+
+

यसरी जातको फेरो समातेर कहाँ पुगिएला ?

राजेश विद्रोही राजेश विद्रोही
२०७८ साउन ७ गते १२:४०

केही दिनअगाडि दुईवटा घटना घट्यो । गैरदलित केटीले दलित केटासँग भागी विवाह गरिन् । उनीहरूबीच लामो प्रेम सम्बन्ध थियो । आफ्नो प्रेम सम्बन्धलाई उनीहरूले भागेर पूर्णता दिए । केही दिनपछि ती युगल जोडी गाउँ फर्किए । गाउँमा जातीय पञ्चायत बस्यो ।

केटाहरूले यस्तै गर्दै जाने हो भने आफ्नो जातको छोरीचेलीसँग कसले विवाह गर्ने ? भनेर थुप्रै कुराहरू उठाए । तर, अन्त्यमा केटाको जातमा दराउन केही नगद जरिवानासहित समाजलाई एक छाक भोज खुवाउने सहमति बन्यो । कुरा सकियो ।

दोस्रो घटना पनि उस्तै छ । दलित केटी गैरदलित केटासँग भागेर विवाह गरिन् । उनीहरूबीच स्कूलदेखि नै प्रेम सम्बन्ध थियो । उनीहरूले पनि आफ्नो प्रेम सम्बन्धलाई भागेर पूर्णता दिए । तर, त्यो जोडी जब आफ्नो घर फर्कियो, परिवारले जातकै कारण उनीहरूको वैवाहिक सम्बन्धलाई स्वीकारेन ।

केटापक्षले केटीलाई दबाबमा पारे । केटीलाई कुनै न कुनै रुपमा गाउँबाट लखेटिछाडे । लकडाउनको समयमा पीडित युवतीलाई सहयोग गर्ने कोही भएन । उनी न्यायको लागि मान्छेहरूले दिएको सल्लाहअनुसार सबैतिर धाइन् । कतै केही सीप चलेन । अन्त्यमा केही समाजसेवीको सहयोगमा नजिकै रहेको प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गरिन् । तर, उनले अहिलेसम्म न्याय पाएकी छैनन् ।

अचेल समाजमा जातक‌ै कारण दिनप्रतिदिन यस्ता थुप्रै घटना घटिरहेका छन् । र, जातकै कारण कैयौं युवायुवतीको प्रेमसम्बन्ध असफल भइरहेको छ । सम्बन्धहरू जबर्जस्त विछोडमा बदलिइरहेका छन् । कि त उनीहरूको सम्बन्ध हिंसामा बदलिरहेको छ । थोरै मात्रामा मात्र सफल भइरहेका छन् । अधिकांश सफलता सम्बन्धित परिवारको आर्थिक हैसियतमा भर परिरहेको छ ।

आखिर २१औं शताब्दीको लोकतान्त्रिक युगमा पनि यो हदसम्मको घटना समाजमा किन घटिरहेका छन् ? दलित वा गैरदलित युवा-युवतीको प्रेम सम्बन्धसँग यतिसम्मको खेलबाड किन हुन्छ ?

एउटा गैरदलित छोरी दलित छोरासँग अन्तरजातीय प्रेमविवाह गर्दा उसको समाजले स्वीकार्छ । तर, त्यही कथित दलितको छोरी गैरदलित केटासँग प्रेमविवाह गर्दा उनीहरूको समाजले स्वीकार्दैन । अझै पनि अछूतकै नजरले हेर्छन् । केही मानिसले पशुभन्दा पनि तल्लो दर्जाको व्यवहार भोग्नुपरिरहेछ केही मानिसबाटै । यसले हाम्रो समाजको स्तरलाई प्रतिनिधित्व गरिरहेको छ ।

मुलुक छुवाछूत मुक्त राष्ट्रको रुपमा घोषणा भएको दशक बढी भइसकेको छ । तर, समाजमा यसको कुनै प्रत्याभूति छैन । कार्यान्वयनको पक्ष निकै कमजोर छ । सबैपक्ष मूकदर्शक मात्र छन् । यसको विरुद्धमा लाग्यो भने आफैं फसिन्छ कि त आफ्नो भाग नै खोसिन्छ कि भनेर मौनता साध्नेहरूकै बाहुल्य छ । कमजोर वर्ग यसको जाँतोमा पिल्सिएका छन् । कसैलाई कुनै मतलब छैन । ठूला भाषणमा मात्र रमाएका छन् ।

दलितहरू भोट बैंकको रुपमा प्रयोग भइरहेका छन् । जसलाई परेको छ, उसलाई पो समस्या थाहा हुन्छ । अचानोको पीर खुकुरीलाई के थाहा ! दिनदहाडै उत्पीडन र अपमानका हजारौं प्रहारहरू खप्नु परिरहेको छ । राम्रोसँग घरव्यवहार चलेको परिवारमा पनि जातीय तनाव छ । सम्पन्न परिवारलाई पनि जातीय विभेदले विपन्नतातिर धकेलिरहेको छ । जात व्यवस्थाले मानिसको मनोविज्ञानमा यति धेरै असर गरेको छ कि यसको वर्णन गरिसाध्य छैन ।

अन्तरजातीय विवाहलाई सामाजिक रुपान्तरणको महत्वपूर्ण हतियार बनाउन आवश्यक छ । यसलाई बाधक होइन, रुपान्तरणको साधकको रुपमा पुष्टि गर्न जरूरी छ । तब मात्र हामीले हाम्रै जीवनकालमा विभेदरहित मानव समाज निर्माण गर्न सक्छौं ।

मुलुकमा लोकतन्त्र आइसक्दा पनि जातीय विभेद अप्रत्यक्ष रुपमा समाजमा झाँगिइरहेको छ । निरन्तर रुपमा समाज चलाउँदै आएको विभेदकारी वर्ग आफ्नो तर्कलाई यसरी प्रस्तुत गरिरहेको हुन्छ कि कमजोर वर्गसँग यसको जवाफ नै हुँदैन । चुप लागेर बस्नुपर्छ । कि त उसकै कुरामा सहमति जनाएर उल्टै माफी माग्नुपर्ने हुन्छ । उसकै कुरा जायज लाग्न थाल्छ । प्रतिरोध गर्ने कुरा त टाढाको विषय हो ।

संस्कार बनिसकेको विभेद र उत्पीडनको लामो इतिहास छ । चारहजार वर्षको उत्पीडनलाई हामीले यति छिटो अन्त्य चाहेका छौं कि जुन कुरा सम्भव नै देखिंदैन । यसको अन्त्यका लागि ठूला ठूला कुरा गर्नुभन्दा सानासाना व्यवहार बदल्नुपर्छ । अहिले पनि आफूलाई उच्च वर्ग र जात भनिनेहरूले कुनै न कुनै हिसाबले दलित समुदायलाई अझै दबाएर राख्न चाहन्छन् ।

साधनको रुपमा प्रयोग गरिराख्न चाहन्छन् । यो समाज परिवर्तनको गम्भीर समस्या हो । यसको मारमा सबैभन्दा धेरै दलित समुदाय र महिला परिरहेका छन् । महिलामा पनि दलित महिला धेरै पीडित र प्रताडित छन् ।

जात कसले निर्माण गर्‍यो ? किन निर्माण गर्‍यो ? यसको अन्त्यको लागि के गर्नुपर्छ ? यसको खोजी र उन्मूलन राज्यसत्ताको प्रमुख काम हुनुपर्छ । तर त्यस्तो भइरहेको छैन । यहाँ त अगुवाहरू नै बरु त्यही जातको फेरो समातेर आफ्नो लामो विभेद र उत्पीडनको गीत गाएर आफ्नो मुक्ति र अधिकार मिल्ने कुराको दाबी गरिरहेका छन् । चाहे त्यो दलित होस् वा गैरदलित ।

यतिबेला सबैले आफ्नो अनुकूलताका तर्क अगाडि सारिएका छन् । समाजमा यति धेरै बाहुन जात विरोधी प्रभाव छरिएको छ कि यो सबै विभेदको जरो बाहुनहरू नै हुन् भनेर ठूलो भ्रम छ । जबकि त्यो सत्य होइन । शुरुमा पेशाको आधारमा मान्छे र मान्छेको जात निर्धारण गरियो । उतिबेला शासकहरूले अर्कै हिसाबले गरेका थिए । तर जब यसले निरन्तरता पायो यसबीचमा धेरै खेलामेला भएर पूरै दुर्गन्धित भयो ।

आखिर जतिसुकै तर्क गरे पनि बाहुनभित्र पनि खानै नपाउने कमजोर वर्ग छन् । पुरातन समाजमा बाहुनलाई समाजको ज्ञान दिने जातिको रुपमा लिइन्थ्यो । किनभने उनीहरूसँग शिक्षाको चेत थियो । तर पछि आएर बाहुनभित्रका गैरबाहुन चरित्रले बाहुनलाई नै बदनाम गरे । जसको परिणाम अहिले समाज बाहुनवादी विरोधी हुनुपर्नेमा बाहुन जात विरोधी देखिन थालिएको छ । यसमा पनि बदलाको जरुरी छ । सत्यको खोजी गर्न जरुरी छ ।

जात जुनसुकै भए पनि एउटा युवामा देखिने वर्गप्रेम समाजमा छैन । हरेक परिवर्तनको वाहक युवा शक्ति नै हुन् । तर, जब युवा वर्गमा परिवर्तनको जिम्मेवारी आउँछ, त्यसपछि हाम्रो राजनीतिले त्यसलाई किनारीकृत गरिदिन्छ । युवाको स्वच्छ र परिवर्तनशील चाहनालाई पुरानो समाजको बिल्ला भिराएर बन्दी बनाउने काम गरिन्छन् । युवा शक्तिको मानवरुपी चाहनालाई समाजले प्रतिपक्षी आवाजको रुपमा ग्रहण गर्छ र उनीहरूलाई मृत्युको मुखमा पुर्‍याउनेसम्मको वातावरण सिर्जना हुन्छ । अनि समाज परिवर्तनको ठूला कुरा हामी यही मुखले गर्छौं ।

मान्छेको जीवनमा जन्म, विवाह र मृत्यु अनिवार्य शर्त हुन् । तर, समाज र कानूनले समेत यसमा विना चेतना फरक ढंगले अंकुश लगाएको छ । खाडलहरू खनिदिएको छ । जुन मानवअधिकार विरोधी कार्य हो । यसले मानवअधिकारको रक्षा गर्न सक्दैन ।

एउटा युवाले एउटी युवतीसँग र एउटी युवतीले एउटा युवासँग प्रेम गर्नु र मन पराउनु र यसलाई उनीहरूले आफ्नो जीवनको अन्त्यसम्मको हतियार बनाउनु समाज परिवर्तनको ठूलो आधार हो । तर हामीले यसलाई पुरस्कृत गर्नुभन्दा पुरातन चेतको हिसाबले अझै पनि दण्डित गरिरहेका छौं ।

यहाँ त परिवर्तनमुखी कदमलाई नै सामाजिक विकृति र विसंगतिको रुपमा लिइन्छ । परिवर्तन विरोधी र विकृतिपूर्ण कार्य र संस्कारलाई नै कतिपयले त धर्मको पहिरन लगाइदिएका छन् । यो सबैभन्दा ठूलो भ्रम हो । हामी विज्ञानको हरेक कुरालाई मान्न तयार छौं । जीवनमा उपयोग गर्छौं । तर, त्यही ज्ञान विज्ञान हाम्रो जीवनमा प्रवेश गर्छन् भने हामी त्यसलाई निषेध गर्छौं ।

यसर्थ हामीले प्रेम तथा हरेक अन्तरजातीय विवाहलाई पुरस्कृत गर्न जरुरी छ । यदि हामी समाजको परिवर्तन र सामाजिक विभेदको अन्त्य चाहन्छौं भने यसो गर्नैपर्छ । आजैदेखि यस्ता जोडीहरूलाई पुरस्कृत गर्ने नयाँ संस्कार र अभ्यासको थालनी गर्नुपर्छ ।

अन्तरजातीय विवाहलाई सामाजिक रुपान्तरणको महत्वपूर्ण हतियार बनाउन आवश्यक छ । यसलाई बाधक होइन, रुपान्तरणको साधकको रुपमा पुष्टि गर्न जरूरी छ । तब मात्र हामीले हाम्रै जीवनकालमा विभेदरहित मानव समाज निर्माण गर्न सक्छौं ।

लेखकको बारेमा
राजेश विद्रोही

राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?