+
+
टिप्पणी :

स्मृति बीपी र पुष्पलालको, समीक्षा उत्तराधिकारीहरूको

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ साउन ७ गते १०:१७

७ साउन, काठमाडौं । साउनको पहिलो साता ६ र ७ गते नेपाली राजनीतिका दुई अग्रजको स्मृति दिवस । साउन ६ गते विश्वेश्वरप्रसाद कोइरालाको ३९औं स्मृति दिवस । साउन ७ गते पुष्पलालको ४३औं स्मृति दिवस ।

नेपालको लोकतान्त्रिकरणको युगका ‘महामानव’हरू । राणा शासनको एक सय चार वर्ष लामो कालरात्रिको अन्त्य गर्दै लोकतान्त्रिक चेतनाको आलोकमा नेपाली समाजको आधुनिकीकरण गर्ने महायज्ञमा उनीहरुको योगदान अद्वितीय छ । अन्धकार युगमा रहेको नेपाली समाजमा बीपीले दियोमा लोकतान्त्रिक चेतनाको तेल थपे भने पुष्पलालले कम्युनिष्ट आदर्शको ।

बीपी वि.सं. १९७१ भाद्र २४ गते बनारसमा जन्मिएका थिए । उनको मृत्यु वि.सं.२०३९ साल साउन ६ गते काठमाडौंमा भएको थियो । पुष्पलाल वि.सं. १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका थिए । उनको मृत्यु २०३५ साल साउन ७ गते नयाँ दिल्लीमा भएको थियो ।

कांग्रेसबाट कम्युनिष्ट र कम्युनिष्टबाट कांग्रेस

बीपीका पिता कृष्णप्रसाद कोइरालाका राणाशासनको कोपभाजनमा परेका एक समाजसेवी थिए । त्यसैले उनको परिवार बनारस बसाईं सरेको थियो । बीपी बनारसमै जन्मिए र शिक्षादीक्षा पनि उतै भयो । उनले आफ्नो राजनीतिक जीवन अंग्रेज शासन विरोधी भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी भएर गरेका थिए ।

सहिद गंगालाल श्रेष्ठका भाइ पुष्पलालले प्रजापरिषदबाट आफ्नो राजनीतिक जीवन सुरुआत गरेका थिए । पछि नेपाली कांग्रेस हुँदै नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव बन्न पुगे ।

प्रारम्भमा नेपाली राष्ट्रिय कांग्रेस गठन गरेका बीपीले प्रजातन्त्र कांग्रेससँगको एकतापछि नेपाली कांग्रेस बनाएर राणा विरोधी आन्दोलनलाई गति दिए ।

पुष्पलालको चेतनामा बिस्तारै कम्युनिष्ट विचार मौलन थाल्यो । २००६ सालमा नेपाली कांग्रेस परित्याग गरे । कोलकाता पुगेर उनले आफ्ना केही साथीहरुसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे ।

बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले राणा शासनविरुद्ध सशस्त्र संघर्ष गर्‍यो । २००७ सालमा १०४ वर्ष लामो जहाँनियाँ राणशासनको अन्त्य भयो । त्यतिबेला नेकपा हुर्कंदै थियो । आकार सानो भए पनि नेकपाले राणाविरोधी आन्दोलनलाई समर्थन गरेको थियो ।

बीपी र पुष्पलाल एकै समय, एउटै बगैँचामा फुलेका दुईथरी फूलजस्ता रहे । उनीहरुको चिन्तन प्रणाली, कार्यशैली र राजनीतिक कार्यदिशाबीच व्यापक भिन्नता थियो । बीपी साम्यवादी एकदलीयतालाई ‘प्रजातन्त्र’ मान्दैनथे तर उनी ‘संवैधानिक राजतन्त्र’ पक्षधर थिए । पुष्पलाल सिद्धान्तमा सर्वहारा राज्य र नयाँ जनवादको पक्षपोषण गर्ने उनी कार्यदिशामा भने बहुदलीय लोकतन्त्रको पक्षधर थिए

किशोर वयमा बीपी कम्युनिष्ट विचारबाट प्रभावित थिए । जब उनी महात्मा गान्धी, जवाहरलाल नेहरु, डा. राममनोहर लोहिया, जयप्रकाश नारायणजस्ता उदार लोकतान्त्रिक तथा प्रजातान्त्रिक समाजवादी नेताहरुको संगत र विचारको संसर्गमा पुगे, उनीभित्रको कम्युनिष्ट भ्रुण बिस्तारै विलुप्त हुनथाल्यो । बीपीले आफ्नो राजनीति सिद्धान्तलाई प्रजातान्त्रिक समाजवादको रुपमा सैद्धान्तिकरण गर्न थाले ।

पुष्पलाल भने मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराबाट प्रशिक्षित र प्रभावित थिए । उनले मार्क्सको कम्युनिष्ट घोषणापत्र र माओको नयाँ जनवादबारे पुस्तिका नेपालीमा अनुवाद गर्न थाले । उनले नेपाली क्रान्तिको मौलिक विचार ‘नयाँ जनवाद’का रुपमा संश्लेषण गरे ।

एकै बगैँचाका दुईथरी फूल

बीपी र पुष्पलाल एकै समय, एउटै बगैँचामा फुलेका दुईथरी फूलजस्ता रहे । उनीहरुको चिन्तन प्रणाली, कार्यशैली र राजनीतिक कार्यदिशाबीच व्यापक भिन्नता थियो । बीपी साम्यवादी एकदलीयतालाई ‘प्रजातन्त्र’ मान्दैनथे तर उनी ‘संवैधानिक राजतन्त्र’ पक्षधर थिए । यसलाई बीपीको राजनीतिक चिन्तनको सबैभन्दा ठूलो विरोधाभाष मान्न सकिन्छ ।

पुष्पलालको राजनीतिक चिन्तनमा पनि यस्ता विरोधाभाष रहे । सिद्धान्तमा सर्वहारा राज्य र नयाँ जनवादको पक्षपोषण गर्ने उनी कार्यदिशामा भने बहुदलीय लोकतन्त्रको पक्षधर थिए । यसवापत् कट्टरपन्थी कम्युनिष्ट समूहले उनलाई ‘गद्दार’ र ‘कांग्रेसको पुच्छर’ संज्ञा दिए ।

विचारले कोरेको उनीहरू हिंड्ने बाटो फरक रह्यो । तर, दुवैको जीवन असीमित संघर्ष र निष्ठामय बन्यो । २००७ सालको क्रान्तिपछि बीपी केही समयलाई गृहमन्त्री भए । २०१५ सालको पहिलो आमनिर्वाचनमा उनको पार्टीले दुईतिहाई बहुमत ल्यायो । उनी १८ महिनासम्म नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

२०१७ साल पुष १ गते राजा महेन्द्रले सैनिक कूको शिकार बनाइए । दुई तिहाई बहुमतसहितको जननिर्वाचित प्रधानमन्त्रीलाई सत्ताच्यूत गरेर राजा महेन्द्रले ८ वर्ष सुन्दरी जलमा थुने । बीपीका लागि सत्ता झल्याकझुलुक झुल्किने घामजस्तो मात्र भयो । उनको बाँकी सम्पूर्ण जीवन विपक्षी राजनीतिका दुःख, कष्ट र संघर्षको भुक्तभोगी भएर बाँचे ।

त्यसो त, पुष्पलाल पनि २०१५ सालको आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बनेका थिए । उनी नेपाली कांग्रेसमा अर्का हस्ती गणेशमान सिंहसँग पराजित भएका थिए । पुष्पलाल जीवनभर कहिल्यै कुनै राजकीय पदमा रहेनन् ।

बीपीको जीवन राजनीतिको रुख्खासुख्खा खेलभन्दा बाहिर साहित्यको बगैँचामा पनि त्यत्तिकै फुल्यो, त्यत्तिकै खुल्यो । उनी ठूला साहित्यकार समेत थिए । उनका एक दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित छन् । ती कृति साहित्यिक तथा मानवीय मूल्यको दृष्टिकोणले सबै बेजोड छन् ।

अध्ययन र लेखनमा असाध्यै रुचि राख्ने पुष्पलाल साहित्यभन्दा अलि टाढा राजनीति तथा इतिहासका विषयमा बढी केन्द्रित भए । उनले साहित्यमा खासै कमल चलाएनन् । यद्यपि, राजनीतिक साहित्यमा भने उनको बेजोड योगदान रह्यो । राजनीतिक निबन्ध ‘पुष्पलालका छानिएका रचनाहरू’ विभिन्न भागमा प्रकाशित छन् ।

ती महामनिषी, यी उत्तराधिकारी

बीपी र पुष्पलाल दुवैको सादगीपूर्ण जीवन बाँचे । दुवैले चरम आर्थिक अभावका बीच पनि आफ्नो आदर्शको दियो निभ्न दिएनन् । राणा, राजा र पञ्चहरूको निशानामा उनीहरू परिरहे । आफ्नो आदर्शको लक्ष्य भेट्टाउन उनीहरूले जीवनभर कष्टका पहाडहरू चढिरहे ।

आज बीपी र पुष्पलालले स्थापना गरेका पार्टी देशका दुई मुख्य राजनीतिक दल बनेका छन् । दुई पार्टीबीच सहकार्य र संघर्षको लामो श्रृंखला छ । भर्खरै पुष्पलालको ‘नेकपा’ सत्ताच्यूत भएर प्रमुख प्रतिपक्ष बनेको छ भने बीपीको कांग्रेस सत्तामा उक्लिएको छ ।

तर दुई नेताका आदर्श र सपनालाई उनका उत्तराधिकारहरुले न्याय गर्न सके कि सकेनन् भन्ने प्रश्न उत्तिकै ज्वलन्त छ । आज पनि देशमा राजनीतिक स्थिरता छैन । आर्थिकरुपमा कमजोर र गरिब छ । राष्ट्रियता र जनजीविकाका सवाल हल हुन सकेको छैन । बीपीले २०१६ सालमा प्रधानमन्त्रीको रुपमा देखेको आदर्श सपना अझै पूरा हुन सकेका छैनन् ।

यी दुई पार्टी मिलेरै २०४६ सालमा ३० वर्षे राजतन्त्रात्मक पञ्चायती शासनको अन्त्य गरेका थिए । तर, त्यस यता अर्को ३० वर्ष बितेको छ । यो पछिल्लो ३० वर्षमा यिनै कांग्रेस र कम्युनिष्टले देशमा आलोपालो शासन गरे । तर देशले अपेक्षित प्रगति गर्न सकेन ।

बाँचेको पुस्ताले बीपी र पुष्पलालबाट सिक्नैपर्छ- उपल्ला राजनेता वा राजनीतिज्ञहरुको वास्तविक मूल्यांकन इतिहासले गर्दछ । बीपी, पुष्पलाल, गणेशमान, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरूबारे जनताले गर्ने सम्मानले त्यो छर्लङ्ग हुन्छ ।

अनेक ताल, तिकडम र षडयन्त्र गरेर प्रधानमन्त्री हुनु र दुईचार दिन कार्यकाल लम्ब्याउनु राजनीतिक सफलता होइन । नेपालमा अहिलेसम्म धेरै प्रधानमन्त्री भइसके । कोको प्रधानमन्त्री भए भन्ने हिसाब गर्न गाह्रो छ । तर एक पटक मात्र प्रधानमन्त्री भएका बीपी तथा एकपटक पनि प्रधानमन्त्री नभएका पुष्षलाल, गणेशमान सिंहहरूसँग तुलना हुन सक्दैन ।

सम्बन्धित दलको कामले उनीहरूप्रतिको मोह कम भएपनि बीपी र पुष्पलालको ऐतिहासिक भूमिका र योगदानप्रति नेपाली समाज कृतज्ञ छ । नयाँ पुस्ताले सम्झिरहेछ । उनीहरुको सपना, आदर्श र नैतिक जीवनमूल्यलाई पछ्याउने प्रयत्न अद्यापि जारी छ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?