+
+

कोरोना महामारीमा विष सेवन गर्ने बढे

रासस रासस
२०७८ साउन ७ गते १८:४४

७ साउन, काभ्रेपलाञ्चोक । डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे। गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मादक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले मानिनन् ।

माइलीको इन्कारी पछि बारपाकले बारीको झार मार्नका लागि तयार पारेर राखेको विषादी खान्छु भन्दै कचौरामा खन्याए । उनकी श्रीमती र छोरीले सो विषादी खोसेर फ्याँकिदिए र उनीहरू आफ्नो काममा लागे तर बारपाकले पुनः विषादी ल्याई पानी पिएझैँ पिए ।

माइली भन्छिन्, ‘हामीलाई त लागेकै थिएन उहाँले साँच्चै पिउनुहोला भनेर । त्यही भएर उहाँको कुरालाई गम्भीररूपमा लिएनौँ तर उनले पिएपछि हाम्रो त होसै उड्यो’, उनी गुनासो गर्छिन्, ‘निषेधाज्ञाको समय भएकाले तत्काल अस्पताल लान नसक्दा उहाँको अवस्था सख्त भइसकेको थियो ।’

उपचारमा ढिलाइ भएका कारण सबै आन्द्रा टाँसिएका थिए । चिकित्सकको १५दिनसम्मको अथक प्रयासका कारण बारपाक बाँच्न त सफल भए तर उनको शरीर पहिलेजस्तो सामान्य नहुने चिकित्सकको भनाइ छ ।

बारपाककी श्रीमती माइलीलाई अब एउटै चिन्ता छ, ‘तीन छोराछोरीको भविष्य अब कस्तो होला र घर खर्च कसरी चलाउने ?’ बारपाकको उपचारका कारण ऋणको बोझ पनि थपिएको उनको गुनासो थियो।

उनीजस्तै जिल्लाका विभिन्न अस्पतालमा विष सेवनपछि अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ । बनेपाको शिर मेमोरियल अस्पतालमा विष सेवनका कारण १० दिनदेखि उपचाररत ४६ वर्षीय रामकृष्ण भुजेलका परिवारको गुनासो पनि उस्तै छ । दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका भुजेल निषेधाज्ञाका कारण रोजगारी नपाएपछि मानसिकरूपमा विक्षिप्त भए ।

आम्दानीको स्रोत नभएका कारण निरास हुनुभएका श्रीमान्ले विष सेवन गरेको अम्बिकाले बताइन् । भुजेलले विष सेवन गरेपछि आफ्नो आर्थिक स्थिति झनै नाजुक बनेको उनको भनाइ थियो ।

दोस्रो लहरको कारोना सङ्क्रमण बढेकाले निषेधाज्ञापछि विष सेवनका बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञापूर्व विष सेवनका वार्षिक पाँचदेखि १० बिरामी भर्ना हुने गरेकामा हाल मासिक १५ बिरामी भर्ना भएका छन् । हालै अस्पतालमा विष सेवनपछि उपचाररत तीन बिरामीको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।

‘प्रायः कमजोर मानसिक अवस्था भएका व्यक्तिले नै विष सेवन गर्ने गरेका पाएका छौँ ‘, उनले भने । मानसिक समस्यालाई अन्य रोगजस्तै जटिलरूपमा नलिएसम्म त्यस्ता घटना नियन्त्रण हुन नसक्ने उनको भनाइ थियो ।

भित्रभित्रै बेखुसी हुने, खान मन नलाग्ने, धेरै सोच्ने, रुन मन लाग्नेलगायत मानसिक समस्या देखिएमा तत्काल मनोपरामर्शदातासँग सल्लाह लिन प्रमुख बस्नेतले सुझाव दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?