Comments Add Comment

विराटनगरमा अघोषित लोडसेडिङ

७ साउन, विराटनगर । गत असार १५ गतेयता विराटनगर क्षेत्रमा अनियमित विद्युत कटौती हुँदै आएपछि सर्वसाधारण र व्यावसायी हैरान भएका छन् । असार १५ यता कहिले दिनभरी र कहिले रातभरी विद्युत कटौती भएको उपभोक्ताहरु बताउँछन् ।

अनियमित रुपमा विद्युत कटौती हुँदा व्यावसायमा घाटा भोग्नु परेको नर्सिङहोम चोकमा दूधको व्यवसाय गर्दै आएका युवराज गौतमले बताए । असार १५ यता अनियमित विद्युत कटौती हुँदा २५ हजारभन्दा बढीको दूध खेर गएको उनको गुनासो छ । विद्युत कटौती भए आउने टुङ्गो नहुने उनले बताए ।

कोरोना महामारीका कारण प्रभावित व्यावसायलाई अघोषित लोडसेडिङले संकटमा धकेलिदिएको उनले बताए । ‘विद्युत आपूर्ति नियमित नहुँदा पसलको दूध र आइसक्रिम खेर गयो,’ उनले भने ।

‘विद्युत कटौती गरेपछि फोन गर्दा विभिन्न कारण देखाउँछन्,’ उनले अघि भने, ‘प्राधिकरणका कर्मचारीहरु जिम्मेवार छैनन् ।’ कर्मचारीले राज्यस्रोतको आम्दानी घटाउन खोजेको उनले बताए । ‘विद्युत आपूर्ति नियमित हुँदा राज्यको राजस्व बढ्छ, व्यापार व्यावसाय पनि चल्छ,’ उनले भने, ‘कर्मचारीले बदमासी गरिरहेका छन् ।’

अनियमित रुपमा विद्युत कटौती हुँदा पढ्न नपाइएको विराटनगर महानगरपालिका ११ का उद्धव सापकोटा बताउँछन् । साउन २० गतेबाट परीक्षा भएपनि अनियमित विद्युत कटौती हुँदा तयारी गर्न समस्या भएको उनले बताए । ‘जतिबेलै बिजुली जान्छ, ५-६ दिनयता बेलुका पढ्न पाएको छैन,’ उनले भने, ‘अघोषित लोडसेडिङले राति सुत्न पनि पाइँदैन ।’

मिलेमतोको आशंका

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा अनियमित विद्युत कटौती हुँदा उद्योगी व्यावसायीले दुःख पाइरहेको बताए ।

तालिकाबिना कटौती हुँदा उद्योगको उत्पादन लागत बढ्ने र कच्चा पदार्थ बिग्रने जोखिम बढेको उनले बताए । मर्मतका नाममा अनियमित विद्युत कटौतीको समस्या समाधान गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

‘विराटनगरमा मात्रै होइन प्रदेश १ भरि यस्तै समस्या छ,’ उनले भने, ‘अनियमित कटौती हुँदा मिलेमतो छ कि जस्तो लाग्छ ।’

दूधको व्यवसाय गर्दै आएका गौतम पनि लोडसेडिङ हुनुमा मिलेमतोको आशंका गर्छन् । ब्याट्री र इन्भर्टरको ब्यापार बढाउन अघोषित लोडसेडिङ गरिएको उनको आशंका छ ।

कार्यालय प्रमुख भन्छन्- चट्याङ परिरहेको छ

विराटनगर महानगरपालिकासहित ४ वटा गाउँपालिकाहरुमा विराटनगर वितरण केन्द्रले विद्युत आपूर्ति गर्छ । विराटनगर वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवार वषर्ासँगै चट्याङ पर्दा आपूर्ति रोकिने गरेको बताउँछन् ।

‘८-१० दिन टंकीशिनवारीको शवस्टेशन मर्मत गर्दा विद्युत कटौती भयो,’ उनले भने, ‘त्यसपछि चट्याङका कारण डिस्टर्भ भयो ।’ वितरण प्रणालीमा भएका उपकरणमा चट्याङ् पर्दा समस्या हुने गरेको उनको भनाइ छ ।

चट्याङ नपरे विद्युत कटौती नहुने बताउँदै उनले विद्युत आपूर्ति नियमित गर्ने प्रयास भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment