथा खेलकुद मन्त्रालयले पनि खेलाडीको डेटाबेस राख्ने कार्यक्रममा सहयोग गर्ने जनाएको छ ।

चार ओलम्पिकमा दौडिएका वैकुण्ठ मानन्धर

ओलम्पिकमा केही नेपाली खेलाडीले एकभन्दा बढी पटक सहभागिता जनाएका छन् । जसमा म्याराथन धावक वैकुण्ठ मानन्धर अगाडि छन् । उनले लगातार चार पटक ओलम्पिकमा प्रतिस्पर्धा गरे ।

मानन्धरले १९७६ मोन्ट्रेल ओलम्पिकदेखि १९८८ सोल ओलम्पिकसम्म लगातार चारपटक प्रतिस्पर्धा गरेका थिए । सन् १९७६ मा उनी ओलम्पिकमा सहभागी हुने एक्लो नेपाली खेलाडी थिए ।

म्याराथन धावक वैकुण्ठ मानन्धर

यस्तै हरिबहादुर रोकाय र पौडी खेलाडी प्रसिद्धजंग शाहले २÷२ पटक ओलम्पिकमा सहभागिता जनाए । हरिबहादुरले सन् १९८८ को सोल ओलम्पिकमा एथ्लेटिक्सतर्फ मध्यम दूरीको तीन इभेन्ट्मा दौडिएका थिए भने सन्  १९९२ को बार्सिलोना ओलम्पिकमा म्याराथन दौडिएका थिए । प्रसिद्धले २००८ को बेइजिङ ओलम्पिक र २०१२ को लण्डन ओलम्पिकमा सहभागिता जनाएका थिए ।

टोकियो ओलम्पिकमा जान लागेकी गौरिका सिंहको पनि यो लगातार दोस्रो ओलम्पिक सहभागिता हुनेछ । यसअघि उनले ब्राजिलमा २०१६ मा भएको रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् ।

उनी रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी बन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएकी थिइन् ।

सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिकमा डेब्यु गरेको नेपालले १९६८ मा बाहेक लगातार प्रतिस्पर्धा गर्दै आएको छ ।

झण्डै ६ दशकअघिको उक्त ओलम्पिकमा नेपालबाट दुई धावक भुपेन्द्रबहादुर सिलवाल र गंगाबहादुर थापाले म्याराथन दौडिएका थिए । यस्तै नामसिंह थापा, भीमबहादुर थापा, रामप्रसाद गुरुङ र ओमप्रसाद पुनले बक्सिङमा प्रतिस्पर्धा गरेका थिए ।

पछिल्लो पटक रियो ओलम्पिकमा २०१६ मा पौडीबाट गौरिका सिंह र शिरीष गुरुङ, एथ्लेटिक्सबाट हरिकुमार रिमाल र सरस्वती भट्टराई, तेक्वान्दोकी निशाल रावल, जुडोकी फुपूल्यामु खत्री र आर्चरीका जितबहादुर मोक्तान गरी ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालबाट सन् १९८८ को सोल ओलम्पिकमा सबैभन्दा बढी १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसतै सन् १९७६ को मोन्ट्रेल ओलम्पिकमा भने एक जना मात्र सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment